काठमाडौँ– नेपाल आयल निगमले अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य घटाएको छ । निगमले आइतबार साँझ एक विज्ञप्ति जारी गरी हिजो राति १२ः०० बजेदेखि नै लागू हुने गरी हवाई इन्धनको मूल्य घटाएको हो ।


ADVERTISEMENT


आइतबार बसेको निगम सञ्चालक समितिले कोभिडको अवस्था रहुन्जेल अन्तर्राष्ट्रिय हवाई इन्धनमा बढीमा १५ प्रतिशतसम्म नाफा राखि मूल्य निर्धारण गर्ने नीति पारित गरेको हो । यसअघि अमेरिकी डलर ८९३ प्रतिकिलोलिटर रहेको अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य प्रतिलिटर ७१५ कायम गरिएको छ । निगमले एकैपटक प्रतिकिलोलिटर अमेरिकी डलर १७८ ले मूल्य घटाएको हो ।


ADVERTISEMENT

# # #


आइतबारसम्म निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ४० प्रतिशत नाफा रहेको थियो । यसअघि निगमलाई अन्तर्राष्ट्रिय हवाई इन्धनमा ७० प्रतिशतसम्म रहेको निगमका प्रवक्ता वितीतमणि उपाध्यायले जानकारी दिएका छन् । उनका अनुसार, कोरोनाको एक वर्षको अवधिमा हवाई इन्धनबाट निगमलाई पाक्षिक (१५ दिनको अवधिमा) रुपमा रु एक करोड ५० लाख नाफा भएको छ ।

निगमलाई खाना पकाउने एलपी ग्यासबाट पाक्षिक रुपमा अनुमानित रुपमा रु. ५० करोड नोक्सान रहेको छ । एपली ग्यासको नोक्सानी निगमले हवाई इन्धनबाट परिपूर्ति गर्दै आएको थियो । निगमको इन्धन मूल्य निर्धारण नीतिअनुसार एलपी ग्यासको नोक्सानीलाई अन्तर्राष्ट्रिय हवाई इन्धनको नाफाबाट परिपूर्ति गर्ने व्यवस्था रहेको छ ।

अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्यमा कमी आएसँगै हवाई भाडामा कमी आउने अपेक्षा गरिएको छ । मूल्यमा कमी आएसँगै सरकारी स्वामित्वमा सञ्चालित नेपाल वायुसेवा निगमलाई हवाई इन्धनबाट मात्र वार्षिक रुपमा रु ७० करोडभन्दा बढी रकम बचत हुने अनुमान गरिएको छ । रासस