नानीमैया कटवाल, सप्तरी– हावाहुरी आए भत्किएला झैँ झुप्रो छ । पश्चिममा ६ फिट चौडाइ र ७ फिट लम्बाइ रहेको झ्याल नभएको एउटा कोठा छ । त्यसैमा भान्सा रहेको कोठामा दुई जना सरस्वती नाम गरेकी महिला बस्नु हुन्छ । एउटीको थर दास हो भने अर्कीको चौधरी । दुबैको मुहार हिजोआज मलिन छन् ।


ADVERTISEMENT


सस्तोमा पाइएकाले सप्तरीको राजविराज–४ भलुवाही खोला किनारमा एउटा सानो कोठा डेरा लिएका उनीहरू सँगै दासकी १२ वर्षीया छोरी प्रियंका पनि बस्छिन् । एउटा खाटमा सुत्न ठाउँ नपुगेपछि खाटसँग जोडेर बेञ्च लगाइएको छ । प्रियंका पनि निन्याउरो र चिन्तित मुद्रामा आमाको छेउमा सँगै देखिन्छिन् ।


ADVERTISEMENT

# # #


राजविराज नगरपालिका–६ माइत भएकी सरस्वती दासको १६ वर्षकै उमेरमा सप्तरीको हनुमाननगर बजारका उमेश दाससँग मागी विवाह भयो । विवाह भएर घर गएपछि मात्र उनलाई थाहा भयो कि त्यो घर आफ्नो नभई सासुको माइती रहेछ । केही महिनापछि सासुलाई उनका माइतीले घरबाट निकालेपछि सरस्वतीको परिवार घरवारविहीन भयो । सासुले त उनको अर्को भाइकोमा शरण पाइन् । तर नवविवाहिता उनले भने सहारा पाउन सकिनन् ।

श्रीमान् सन्तोष साहुजीको पसलमा मिठाइ बनाउने काम गर्थे र केही रकम हात लाग्थ्यो । दासका अनुसार, उनी पनि मादकपदार्थ र नशालु पदार्थ सेवनकर्ता भएकाले कमाएको पैसा त्यसैमा सक्थे । ‘‘श्रीमानले त्यतिबेला छाड्नु भयो, जतिबेला सबैभन्दा बढी सहाराको जरुरी थियो’, उनले भनिन् ।

गर्भवती भएका बेलामा श्रीमानले छाडेर बेपत्ता भएको घटनालाई उनी सबैभन्दा कठिन अनि अप्ठ्यारो समयको रूपमा सम्झिन्छिन् । गर्भवती भएका बेला घरपरिवारबाट कुनै पनि सहयोग नपाएपछि उनले माइती घरमा नै गएर छोरीलाई जन्म दिएकी थिइन् । सानै उमेरमा विवाह गरी आमा बनेकी दासले रोजीरोटीका लागि तरकारी बेच्न थालिन् । रोजगारी तथा कमाइखान तरकारी बेच्ने व्यवसाय उपनि उनको लागि सुरक्षित भएन । तरकारी कुहिने र पर्याप्त पुँजी नभएपछि गुजारा चलाउन उनलाई समस्या भयो । पछिल्लो समय भने उनी होटलमा भाँडा माझ्ने काम गर्छिन् ।

तरकारी बिक्री गर्दा दासको चिनजान भवन निर्माणमा मजदूरी गर्दै आएकी सरस्वती चौधरीसँग भयो । एउटै नाम भएका उनीहरूको चिनजान मित्रतामा परिणत भयो । सुनसरीको भोक्राहा गाउँपालिका–६ नरसिंह घर भएकी चौधरीका श्रीमान् दमका रोगी थिए । श्रीमानको मृत्यु र एक मात्र छोरीको विवाहपछि एक्ली बनेकी ३९ वर्षीया सरस्वती मजदूरी गर्दै राजविराज आइन् । भवन निर्माणको ज्याला मजदूरीको काम दैनिक रूपमा नपाएपछि उनी स्थायी कामको खोजीमा थिइन् । यस काममा दासले सघाइन् र होटलमा सँगै काम मिलाई दिइन् । बिहान ७ बजे होटल जाने गरेका उनीहरूले राति साढे ९ बजे छुट्टी पाउँछन् । उनीहरु दुबै जनाले महिनाको सात/सात रुपैयाँ हजार तलब पाउँछन् । खर्च बचतका हिसाबले दुबै जनासँगै एउटा कोठामा बस्न थालेको हो ।

उनीहरू काम गर्दै आएको होटल हाल भने कोभिड–१९ रोकथामका लागि भएको निषेधाज्ञाका कारण बन्द छ । बन्दाबन्दी खुल्ने अनिश्चित भएसँगै होटल खुल्ने पनि अनिश्चित बनेपछि होटल सञ्चालकले उनीहरूलाई छुट्टी दिएका छन् । न्यून तलबमा जसोतसो गुजारा चलाइरहेका उनीहरूलाई अहिले हातमुख कसरी जोर्ने भन्ने चिन्ता छ ।

कोभिड–१९ को सन्त्रासभन्दा पनि भोकभोकै मरिन्छ कि भन्ने चिन्ताले सताउन थालेको उनीहरु बताउँछन् । छोरी जन्मिदा र हुर्कदा माइतीको सहयोग भए पनि हाल सहयोग नभएको दासको भनाई छ । उनका अनुसार, लकडाउनका बेला माइत जाँदा भाइ बुहारीले पनि कोरोनाका बेला नआउन उनलाई आग्रह गरे । बन्दाबन्दीले होटल बन्द भई काम गर्न नपाउँदा आफूहरूलाई घरखर्च चलाउन निकै समस्या परेको उनीहरूको भनाई छ ।

बन्दाबन्दी भएको १७ दिन पुगेको छ, संगै भएको पैसा पनि सकिएको छ । उनीहरूसँग नत पैसा छ, नत एक छाक गाँसको व्यवस्था गर्ने अन्य उपाय नै छ । पोषणयुक्त खाना खाने कुरा त परै जाओस् घरमा साँझ, बिहानको छाक कसरी टार्ने भन्ने उहाँहरूलाई चिन्ता छ । चौधरीको श्रीमानको मृत्यु भइसकेको छ भने दासको श्रीमान सम्पर्कमा छैनन् । चौधरीको एक मात्र छोरीको विवाह भइसकेको छ भने दासको एउटी छोरी नाबालिका छिन् ।

बन्दाबन्दीका कारण काम गर्न नपाएपछि उनीहरूलाई दैनिक छाक टार्न समेत मुस्किल परेको छ । काम गर्ने होटलमा नै दुई छाक खान पाइरहेका उहाँहरूको होटल बन्द भएपछि खाने समस्या भएको हो । त्यसै माथि १२ वर्षीया छोरी भोकाउँदा झनै पिडा थपिने गरेको दासले सुनाइन् । आँखाभरि आँसु लिदै उनले भनिन्, ‘आफ्नो भोकभन्दा पनि छोरीलाई भोकले तडपिएको देख्दा निकै गाह्रो हुन्छ ।’ रासस