काठमाडौँ– स्थानीय तहको निर्वाचनका लागि चाहिने जनशक्ति उत्पादन गर्न निर्वाचन आयोगले ‘दुई दिने मतदाता शिक्षा मुख्य प्रशिक्षक प्रशिक्षण’ दिएको छ ।


ADVERTISEMENT


आयोगमा पहिले काम गरेका कर्मचारी तथा सङ्घीय मामिला तथा स्थानीय मन्त्रालयका उपसचिव तथा शाखा अधिकृतस्तरिय ३२ कर्मचारीलाई सो प्रशिक्षण दिएको हो ।प्रशिक्षण पाएका कर्मचारीले काठमाडौँ, विराटनगर, सिन्धुली, पोखरा, भैरहवा, दाङ, नेपालगन्ज र धनगढी गरी ८ क्षेत्रका १२ समूहलाई मतदाता शिक्षा सम्बन्धी तालिम दिने आयोगले जनाएको छ ।


ADVERTISEMENT

# # #


सो क्षेत्रीय तालिममा प्रत्येक जिल्लाका चारदेखि आठजनालाई तालिम दिने र उक्त तालिम पाएका जिल्लाका प्रशिक्षकले गाउँपालिकाका सचिव, मतदान केन्द्रमा खटिने मतदाता शिक्षा स्वयम्सेवकलाई तालिम दिनेछन् ।

तालिम शुभारम्भ गर्दै प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले मतदाताले दिएको मत बदर नहोस् भन्ने उद्देश्यका साथ मतदाता शिक्षा दिएको जानकारी दिए ।उनले मतदान प्रक्रियामा जतिसक्दो धेरै मतदातालाई समेट्नेगरी शिक्षा दिन लागेको बताए ।

प्रशिक्षणमा स्थानीय तालिम सम्बन्धी कानुनी व्यवस्था, निर्वाचन कार्यक्रम, जिल्लास्तरीय अनुगमन व्यवस्थापन, उम्मेद्वार मनोनयन प्रक्रिया, स्थानीय तहमा मनोनयन प्रक्रिया, विवाद निरुपण, नमुना मतदान तरिका, अभ्यास र मतगणनालगायतका विषयमा सिकाइने आयोगले जनाएको छ । रासस