दाङ– लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री भोजप्रसाद श्रेष्ठले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज निरीक्षण गरेका छन् । उनले कोभिडको महामारीमा उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई निर्देशन समेत दिएका छन् ।


ADVERTISEMENT


उनले आइसियुसहितको सेवा सञ्चालनमा आएमा प्रतिष्ठान सबै हिसाबले बलियो हुने र उपचारका लागि दाङसहित राप्तीवासी बुटवल जानुपर्ने बाध्यताको अन्त्य हुने भएकाले अस्पतालको सबै हिसाबले विकास गर्नुपर्ने बताएका छन् । उनले अब आउने बजेट कोभिड नियन्त्रण केन्द्रित हुने र प्रदेश सरकारले प्रतिष्ठानको बजेटका लागि सहयोग गर्ने जनाए ।


ADVERTISEMENT

# # #


मन्त्री श्रेष्ठले कोभिडको महामारीमा प्रतिष्ठानले कोभिड र अन्य बिरामीको उपचार गरेकामा प्रतिष्ठानका उपकुलपति प्राडा सङ्गीता भण्डारीलाई धन्यवादसमेत दिए । उनले आइसियु, इमरजेन्सी, कोभिड आइसोलेशन कक्षलगायतको निरीक्षण गर्दै १० शय्याको भेन्टिलेटरसहितको आइसियु तत्काल सञ्चालन गर्न आग्रह गरे ।

त्यस अवसरमा प्रतिष्ठानका उपकुलपति प्राध्यापक डा. भण्डारीले कोभिडको महामारीमा गरिरहेको काम र प्रगतिबारे जानकारी गराए । उनले अक्सिजन प्लान्ट जोड्ने काम तीव्र गतिका साथ भइरहेको र अक्सिजन प्लान्ट जडान भई सञ्चालनमा आएपछि आइसियुका बिरामीले पाइपलाइनबाट अक्सिजन पाउने बताएका छन् । प्रदेश स्वास्थ्य सचिव डा. विकास देवकोटाले बजेटको कुनै चिन्ता नलिन आग्रह गर्दै जतिसक्दो चाँडो अस्पतालमा आइसियु सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।

सो अवसरमा प्रतिष्ठानका कामु रेक्टर डा सागर पन्थी, डिन डा वसन्त लामिछाने, घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरी लगायतको सहभागिता रहेको थियो । यसअघि हिजो स्वास्थ्यमन्त्री श्रेष्ठले तुलसीपुर उमहानगरपालिका–८ मा रहेको मेट्रो आइसोलेशन अस्पतालको पनि निरीक्षण गरेको थियो । रासस