काठमाण्डौं- आउँदो हिउँदमा बढ्ने विद्युतको मागलाई ध्यानमा राख्दै नेपाल विद्युत् प्राधिकरणले टनकपुर नाकाबाट ३० मेगावाटसम्म बिजुली ल्याउने भएको छ ।
प्राधिकरणले इण्डिया पावर ट्रेड कर्पोरेसनसँग २२ देखि ३० मेगावाटसम्म बिजुली खरिद गर्ने सम्झौता नवीकरण गरेपछि आउँदो हिउँदमा यो बिजुली नेपाल भित्रिने भएको हो । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीका अनुसार टनकपुर सव स्टेसन मार्फत नेपालले यहीँ नोभेम्बर महिनादेखि जुन महिनासम्मका लागि यो बिजुली आयात गर्ने गर्छ । सुख्खा यामका पहिलो चार महिना ३० मेगावाट बिजुली नेपाल भित्रयाउने गरिन्छ । पछिल्ला महिनामा नेपालका हिमनदीमा पानीको बहाव बढ्दै जाँदा ‘रन अफ दि रिभर’ आयोजनाबाट बिजुली उत्पादन बढ्न थालेपछि बिस्तारै आयात घटाउँदै जुन महिनाको अन्त्यसम्ममा २२ मेगावाट आयात गरिने गरिएको छ । यो बिजुली प्रतियुनिट ३.४४ भारतीय रुपियाँका दरमा आयात गर्न थालिएको हो ।
टनकपुरमा ५० एमपीए क्षमताको ट्रान्सफर्मर भएकाले नेपालले बढी बिजुली आयात गर्न सकेको छैन । नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठकले टनकपुर सव स्टेसनको ट्रान्सफर्मरको क्षमता बढाउने निर्णय गरिसकेको भए पनि पावर टे«ड कर्पोरेसनले उच्च क्षमताको ट्रान्सफर्मर हालसम्म राख्न नसक्दा टनकपुर नाकाबाट बढी बिजुली आयात गर्न नसकिएको प्राधिकरणले जनाएको छ ।
यहीँ अक्टोबर महिनामा हुने भनिएको नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त बैठक नेपालको आन्तरिक राजनीतिक कारणले हुन नसकेको बताइएको छ । ऊर्जा मन्त्रालय स्रोतका अनुसार यहीँ नोभेम्बर महिनाको अन्तिम सातासम्म सचिवस्तरीय बैठक हुनसक्ने सम्भावना रहेको छ । नेपाल भारतबीचको विद्युत् खरिद बिक्री, अन्तरदेशीय प्रसारण लाइन, विद्युत् व्यापार पुनरावलोकन तथा नयाँ सम्झौताका बारे एजेन्डामा छलफल हुने र निर्णय लिन सक्ने उच्चस्तरको निकाय दुई देशको सचिवस्तरीय बैठकलाई मान्ने गरिन्छ ।
टनकपुरस्थित ट्रान्सफर्मरको क्षमता वृद्धि गर्ने विषयमा यस अघि दुई देशका सचिवस्तरीय बैठकबाट पारित भएको कुरालाई आगामी नोभेम्बर महिनामा हुने सचिवस्तरीय बैठकमा उठाइने र छिटो कार्यान्वयनमा लैजानका लागि पहल गरिने ऊर्जा मन्त्रालयले जनाएको छ ।
टनकपुर नाकाबाट हाल नेपालले महाकाली सन्धिअनुसार वार्षिक रूपमा पाउने १२ देखि १६ मेगावाट आयात भइरहेको छ । सुख्खा यामका लागि मात्र नेपालले २२ देखि ३० मेगावाट बिजुली आयात गर्न यस अघिको सम्झौता नवीकरण गरिएको हो ।
त्यसैगरी प्राधिकरणले ढल्केबर– मुजफ्फपुर प्रसारण लाइनबाट आयात गरिने बिजुलीको सम्झौता आगामी डिसेम्बर महिनासम्मका लागि नवीकरण गरिएको छ । ढल्केबर सव स्टेसनलाई २२० केभी बनाउन नसकिएकोले यो हिउँदमा थप बिजुली यो नाकाबाट आयात गर्न नसकिने भएको प्राधिकरणले जनाएको छ ।
सव स्टेसनको क्षमता वृद्धि गर्ने चिनियाँ कम्पनीसँगको सम्झौता रद्द गरिएपछि अब कम्तिमा दुई महिनामा सव स्टेसनको बाँकी काम सम्पन्न हुने प्राधिकरणले जनाएको छ । हाल यो प्रसारण लाइनबाट १६० मेगावाट आयात गरिएको भनिए पनि वास्तवमा १४० देखि १४५ मेगावाट बिजुली मात्र आयात हुने गरेको छ । हाल विभिन्न विद्युतीय नाका भएर भारतबाट ३४० मेगावाट बिजुली भित्रिरहेको छ । – गोरखापत्र अनलाइनबाट


ADVERTISEMENT