काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा संसदले नै आवश्यक निर्णय गर्ने बताएका छन् ।


ADVERTISEMENT


शुक्रबार सिंहदरबारस्थित अर्थमन्त्रायलमा पत्रकारसंगको छलफलका क्रममा अध्यादेशमार्फत आएको बजेटलगायतको विषयमा सदनमा प्रस्तुत हुने भएकाले त्यो सदनले नै निर्णय गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले भने, ‘संसद ३ गते बोलाइएको छ । त्यहाँ यसलाई (बजेट सम्बन्धी अध्यादेश)लाई प्रस्तुत गरिँदैछ । त्यहाँ छलफल भएर कसरी अघि बढ्छ, स्वीकार, अस्वीकार के हुन्छ भन्ने संसदले नै टुंगो लगाउने छ ।’

उनले मुलुकको पछिल्लो आर्थिक अवस्थालाई विष्लेषण गरेर श्वेतपत्र ल्याउने जानकारी पनि दिए । उनले अहिले आफू अर्थतन्त्रको अध्ययनको क्रममा रहेको जानकारी दिए । उनले सबै वस्तुस्थिति बुझेर केही दिनभित्रैमा अर्थतन्त्रको समग्र अवस्थाबारे श्वेत पत्र गर्ने प्रतिबद्धता जनाए । सोही क्रममा सरकारको समग्र भावी योजनासमेत सँगसँगै सार्वजनिक गर्ने पनि उनले बताए।

अर्थमन्त्री शर्माले अहिलेको परिस्थितिलाई सहज र आर्थिक क्रियाकलापलाई चलायमान गराउँदै गत वर्षको कमीकमजोरीलाई समेत सच्याएर अघि बढ्ने क्रममा मन्त्रालय रहेकोसमेत उनले उल्लेख गरे ।

कार्यक्रममा अर्थसचिव शिशिर कुमार ढुङ्गानाले मुलुकको वर्तमान बजेटको अवस्थाका बारेमा जानकारी गराए । अर्थ मन्त्रालयले पुँजी बजारलगायतका समस्या रहेको जानकारी गराउँदै त्यसलाई सर्वसाधारण जनताको हितमा हुने गरी कसरी काम गर्न सकिन्छ भनेर योजना निर्माण गर्ने पनि जनाएको छ ।