एडिन्सन काभानीको उत्कृष्ट प्रदर्शनमा फ्रेन्च लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मन (पीएसजी)ले आफ्नो अपराजित यात्रा कायमै राखेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले निसलाई ३-० गोल अन्तरले पराजित गर्दा काभानीले दुई गोल गरे ।


ADVERTISEMENT


बार्सिलोनाका पूर्वस्टार नेमारसँगको खटपटपछि टोलीको प्रदर्शन र आफ्नो भूमिकाका विषयमा असन्तुष्टि व्यक्त गर्दै पीएसजी छाड्ने मनस्थितिमा पुगेका काभानीले शुक्रबार राति दुई गोल गर्दा नेमारले भने खेलेका थिएनन् । गत साता भएको मार्सेलीविरुद्धको खेलमा रातो कार्ड पाएपछि नेमारले निससँगको खेल गुमाएका थिए । उनले नेमारका कारण आफू छायाँमा पर्दै आएको भन्ने आफ्नो गुनासोलाई पनि साबित गरिदिएका छन् । नेमारबिना पनि पीएसजी बलियो छ भन्ने कुरा काभानीले गरिदिए ।


ADVERTISEMENT

# # #


निसविरुद्ध टोलीलाई जित दिलाउन काभानीले खेलको तेस्रो र ३१औं मिनेटमा गोल गरे । उनले दुवै गोल एन्जल डी मारियाको पासलाई सदुपयोग गर्दै गरेका थिए । पीएसजीका लागि काभानीले पछिल्ला १० खेलमा ११ गोल गरिसकेका छन् । पीएसजीले तेस्रो गोल भने विपक्षी खेलाडीबाट उपहार पाएको थियो । दोस्रो हाफको ५२औं मिनेटमा निसका कप्तान डान्टेले आत्मघाती गोल गरेपछि पीएसजी ३-० को जित आत्मसात् गरेको हो ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको पीएसजीले ११ खेलबाट २९ अंक जोडेको छ । पीएसजी फ्रेन्च लिग वानमा ११ खेलसम्म अपराजित रहँदै आएको छ । उसले दोस्रो स्थानको मोनाकोसँग सात अंकको अग्रता बनाएको छ । लिगको दोस्रो स्थानमा रहेको मोनाकोले १० खेलबाट २२ अंक जोडेको छ । यसैगरी १० खेल नै खेलेको नाट्सको २० अंक छ । ११ खेलबाट १० अंक जोडेको निस लिगको १४औं स्थानमा छ । – आजको अन्नपूर्णबाट