बाग्लुङ– धवलागिरि अस्पतालले कोरोना सङ्क्रमणसँगै मिर्गौला रोगबाट ग्रसित बिरामीलाई नियमित डायलासिस सेवा प्रदान गर्दै आएको छ ।


ADVERTISEMENT


अस्पतालमा अहिले चार जना कोरोना सङ्क्रमितले डायलासिस गराइरहेका छन् । जसमध्ये तीन जना होम आइसोलेशनमा छन् भने एक जना अस्पतालमै भर्ना भएर उपचाररत छन् ।


ADVERTISEMENT

# # #


अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलका अनुसार, अस्पतालमा नियमित डायलासिस गराउनेको संख्या २० छ । ‘कोरोना सङ्क्रमितका लागि विशेष सावधानीसहित डायलासिस गराइरहेका छौँ’, उनले थपे, ‘जोखिम हुँदा पनि हामीले मिर्गौलाका बिरामीलाई अन्यत्र पठाएनौँ, यही व्यवस्थापन गर्‍यौँ ।’

कोरोना सङ्क्रमितलाई आइसोलेशनकक्षमा छुट्टै राखेर डायलासिस गराउने गरिएको छ । होम आइसोलेशनमा रहेका तीन जना मिर्गौलापीडित भने सुरक्षित तवरले अस्पताल आई डायलासिस गरेर फर्कन्छन् । अस्पतालले कोरोना सङ्क्रमित महिलालाई प्रसूतिसमेत गराउँदै आएको छ ।

महामारीको दोस्रो लहर शुरु भएयता दुई जना सङ्क्रमित महिलाले अस्पतालमा शिशु जन्माएको प्रमुख चिकित्सक पोखरेलले बताए । कोरोनासँगै अन्य दिर्घ रोग भएका बिरामीको पनि उपचारमा विशेष ध्यान दिइएको उनको भनाइ छ ।

त्यस्ता बिरामीलाई कोरोनाले चाँडै गम्भीर बनाउने चिकित्सक बताउँछन् । मिर्गौला रोगी पनि बढी जोखिममा पर्छन् । अस्पतालले तीन वर्षअघि मिर्गौलापीडितको उपचारका लागि डायलासिस सेवा शुरु गरेको थियो । डायलासिस सेवा दिने अस्पताल जिल्लामा यही मात्र हो ।

विसं २०७६ चैत १५ मा देशकै पाँचौ सङ्क्रमित जिल्लामा भेटिएपछि अस्पतालले गण्डकी प्रदेशमै पहिलोपटक कोरोनाको उपचार थालेको थियो । हालसम्म सयौँ सङ्क्रमित उपचारपछि निको भएर अस्पतालबाट घर फर्केका छन् । अहिले १४ जना सङ्क्रमित अस्पतालमा उपचाररत छन् ।

सीमित स्रोत साधनका बावजुद अस्पतालले सङ्क्रमितको उपचार र व्यवस्थापन गरिरहेको छ । दरबन्दी अनुसार चिकित्सक÷स्वास्थ्यकर्मी नहुँदा कामको चाप छ । उपप्रादेशिक तहको अस्पताल भएर पनि पूर्वाधार र मानव संशाधनको व्यवस्थापनमा सम्बन्धित निकायको उचित ध्यान पुगेको छैन ।

पछिल्लो सातायता अस्पतालमा सङ्क्रमितको संख्या ५० प्रतिशतले घटेको जनाएको छ । हालसम्म जिल्लाका चार हजारबढीमा कोरोना पुष्टि भएको छ । सक्रिय सङ्क्रमितको संख्या ६९० छ भने कोरोनाका कारण ४७ जनाले ज्यान गुमाएका छन् । रासस