काठमाण्डौं – जिल्ला मालपोत कार्यालय जग्गा रजिस्ट्रेसन शाखाको कुनामा एक युवक हुन्छन् । उनको काम रजिस्ट्रेसन पास गर्ने बेला रसिद काट्ने र पैसा माग्ने हुन्छ । राजस्व रकम तिरेपछि मालपोतका कर्मचारीले उनीतिर देखाउँछन् । उनले रसिद काटेपछि मात्रै फाइल सदर हुन्छ ।


ADVERTISEMENT


ती युवकले काटेको रसिद रेडक्रसका लागि सहयोग रकम हो । नेपाल रेडक्रस सम्पन्न गैरसरकारी संस्था मानिन्छ । यसका पदाधिकारी र कर्मचारी ‘आकर्षक’ तलब–सुविधा लिन्छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा मात्र रेडक्रसका दुइटा भवन भाडामा लगाइएका छन् । त्यही रेडक्रस यहाँ वर्षौंदेखि सर्वसाधारणसँग गैरकानुनी ढंगले पैसा उठाइरहेको छ । त्यो पनि रेटै तोकेर ।


ADVERTISEMENT

# # #


रेडक्रसको यस्तो काममा सरकारी कर्मचारीले पनि साथ दिइरहेका छन् । हरेक रजिस्ट्रेसन पासबापत रेडक्रसका कर्मचारीलाई सयकडा २५ पैसाका दरले कथित ‘राजस्व’ नबुझाएसम्म मालपोत अधिकारीले प्रक्रिया अघि बढाउँदैनन् । कहिलेदेखि किन उठाइरहेको हो, स्वयं मालपोत अधिकृत भने जानकार छैनन् । जिल्ला मालपोत अधिकृत कृष्णप्रसाद गौतमले आफू सरुवा भएर आउँदा नै यस्तो प्रचलन रहेको र अहिलेसम्म पनि कायमै रहेको बताए ।

रेडक्रसलाई एक लाखबराबर २ सय ५० रुपैयाँ तिर्नुपर्छ । यसरी ठूलो कारोबारमा ठूलै रकम उठ्छ । सेवाग्राहीलाई यस्तो प्रवृत्तिले थप आर्थिक संकटमा धकेलिरहेको छ । आठराई त्रिवेणी गाउँपालिकाबाट आएका सेवाग्राही तुलसी सिटौला सानो रकम पनि अर्कासँग ऋण गरेर जग्गा किन्नेका लागि यस्तो व्यवहारले कठिन बनाएको बताए ।

रेडक्रस शाखाका कोषाध्यक्ष विकास गौतमले साधारणसभामा पेस गरेको आर्थिक विवरणअनुसार रजिस्ट्रेसनबाट आर्थिक वर्ष ०७३र७४ मा १ लाख ८० हजार रुपैयाँ उठेको थियो । अघिल्लो वर्ष ०७२र७३ मा ३ लाख ७ हजार उठेको थियो । अंशबन्डा, नामसारीजस्ता अरू कारोबारमा नलिएको, केबल रजिस्ट्रेसनमा लिएको कर्मचारीको भनाइ छ । यो रकम लिँदा कतिपय सेवाग्राहीले कर्मचारीलाई घूस खाएको भनेर गाली गर्ने गरेका छन् । तिनले रसिद पनि त्यहीं फालेर हिँड्छन् ।

रेडक्रसले यसरी रकम उठाउन बन्द गर्नुपर्ने कतिपय कर्मचारीको बुझाइ छ । तर कहिलेदेखि के सर्तमा कसरी सुरु भएको भन्ने प्रमाण नभएकाले यो गैरकानुनी प्रचलन रोक्ने आँट कसैले गरेका छैनन् ।

नेपाल रेडक्रसका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले ‘सर्वदलीय सहमतिअनुसार’ २० वर्षभन्दा लामो समयदेखि उक्त रकम उठाउने गरिएको बताए । ‘त्यसरी उठाएको रकम दैवी प्रकोपमा सहयोगार्थ उपयोग गर्ने गरिएको छ,’ उनले भने । – आजको कान्तिपुरबाट