चितवनका एक व्यक्तिले आर्थिक अभावका कारण तीन वर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गराउन सकेका छैनन् । भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत उनले मिर्गौला प्रत्यारोपण गर्न नसकेको बताएका छन् । रोगको पहिचान र डाईलाइसिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको बताइएको छ ।


ADVERTISEMENT


भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको दुवै मिर्गौलाले कामगर्न छाडेको तीन वर्ष भइसक्यो । उनले अझै मिर्गौला प्रत्यारोपण गराउन सकेका छैनन ।


ADVERTISEMENT

# # #


“तीन वर्षदेखि मिर्गौलाको डाइलाइसिस गर्दै आएको छु, मनबहादुरले भन्नुभयो, मिर्गौला प्रत्यारोपण गर्न पैसा छैन ।” उनलाई सुगर र प्रेसरको समेत रोग छ ।

पैसा नभएपछि उनले सहयोगको याचना गर्नुभएको छ । शुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गरेका उनले काठमाडौँको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गराए । पछि राष्ट्रिय मिर्गौला उपचार केन्द्र काठमाडौँमा उपचारको क्रममा डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएपछि मनबहादुरलाई पीडा थपियो ।

सरकारले मिर्गौलाको डाइलाइसिस निःशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलाइसिस गर्नलाग्ने औषधि खर्च जोहो गर्न धौधौ भएको उनले बताए । छ जनाको परिवार रहेको उहाँलाई अहिले दैनिक गुजारा चलाउन पनि मुस्किल छ । श्रीमान्को उपचार गर्नको लागि भएको सातधुर जग्गा पनि बिक्री गर्नुपरेको र उपचारको लागि करिब रु ३० लाख लाग्ने गंगामायाले बताईन ।

ऐलानी जमिनमा सानो घरमा बस्दै आएको छ, गुरुङ परिवार । आफूले एउटा मिर्गौला दिन चाहेपनि पैसा नभएर प्रत्यारोपण हुन नसकेको उहाँको दुखेसो छ । मनबहादुर यसअघि भृकुटी कागज कारखाना, गैँडाकोटमा जागिरे थिए । सो कारखाना बन्द भएकाले रोजगारी पनि गुम्यो । उनले पाउनुपर्ने करिब रु पाँच लाख छ । त्यो पैसा आए पनि उपचारमा सहयोग पुग्ने उनको परिवारका सदस्यले बताए । – गोरखापत्र अनलाईनबाट