काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल नर्भिक अस्पतालबाट डिस्चार्ज भइ थप उपचारका लागि भारतको नयाँ दिल्ली प्रस्थान गरेका छन् ।


ADVERTISEMENT


उनको परिवारबाट थप उपचारका लागि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पताल लैजाने निर्णय भएपछि अस्पतालले उनलाई डिस्चार्ज दिएको हो ।
उनी साढे १२ बजेको नेपाल एयरलाइन्सको फ्लाइटबाट दिल्ली गएको अस्पतालले जनाएको छ ।


ADVERTISEMENT

# # #


नर्भिक अस्पतालमा रहँदा उनको अवस्था स्थिर रहेको थियो । लगातार ज्वरो आएसँगै सास फेर्न गाह्रो भएपछि उनलाई २ दिनअघि नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । त्यसपछि नर्भिकको विशेष वार्डमा राखेर उनको उपचार जारी राखिएको थियो ।

उपचारमा संलग्न चिकित्सहरुकाअनुसार उनको फोक्सोमा पानी जमेको देखिएको थियो । फोक्सोमा पानी जमेका कारण अक्सिजनको कमी देखिएको थियो । उनलाई निरन्तर अक्सिजनकै सपोर्टमा राखिएको थियो ।

उनमा ज्वरो उल्लेख्य घट्न सकेको थिएन । पिसाब तथा रगतमा समेत इन्फेक्सन देखिएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार उनलाई मंगलबार एक पिन्ट रगत समेत दिइएको थियो । ‘हेमोग्लोबिनको मात्रा कमी देखिएपछि रगत चढाइएको थियो ।’ अस्पतालले भनेको छ, ‘२ पिन्ट रगत चढाउने योजना बनेको भए पनि शरीरले सपोर्ट नगरेपछि एक पिन्ट मात्र रगत चढाइएको हो ।’

‘दिल्ली उड्नुअघि पनि उनमा निरन्तर खोकी लागिरहेको थियो । शरीर समेत शिथिल देखिन्थ्यो, उहाँ कामिरहनुभएको थियो’ अस्पतालको भनाई छ । चिकित्सकहरुले कोभिड हुँदा उनलाई निमोनियाको समस्या देखिएको र सो समस्या फेरि बल्झिएको समेत आशंका गरेका छन् ।

मूलत नेता खनालमा मृगौलाको समस्याबाट हुने लक्षण र कोभिडपछि देखिने लक्षणहरु देखिएको उपचारमा संलग्न चेस्ट फिजिसियन डा. ब्रजेन्द्र श्रीवास्तवले बताएका छन् ।

डा. श्रीवास्तवका अनुसार खनालको रगत र पिसाबमा समेत इन्फेक्सन देखिएको थियो ।