काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौँ पटक देशको प्रधानमन्त्री बनेका छन् । सोमबार सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेसँगै देउवा पाँचौँ पटक देशको कार्यकारी प्रमुख बनेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीमा नियुक्त देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार पद तथा गोपनियताको शपथ खुवाएकी छन् । देउवाले सुरुमा तीन सदस्यीय मन्त्रिमण्डल बनाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने भएकाले देउवाले सुरुमा चार जना मन्त्रीमात्रै राखेर सरकारको नेतृत्व गर्ने भएका हुन् ।


ADVERTISEMENT

# # #


को हुन् देउवा ?

पिता श्रीप्रसाद देउवा र माता द्रौपदीदेवी देउवाका जेठा छोरा शेरबहादुर देउवाको जन्म वि. सं. २००३ साल जेठ ३१ गते डडेल्धुराको असीग्राम गाविस–५ रुवाखोला (हालको गन्यापधुरा गाउँपालिका)मा भएको हो । देउवाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर, कानुनमा स्नातक गरेका छन् । यस्तै उनले बेलायत लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो समेत हुन् ।

राणा खलककी आरजु राणा (दउवा)सँग विवाह गरेका देउवाका एक छोरा जयवीर देउवा रहेका छन् ।

नेविसंघ अध्यक्षदेखि कांग्रेस सभापतिसम्म

वि.सं. २०१७ सालको राजनीतिक घटनापछि कांग्रेसका संस्थापक नेता विपी कोइरालाको प्रेरणाले प्रजातान्त्रिक आन्दोलनमा होमिएका देउवा कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघका संस्थापक सदस्य हुन् । देउवाको राजनीतिक यात्रा वि.सं. २०२२ सालमा सुदूरपश्चिमाञ्चल विद्यार्थी संघबाट सुरु भएको हो । उनी वि. सं. २०२८ मा उनी नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको सभापतिमा चुनिएका थिए । पञ्चायतविरोधी राजनीति गर्दा देउवाले पटक–पटक गरी करिब ९ वर्ष जेलजीवन बिताएका थिए ।

देउवा पहिलो पटक वि. सं २०४८ सालको संसदीय निर्वाचनमा डडेल्धुरा जिल्लाबाट निर्वाचित भएका थिए । २०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वको सरकारमा उनी गृहमन्त्री बन्न सफल भए । २०४८ सँगै २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेल्धुराबाट निर्वाचित उनी २०६४ र २०७० सालमा भएको संविधानसभाको निर्वाचनमा डडेल्धुराका साथै कञ्चनपुर र कैलालीबाट समेत विजयी भएका थिए । यस्तै २०७४ को निर्वाचनमा उनी डडेधुराबाट निर्वाचित भएका थिए ।

गिरिजाप्रसाद कोइरालासँगको अन्तर्द्वन्द्वका कारण उनले २०५९ सालमा नेपाली कांग्रेससलाई फुटाएर नेपाली कांग्रेस (प्रजातान्त्रिक) गठन गरेर त्यसको सभापति भएका थिए। २०६२–६३ सालको जनआन्दोलनपछि २०६४ सालमा देउवाको उक्त पार्टी पुनः नेपाली कांग्रेसमा एकीकृत भएको थियो । ०६४ मा कांग्रेस र कांग्रेस (प्रजातान्त्रिक)को एकतापछि उनी वरिष्ठ नेता भएका थिए ।

२०७२ साल फागुनमा सम्पन्न नेपाली कांग्रेसको १३ औँ महाअधिवेशनमा रामचन्द्र पौडेललाई हराउँदै उनी पहिलो पटक सभापतिमा निर्वाचित भएका थिए । आगामी भदौमा हुने पार्टीको १४ औँ महाधिवेशनमा देउवा पुनः सभापतिको दाबीका लागि तयारी समेत गरिरहेका छन् ।

देउवाको सिंहदरबार यात्रा

पहिलो पटक

वि.सं. २०५१ सालमा एमाले नेता मनमोहन अधिकारी नेतृत्वको अल्पमतको सरकार ढलेपछि नेपाली कांग्रेसको संसदीय दलको नेताका हैसियतले वि.सं. २०५२ भदौ २७ गते  पहिलो पटक संयुक्त सरकारको प्रधानमन्त्री बन्न सफल भएका थिए । २०५२ सालमा देउवा नै प्रधानमन्त्री भएका बेला बाबुराम भट्टराई लगायतले ४० बुँदे मागपत्र बुझाएका थिए । त्यो पूरा नभएको भन्दै त्यसै वर्ष फागुन १ गतेदेखि माओवादीले देशमा सशस्त्र विद्रोह सुरु गरेको थियो।

१७ महिना शासन गरेपछि देउवा २०५३ फागुन २९ गते पदमुक्त भएका थिए ।

दोस्रो पटक

२०५८ जेठ १९ गते राजा वीरेन्द्रको वंशनाश हुने गरी भएको दरबार हत्याकाण्डपछि तत्कालीन प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाले राजीनामा दिए । त्यसपछि सुशील कोइरालालाई हराउँदै नेपाली कांग्रेसको संसदीय दलको नेता बनेका देउवाले  २०५८ साउन ११ मा  प्रधानमन्त्रीका रुपमा दोस्रोपटक सिंहदरबारको यात्रा तय गरे ।

पहिलोपटक प्रधानमन्त्री बनेको ६ वर्षपछि प्रधानमन्त्री बनेका उनलाई १४ महिनापछि २०५९ असोज १८ मा तत्कालीन राजा ज्ञानेन्द्र शाहले पदबाट बर्खास्त गरेका थिए ।

तेस्रो पटक

प्रधानमन्त्री देउवा २०६१ जेठ २१ गते तेस्रोपटक प्रधानमन्त्री भए । तर, तत्कालीन राजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री देउवालाई असक्षम भन्दै २०६१ माघ १९ गते पुनः पदबाट बर्खास्त गर्दै शासन व्यवस्था आफ्नो हातमा लिएका थिए । यही कारण देउवालाई उनका आलोचकहरुले ‘प्रजातन्त्र दरबारलाई लगेर बुझाएको’ भन्ने आरोप लगाउँदै आएका छन् । ज्ञानेन्द्रले ‘कू’ गरपछि भ्रष्टाचार नियन्त्रण गर्ने भन्दै शाही आयोग गठन गरे ।

देउवा उक्त आयोगको निशानामा परे । आयोगलाई अवैधानिक भन्दै बयान दिन अस्वीकार गरेपछि भ्रष्टाचारको अभियोगमा पक्राउ परेका थिए । तर, सर्वोच्चले उक्त आयोग खारेज गरेसँगै उनी रिहा भएका थिए ।

चौथो पटक

तत्कालीन प्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ले पूर्वसहमति अनुसार सत्ता हस्तान्तरण गरेसँगै चौथो पटक देउवा २०७४ जेठ २४ गते प्रधानमन्त्री बनेका थिए । उनले आफ्नै नेतृत्वमा स्थानीय, प्रदेश र संघीय निर्वाचन सम्पन्न गरेका थिए । तर, निर्वाचनमा नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त गठबन्धनले बहुमत ल्याएपछि एमाले अध्यक्ष केपी शर्माओलीलाई उनले २०७४ फागुन ३ गते सत्ता सुम्पिएका थिए ।

पाँचौँ पटक

सर्वोच्च अदालतले असार २८ गते (हिजो) संसद विघटनलाई बदर गर्दै देउवालाई २८ घण्टाभित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दियो । सोही अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई असार २९ गते (आज) प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । नेपालको इतिहासमै पहिलो पटक अदालतको आदेशबाट देउवा प्रधानमन्त्री बनेका हुन् ।

यससँगै देउवाले आफ्नो जीवनकालमा प्रधानमन्त्रीका रुपमा पाँचौँ पटक सिंहदरबारको यात्रा तय गरेका छन् । देउवा नेपालमा पाँचौँ पटक प्रधानमन्त्री बन्ने तेस्रो व्यक्ति बनेका छन् । यसअघि सूर्यबहादुर थापा र गिरिजा प्रसाद कोइराला पनि पाँच–पाँच पटक प्रधानमन्त्री बनेका थिए ।