धनगढी– कैलालीको घोडाघोडी नगरपालिका –८ मा एक बिगाहामा तरकारी खेती गरेका रामलाल चौधरी अचेल बारीमा फलेका तरकारी बिक्री नभएपछि तनावमा छन् ।


ADVERTISEMENT


तरकारीले ठिक्क बजार पाउने बेला कोरोना सङक्रमण रोक्न प्रशासनले निषेधाज्ञा जारी गरेपछि तरकारी खपत हुने व्यवसाय बन्द हुँदा तरकारी बारीमै सडिरहेका छन् । करेला, तनेबोडी, लौका, फर्सी, काँक्रा, गोलभेडा लगाएका रामलालले सुखड, बौनिया, बलियालगायतका बजारमा आफ्ना उत्पादन बेच्दै आएता पनि निषेधाज्ञाले चौपट भएको उनको गुनासो छ ।


ADVERTISEMENT

# # #


अहिले बजार बन्द भएको र वरपरका मानिसहरू तरकारी लिन आएपनि त्यो बिक्रीले व्यवसायमा केही फरक नपर्ने उनको भनाई छ । निषेधाज्ञाले व्यापार नहुँदा मेहेनत गरेर उब्जाएका तरकारी बारीमै सड्दा रुन मन लाग्ने चौधरी बताउँछन् । यस्तै अर्का किसान रामलाल सामान्य अवस्थामा एक सिजनमा तरकारी बेचेर पाँच लाख रुपैयाँसम्म बचत हुने गरेको सुनाउँदै भन्छन्, ‘तर, के गर्नु दुःख गर्‍योगर्‍यो, बेच्ने समयमा ठ्याक्कै बन्द हुन्छ, गत वर्ष पनि यही समयमा लकडाउनले तरकारी सबै खेर गयो ।’

रामलाल जस्तै सोही ठाउँका अर्का कृषक श्यामलाल चौधरी पनि तरकारी बिक्री गर्ने सिजनको समयमा निषेधाज्ञा भएपछि चिन्तामा छन् । श्यामलालले एक बिगाहामा उत्पादित तरकारी बिक्री गर्न समेत पाएका छैनन् । उत्पादित तरकारीले बजार नपाउँदा बैकको ब्याज तिर्न समस्या हुनुका साथै उत्पादित तरकारी बारीमै सड्दा निकै पिर लाग्ने गरेको श्यामलालको भनाइ छ । रासस