काठमाडौँ – विवेकशील साझा पार्टीका नेता उज्वल थापाको निधन भएको छ । कोरोना संक्रमणपछि उपचाररत थापाको मंगलबार काठमाडौँको मेडिसिटी हस्पतालमा निधन भएको हो ।


ADVERTISEMENT


४४ वर्षीय थापाको आज अपराह्न ४:२५ बजे निधन भएको विवेकशील साझा पार्टीका अध्यक्ष मिलन पाण्डेले पुष्टी गरेका छन् । यता मेडिसिटी अस्पतालले पनि चिकित्सकको अथक प्रयास गर्दा पनि बचाउन नसकिएको बताएको छ ।


ADVERTISEMENT

# # #


पाण्डेले थापाको निधनप्रति दुःख व्यक्त गर्दै उनले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन दृढ संकल्पित हुने बताएका छन् । उनले भनेका छन्, ‘उज्वल थापा व्यक्ति मात्र नभई, एउटा दर्शन र विचार पनि हो र सोहीमा उहाँ जीवन्त रहनु हुनेछ भन्ने हाम्रो अनुभूति हो । उहाँले देखेका सपना पूरा गरी हरेक नेपालीको मुहारमा खुसी ल्याउन हामी सबै दृढ संकल्पित छौँ ।’

तत्कालीन विवेकशील नेपाली दलका संस्थापक अध्यक्ष समेत रहेका थापा लामो समयदेखि वैकल्पिक राजनीतिको अभियानमा थिए । दुषित राजनीतिलाई सफा गर्न राजनीतिमा युवाहरुको सहभागिता आवश्यक छ भन्दै उनले विवेकशीलको गठन गरेका थिए ।

बन्दको विरोध गर्दै ‘नेपाल खुल्ला छ’ अभियान सुरु गरेका उनले आफ्ना असहमतिहरुमा जुलुस, तोडफोड गर्ने परम्परालाई नयाँ शैली दिएका थिए । पहिलो पटक उनी नेतृत्वको विवेकशील नेपाली दल र रवीन्द्र मिश्र नेतृत्वको साझा पार्टीबीच एकता हुँदा उनी अध्यक्ष बनेका थिए । तर, केही महिनामा नै दुई पार्टीहरु अलग भएका थिए ।

युवाहरुलाई नेतृत्व दिनुपर्छ भन्दै उनले मिलन पाण्डेलाई विवेकशीलको नेतृत्व सुम्पेका थिए । त्यसपश्चात पुनः विवेकशील र साझा पार्टीबीच एकता भएको थियो ।

उनको उपचारका लागि केही दिन पहिले सार्वजनिक रुपमा सहयोग समेत संकलन गरिएको थियो । अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ आए पनि उनको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको थियो ।