ज्ञानेन्द्र न्यौपाने, नुवाकोट– सडक विस्तारका क्रममा खनिएका ढुङ्गा, माटो व्यवस्थापन हुन नसक्दा मालबाहक कन्टेनर गुडाउन असहज भएको छ ।


ADVERTISEMENT


गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रु सडक विस्तार आयोजनाले राजमार्ग विस्तार गर्ने क्रममा स्याफ्रुबेँसीको भोटेकोशी पुल नजिक खनेको ढुङ्गा माटो व्यवस्थापन नगर्दा सवारी साधन गुडाउन असहज भएको हो ।


ADVERTISEMENT

# # #


साविकको कालोपत्रसमेत आयोजनाले भत्काइ खुकुलो माटोले पुरेको र वर्षाको भलबाढीले मालबाहक सवारी साधन गुडाउन असहज हुनाका साथै टायरसमेत फुट्ने समस्या बढ्न थालेको हो । नेपाल–चीनबीचको व्यापार व्यवसाय अभिवृद्वि गर्ने एक मात्र उत्तरी नाका रसुवागढीलाई व्यवस्थित बनाउनुपर्नेमा सडक विस्तार आयोजनाले यही असार १ गतेबाटै वर्षाको असर देखाइ सुधारका सबै कार्य स्थगन गरी हिँडेका कारण सडक सतहमा अनियन्त्रितरूपले आउने ढुङ्गा तथा गेगरको अवरोधले सवारी साधन गुडाउन असहज भएको चालक बताउँछन् ।

सवारी चालक छेवाङ सोनाम तमाङका अनुसार डेढ महिना कुरेपछि रु ८२ हजार भाडामा सामान बोक्ने पालो आउने र स्याफ्रुबेँसीको भोटेकोशी पुल नजिक विस्तार गर्न लागिएको सडकमा पुग्दा टायर फुट्ने समस्या बढेको हो । सडक सहतमा दिनहुँ आउने हिलो एवं ससाना डल्ला ढुङ्गाको अवरोधले मालवाहक डिब्बा पार लगाउन डोजरद्वारा तान्नुपर्ने अवस्थामा टायरको अलावा थुप्रै पार्टपुर्जासमेत भाँच्चिने समस्या बढेको चालकको गुनासो छ ।

राज्यको राजश्व आर्जन गर्ने सडकमार्ग सहज पार्न पटकपटक आग्रह गरिए पनि सडक प्राविधिक गम्भीर नहुँदा पासाङल्हामु मार्ग दुरवस्था हुँदै गएको रसुवा चेम्बर अफ कमर्सका अध्यक्ष सञ्जीव अमात्यले बताए । वर्षायाम शुरू भएसँगै मूलखर्क, धुञ्चेको त्रिशूली खोला, भार्खुडाँडा, सानोभार्खु खोला क्षेत्रमा समेत मालबाहक सवारी साधन गुडाउन असहज हुँदै गएको अध्यक्ष अमात्यले जानकारी दिए ।

असार १ गतेयता सडकमार्गमा भारी वर्षाले आएका २५ भन्दा बढी स्थानका अवरोध सुरक्षा अङ्गको जनशक्तिले हटाइसकेको छ । सडक भत्किएपछि स्रोत साधन भएको सडकका जिम्मेवार प्राविधिक नुवाकोटको बिदुरमा बस्ने र आकस्मिक अवरोध हटाउने नाममा यहाँका सुरक्षा अङ्गले मात्र पिक सावेल बोकेर निरन्तर सडकमा खट्नुपर्ने समस्या बढिरहेको बताइन्छ । रासस