झापा– कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले आफूले नगरपालिकाबाट पारिश्रमिक तथा भत्तावापत प्राप्त गरेको रु १० लाख अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन् ।


ADVERTISEMENT


कोभिड–१९ महामारीमा अक्सिजनको माग उच्च भइरहेको हुँदा नगरमा सञ्चालित अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्न उक्त सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


उनले रु १० लाखको चेक नगरपालिकालाई हस्तान्तरण गरेको नगरका प्रमुख प्रशासकीय मोहनप्रसाद न्यौपानेले जानकारी दिए ।

विकासप्रेमी नगरप्रमुखको पहिचान बनाएका पोखरेलले निर्वाचित भएलगत्तै आफूले पारिश्रमिक र भत्तावापत पाउने सबै सुविधा सामाजिक सेवामा खर्च गर्ने घोषणा गरेका थिए । नगरमा हाल १५ शय्याको नगरस्तरीय अस्पताल सञ्चालनमा छ । त्यहाँ रु दुई करोडको लागतमा अक्सिजन प्लान्ट स्थापना गर्ने नगरको लक्ष्य रहेको छ । यसका लागि नगरको चालु बजेटबाट रु एक करोडसम्म उपयोग गरिने र स्थानीय सहयोगी मनहरुबाट रु. एक करोडको आश्वासन प्राप्त भएको उनले बताए। अस्पताललाई ५० शय्यामा विस्तार गर्नेसमेत नगरको योजना छ ।

‘कोरोना महामारीबाट नागरिक एकदमै ठूलो पीडामा छन्’, उनी भन्छन्, ‘अहिले बरु सडक पक्की गर्दैनौँ, स्वास्थ्य सेवालाई भरपर्दो बनाउँछौँ ।’ अप्ठेरो बेलामा नागरिकलाई भोक र रोगले मर्न नदिने आफ्नो उद्देश्य रहेको उनले जनाए । उनले पहिलो वर्ष यही सुविधावापत पाएको रु. तीन लाख ४० हजार नगरका श्रमिक वर्गको सार्वजनिक हित कोषमा जम्मा गरेका थिए ।

आर्थिक वर्ष २०७४/७५ मा गाडी खरिद शीर्षकमा नगरपालिकाले छुट्याएको रु. ४० लाख बजेट नगरप्रमुखले सडक निर्माणमा लगाएका थिए । विसं २०७० मा नगरपालिकाले किनेको गाडीले नै काम चलिरहेको जनाउँदै नगरप्रमुख पोखरेलले नयाँ गाडी किन्न आवश्यक नरहेको बताएका थिए ।

यस्तै, आव २०७६/७७ मा पनि नगरप्रमुख चढ्ने छुट्टै सवारी साधन खरिदका लागि नगरपालिकाले फेरि रु. ६० लाख बजेट विनियोजन गरेको थियो । नगरप्रमुख पोखरेलले गाडी किन्न अस्वीकार गर्दै सो रकम नगरपालिका आफैँले स्थापना गरेको प्राविधिक कलेजलाई प्रदान गरेका थिए । नगरपालिकाले सो रकम खर्च गरेर वडा नं ७ मा कनकाई पोलिटेक्निक इन्स्टिच्युट नामक प्राविधिक कलेज सञ्चालनमा ल्याएको छ । कलेजमा सिभिल इञ्जीनियरिङ, जियोमेट्रिकक इञ्जीनियरिङ र इनफर्मेशन टेक्नोलोजीको पढाइ भइरहेको छ ।

साइकलप्रेमी नगरप्रमुख पोखरेल कार्यालयमा साइकल चढेर जाने गर्छन् । उनले पारिश्रमिकको केही रकम नगरका सडकमा साइकल लेन बनाउन खर्च गर्ने घोषणा गरेका थिए । तर, गत वर्षदेखि कोरोना महामारी बढेपछि साइकल लेन परियोजना अधुरो छ । रासस