काठमाडौँ– नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचन र संविधान संशोधन प्रस्तावलाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिएको छ ।


ADVERTISEMENT


काँग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीको आज सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकले संविधान संशोधनमार्फत निर्वाचनमा सबैले सहभागी हुने वातावरण बनाउनुपर्ने निष्कर्ष निकालेको हो ।


ADVERTISEMENT

# # #


बैठकले तराई–मधेसबाट पार्टीको प्रतिनिधित्व गर्ने सांसदसँग संविधान संशोधनलगायत समसामयिक राजनीतिक घटनाका सम्बन्धमा विश्लेषण गरी उक्त निष्कर्ष निकालेको पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए।

बैठकले यही चैत १० गते पार्टीको केन्द्रीय समितिको बैठक गर्ने निर्णयसमेत गरेको छ । बैठकमा संशोधन प्रस्तावलाई तार्किक निष्कर्षमा पुर्याएर राजनीतिक समस्या समाधान गर्न पार्टीले नेतृत्व लिने विषयमा छलफल भएको नेता फरमुल्ला मन्सुरले बताए ।

“निर्वाचनमा सबै दलले भाग लिने र सबै नेपालीलाई भयमुक्त मतदान गर्न पाउने वातावरण बनाउन दलले अग्रसरता लिने निष्कर्षसमेत निकालेको छ”, उनले जानकारी दिए । संशोधनमा बहुमत पुग्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासमा नेता मन्सुरले तराई–मधेसका बहुमत जनताको अधिकारका लागि संशोधन ल्याइएकाले संशोधनमा दुई तिहाइभन्दा बढी मत पुग्ने विश्वास व्यक्त गरे ।