काठमाडौँ – विश्वकप फुटबलको छनोट खेल अन्तर्गत आज नेपालले चाइनीज ताइपेईसँग खेल्दैछ । कुवेतमा हुने खेल नेपाली समय अनुसार राती ९ः४५ बजे सुरु हुनेछ ।


ADVERTISEMENT


नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले चाइनीज ताइपेईसँग नेपालले जित हात पार्ने प्रयास गर्ने बताएका छन् । उनले भने, ‘हामी एशियाली कप छनोटको मौकाका लागि हामी चौथो स्थान सुरक्षित गर्न चाहन्छौँ । त्यसका लागि हामीले ताईपेईसँग जित्नुपर्नेछ ।’


ADVERTISEMENT

# # #


खेलका लागि धेरै तयारी गर्न नपाए पनि नेपाली टोलीमा प्रतिभावान युवाहरु रहेकाले नतिजा सकारात्मक आउने विश्वास व्यक्त गरे । उनले भने, ‘कुवेतको मौसममा खेल्न सहज हुने छैन । मलाई लाग्छ, दुबै टिमका लागि कठिन हुनेछ ।’

कुवेतमा नेपाली टोलीले तीन खेल खेल्दैछ । नेपालले दोस्रो खेल जेठ २४ गते जोर्डनसित तथा तेस्रो खेल जेठ २८ गते अष्ट्रेलियासँग खेल्ने कार्यक्रम रहेको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

सन् २०२२ मा कतारमा हुने विश्वकप तथा २०२३ मा चीनमा हुने एसिया कपको संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको छनोटको बाँकी खेल नेपाली टोली कुवेत तीन दिन अघि नै कुवेत पुगेको थियो। त्यसअघि नेपालले इराकसितको मैत्रीपूर्ण खेल खेल खेलेको थियो । नेपाल मैत्रीपूर्ण खेलमा इराकसित ६–२ गोलअन्तरले पराजित भएको थियो ।

नेपाली टोलीको गोलरक्षकमा किरण चेम्जोङ, विशाल सुनार र दीप कार्की, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल र विकास खवास, मिडफिल्डरमा विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, पुजन उपरकोटी र आयुष घलान तथा फरवार्डमा अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ र आशिष लामा रहेका छन् ।

विश्वकप छनोटमा नेपालले अहिलेसम्म एक खेलमा मात्र जित हासिल गरेको छ भने चार खेलमा पराजित भएको छ । समूह बी मा रहेको नेपाल तीन अंक जोड्दै चौथो स्थानमा छ । सोही समूहमा रहेको चाइनीज ताइपेइ अङ्कबिहीन छ । समूहको शीर्ष स्थानमा १२ अंकका साथ अस्ट्रेलिया छ भने दोस्रो स्थानमा १० अंकसहित कुवेत रहेको छ । यस्तै १० अंकका साथ जोर्डन तेस्रो स्थानमा छ ।

विश्व फुटबल महासंघ (फिफा)को बरियतामा अष्ट्रेलिया ४१औं स्थानमा, जोर्डन ९५औं, चाइनिज ताइपेइ १४१औं तथा नेपाल १७१औं स्थानमा छ ।