काठमाडौँ – सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएको छ ।


ADVERTISEMENT


प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले उक्त फैसला सुनाएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रिपति विद्यादेवी भण्डारीको निर्णयलाई सर्वोच्चले असंवैधानिक भन्दै बदर गरिदिएको हो ।


ADVERTISEMENT

# # #


आदेशमा भनिएको छ, ‘विवादित विघटन कार्य ७६ ‘५’ को र उपधारा ७ मा रहेको प्रावधान संविधानले अंगीकार गरेको लोकतान्त्रिक आदर्श र संविधानवाद अनुकूल हुन आएन ।२०७७/११/११ मा गरेको अदालतको व्याख्या र मर्म अनुकूल पनि आएको देखिएन । यस्तो विघटनलाई संवैधानिक मान्दा देउवासमेतका १४९ जनाले गरेको दाबी पुग्न नसक्ने भन्दै राष्ट्रपतिबाट भएको निर्णय संविधान अनुकूल भएको पाइएन ।’

गत जेठ ७ गते मध्यरातमा प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रिपति विद्यादेवी भण्डारीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै कात्तिक २६ र मङ्सिर ३ गते मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनर्स्थापना गरेर आफूलाई प्रधानमन्त्री बनाउनु पर्ने माग गर्दै १४६ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका थिए ।

प्रतिनिधिसभा विघटनसँग सम्बन्धित ३० वटा निवेदन सर्वोच्च अदालतमा परेका थिए ।

सर्वोच्चले संसद विघटन गर्ने प्रधानमन्त्री ओलीको दोस्रो प्रयासलाई पनि असफल तुल्याइदिएको छ । यसअघि ओलीले गन पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्चले फागनु ११ गते प्रतिनिधिसभा पुनर्स्थापना गरिदिएको थियो ।

विघटन अघिको पृष्ठभूमि

प्रधानमन्त्री ओली गत वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको गुमाएर पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रिपतिले बहुमतको सरकार बनाउनका लागि दलहरुलाई आह्वान गरेकी थिइन् । तर, दलहरुले सरकार बनाउनका लागि बहुमत जुटाउन असफल भएपछि राष्ट्रिपतिले प्रधानमन्त्री ओलीलाई संविधानको धारा ७६ (३) अनुसार संसदको सबैभन्दा ठूलो दलको हैसियतले पुनः प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

तर, प्रधानमन्त्रीले संविधानको धारा ७६ (४) अनुसार विश्वासको मत नलिने बताएसँगै राष्ट्रिपतिले गत जेठ ७ गते संविधानको धारा ७६(५) अनुसार बहुमतको आधार पेश गर्दै प्रधानमन्त्रीमा दाबी गर्न प्रतिनिधिसभा सदस्यलाई आह्वान गरेकी थिइन् । सोही अनुसार देउवाले कांग्रेस, माओवादी केन्द्र, नेकपा एमाले (माधव पक्ष), जसपा (उपेन्द्र पक्ष) र राष्ट्रिय जनमोर्चाका १४९ सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गरेका थिए । यस्तै प्रधानमन्त्री ओलीले पनि एमाले र जसपाको महन्थ पक्षका सांसदकासहित प्रधानमन्त्रीमा दाबी गरेका थिए ।

राष्ट्रिपति भण्डारीले जेठ ७ गते मध्यरातमा बहुमतको स्पष्ट आधार नदेखिएको भन्दै ओली र देउवा दुबैका दाबी खारेज गर्दै प्रधानमन्त्रीमा नियुक्त गर्न अस्वीकार गरेकी थिइन् । जेठ ७ गते मध्यरातमै प्रधानमन्त्री ओलीको सिफारिसमा दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दै निर्वाचनको घोषणा गरेकी थिइन् ।

सम्बन्धित समाचार
– सर्वोच्चद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश
– सर्वोच्चद्वारा ७ दिनभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश
– सर्वोच्चले भन्यो : धारा ७६ (५)मा दलको ह्वीप लाग्दैन