राँझा– कोहलपुर नगरपालिकाले बाढी र कटानको उच्च जोखिममा रहेका एकतानगर बस्ती जोगाउनका लागि पक्कीनाला निर्माण गर्ने भएको छ ।


ADVERTISEMENT


डुडुवाखोलामा आएको बाढीका कारण खेतीयोग्य जमिन कटान भई बस्ती नै डुवानमा पर्ने जोखिम बढेपछि त्यसको दीर्घकालीन समाधानका लागि तत्काल पक्कीनाला निर्माण गर्ने निर्णय गरिएको नगरप्रमुख लुटबहादुर रावतले जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


उनका अनुसार, एकतानगर बस्ती बाढी र कटानको उच्च जोखिममा रहेकाले त्यसको समाधानका लागि तत्काल रु. ५६ लाख बजेट विनियोजन गरिएको छ । बाढी र कटानका कारण त्यहाँका ६० घर विस्थापित हुने अवस्था आएकाले त्यसको समाधानका लागि पक्कीनाला निर्माणको काम शुरु गरिएको छ ।

डुडुवाखोलाको कटान तथा डुवानबाट वस्ती जोगाउन पक्कीनाला निर्माणका लागि रु. ५६ लाखको लागत स्टिमेट तयार गरिएको नगरपालिकाका इञ्जिनीयर बालकृष्ण महतराले जनाएका छन् । उनका अनुसार, स्टिमेटमा २.५ मिटर चौडाई, १.५ मिटर उचाई, ९० साइजका ६ वटा होमपाइप र रिटेनिङ्गवाल समेत रहेको छ । तत्कालका लागि बस्ती जोगाउन एक सय मिटर पक्कीनाला बनाउने र अर्को आर्थिक वर्षमा पनि एक सय मिटर पक्कीनाला बनाउने लक्ष्यका साथ काम भइरहेको उनको भनाइ छ ।

अबको १५ दिन भित्र नै सक्नेगरी काम गर्ने तयारी भएको छ । काम सम्पन्न गर्न स्थानीयवासी रोशन रावतको अध्यक्षतामा उपभोक्ता समितिसमेत गठन भएको छ । कोहलपुर नगरपालिका—११ का वडाध्यक्ष कर्ण थापाले पक्कीनाला निर्माण भएपछि एकता नगरको कटान तथा डुवानको समस्या समाधान हुने बताए । वडाको बजेटबाट नभ्याउने भएकाले नगरपालिकाबाटै यो योजना ल्याइएको उनले बताए । रासस