काठमाडौँ – राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, कार्यकारी समितिको बैठकले विविध कारणवश हालसम्म अनुदान सम्झौता गर्न नसकेका वा अनुदानको किस्ता लिन नसकेका लाभग्राहीलाई कात्तिक मसान्तभित्र तेस्रो किस्ता लिनेगरी पुनःनिर्माण गर्न अनुरोध गरेको छ ।


ADVERTISEMENT


समितिको बैठकले पुनःनिर्माण तथा प्रबलीकरण लाभग्राहीलाई सम्बन्धित स्थानीय तहमा यथाशीघ्र निवदेन दिन अनुरोध गरेको छ । अनुदान सम्झौता गर्न वा बाँकी किस्ता प्राप्त गर्न लाभग्राहीले प्राधिकरणले तयार गरेको कबुलियतनामा फारम भर्नुपर्नेछ । प्राधिकरणले तोकेको मापदण्ड र समयसीमा अनुसार पुनःनिर्माण गर्न लाभग्राही मञ्जुर हुनुपर्नेछ । त्यसलाई सम्बन्धित वडाध्यक्षले सिफारिससमेत गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #


प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइले जिल्ला सहजीकरण समितिको निर्णयअनुसार सम्झौता गराउने वा बाँकी किस्ता उपलब्ध गराउनेछ । बैठकले निर्माण भइसकेका निजी आवास निर्धारित मापदण्डबमोजिम सुधार गर्नुपर्ने भनी सम्बन्धित प्राविधिकले गरेको सिफारिसअनुसार सुधार गर्न सहमत लाभग्राहीलाई अनुदानको बाँकी किस्ता भुक्तानी गर्ने निर्णय पनि गरेको छ ।

यस्ता घरका लागि लाभग्राहीले अनुदानको किस्ता लिइसकेपछि प्राविधिकको सुझावअनुसार स्थानीय तहबाट सुधार गरी निर्माण सम्पन्नताको प्रमाणपत्रका लागि स्थानीय तहमा दाबी गर्ने कबुलियतनामा गर्नुपर्नेछ । अनुदान लिएर घरमा आवश्यक सुधार गरी सुरक्षित नबनाएमा प्राधिकरण र स्थानीय तहले तोकेको कारवाही भोग्न लाभग्राही तयार हुनुपर्नेछ ।

कार्यकारी समितिले विविध कारणवश हालसम्म जग्गा खरिद गर्न नसकी पुनःनिर्माण गर्न नसकेका भूमिहीन वा जोखिम बस्तीका लाभग्राहीलाई २०७८ भदौ मसान्तसम्म जग्गा खरिद सम्पन्न गर्न पनि आग्रह गरेको छ । यस्ता लाभग्राहीले पनि कात्तिक मसान्तसम्म अनुदानका तीनै किस्ता लिनेगरी घर निर्माण गर्नुपर्नेछ ।

यसअघि २०७८ असार १० गते प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको प्राधिकरण निर्देशक समितिको बैठकले कात्तिक मसान्तसम्म निजी आवास अनुदान लिने अन्तिम समयसीमा निर्धारण गरेको थियो । उक्त बैठकले प्राधिकरणको वर्तमान संस्थागत संरचना र कार्य प्रणाली उक्त अवधिसम्म निरन्तर रहने पनि निर्णय गरेको थियो ।

बिहीबारसम्म आठ लाख ५८ हजार २८२ पुनःनिर्माण लाभग्राही निक्र्योल भएका छन् । तीमध्ये ९५.३७ प्रतिशत अर्थात आठ लाख १८ हजार ६२४ ले अनुदान सम्झौता गरेका छन् । अनुदान सम्झौता गरेकामध्ये पहिलो किस्ता लिने घरधुरी आठ लाख १६ हजार ६७० (९९.७६ प्रतिशत), दोस्रो किस्ता लिने घरधुरी सात लाख २७ हजार ३२८ (८८.८४ प्रतिशत) र तेस्रो किस्ता लिने घरधुरी छ लाख ६५ हजार २३३ (८१.२६ प्रतिशत) पुगेका छन् ।

अनुदान सम्झौता गरेकामध्ये ७४.६८ प्रतिशत अर्थात छ लाख ११ हजार २४१ घरधुरीले निजी आवास पुनःनिर्माण सम्पन्न गरिसकेका छन् । पुनःनिर्माण गरिरहेका लाभग्राहीको सङ्ख्या एक लाख ४६ हजार १५३ रहेको प्राधिकरणले जनाएको छ । यो अनुदान सम्झौता गरेकामध्ये १७.८६ प्रतिशत हो । घर पुनःनिर्माण शुरु गरेका कुल लाभग्राहीको सङ्ख्या सात लाख ५७ हजार ३९४ पुगेको छ । यो अनुदान सम्झौता गरेकामध्ये ९२.५३ प्रतिशत हो ।

प्रबलीकरण लाभग्राहीमध्ये कैयौँ पुनःनिर्माण लाभग्राहीमा परिवर्तन भएपश्चात् हाल यस्ता लाभग्राहीको सङ्ख्या ५३ हजार ९५८ कायम भएको छ । तीमध्ये ८४.९१ प्रतिशत अर्थात ४५ हजार ८१४ ले अनुदान सम्झौता गरेका छन् । सम्झौता गरेकामध्ये ४५ हजार ७८१ अर्थात ९९.९३ प्रतिशतले पहिलो किस्ता लिइसकेका छन् ।