काठमाडौँ– नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेस बलियो भएमात्र लोकतन्त्र बलियो हुने बताएका छन् ।


ADVERTISEMENT


लोकतन्त्रका लागि हाम्रो अभियानले सोमबार ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक कर्णाली प्रदेशस्तरीय भर्चुअल अन्तरक्रियामा उहाँले कांग्रेसको स्थापना लोकतन्त्रको रक्षाका लागि भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘संविधान कार्यान्वयन र लोकतन्त्रको रक्षा गर्ने पार्टीले किन निर्वाचनमा कम भोट ल्यायो यसको बारेमा पार्टीभित्र समीक्षा हुनुपर्छ’, उनले भने । पार्टीले मुलुक र जनताका लागि गरेको कामको बारेमा प्रचारप्रसार गर्नु जरुरी रहेको उनको भनाइ छ ।

सहमहामन्त्री डा महतले कांग्रेसभित्र पार्टीभन्दा व्यक्ति बलियो भएको जनाए । संविधान र कानूनको परिपालना गर्ने पार्टी कांग्रेसले कोरोना महामारी र बाढी पहिरोको चुनौतीबीच समयमा नै महाधिवेशन सम्पन्न गर्ने स्पष्ट पार्दै उनले पार्टीभित्र सङ्गठन गर्ने शैलीमा आमूल परिवर्तन ल्याउन जरुरी रहेको उहाँको भनाइ थियो । सरकारले कोरोना नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको बताएका छन् ।

कांग्रेस नेता एवं संविधानसभा सदस्य राजीवविक्रम शाहीले भने पार्टीभित्र भएको गुट उपगुट अन्त्य नभएसम्म कांग्रेस बलियो नहुने उल्लेख गरे। कार्यक्रममा कर्णाली प्रदेशका कांग्रेस जिल्ला सभापति र प्रदेशसभा सदस्यहरू सहभागी थिए ।

कार्यक्रमका संयोजक एवं कांग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले लोकतन्त्रको रक्षा गर्दै पार्टीलाई बलियो बनाउनका लागि आफूले उक्त अभियान सञ्चालन गरेको दाबी गरे । यसअघि यस्तो अभियान प्रदेश नं १, प्रदेश नं २, वाग्मती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ । आगामी दिनमा सुदूरपश्चिम प्रदेशमा सञ्चालन गरिने उनले जनाए । रासस