काठमाडौँ – लामो रस्साकस्सीका बीच अन्ततः प्रधानमन्त्री ओलीको विकल्पमा बहुमतीय सरकार बनाउने सम्भावना अन्त्य भएको छ । सरकार गठनका लागि आवश्यक संख्या नपुग्ने भएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले सरकार गठनमा दाबी नगर्ने निर्णय गरेसँगै उक्त सम्भावना सकिएको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्माओलीले प्रतिनिधिसभामा विश्वासको मत गुमाएपछि राष्छ्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि दलहरुलाई तीन दिनको समय दिएकी थिइन् । उक्त समय आज सकिँदैछ । यसअघि आजै कांग्रेस सभापति देउवाले जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेट गरेका थिए भने त्यस लगत्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका थिए ।


ADVERTISEMENT

# # #


ओलीको विश्वासको मतमा तटस्थ बसेको महन्थ–राजेन्द्र समूहले सरकार गठनका लागि देउवालाई सहयोग गर्न नसकिने बताएका थिए । आजै प्रधानमन्त्री ओलीले सामूहिक राजीनामा दिने चेतावनी दिइरहेको एमाले असन्तुष्ट माधव नेपाल समूहसँग छलफल गरेका थिए । ओली र नेपालबीचको भेटपछि माधव पक्षका सांसदको सामूहिक राजीनामाको सम्भावना पनि टरेको थियो ।

यससँगै बहुमतको सरकार गठनको सम्भावना सकिएको हो । अब फेरि पनि केपी ओली नै प्रधानमन्त्री हुने भएका छन् । उनी संविधानको धारा ७६ को उपधारा ३ बमोजिम संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले प्रधानमन्त्रीमा पुनः नियुक्त हुनेछन् । उनले नियुक्त भएको ३० दिनभित्र प्रतिनिसभामा विश्वासको मत लिनुपर्नेछ ।