पोखरा– राष्ट्रिय मानवाधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकार उल्लंघनका घटनामा पीडितलाई राहत दिन आयोगले जस्तोसुकै दबाबमूलक कार्यक्रम गर्न सक्ने बताएका छन् ।


ADVERTISEMENT


राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखराको आयोजनामा आजदेखि यहाँ शुरु भएको अपाङ्गता भएका व्यक्तिको मानवअधिकारको अवस्था विषयक दुईदिने प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उनले राज्य पक्ष वा गैरराज्य पक्षबाट जोसुकैबाट हुने त्यस्ता घटनामा अधिकारकर्मीसँग हातेमालो गर्दै दबाब दिन आयोग अग्रपंक्तिमा रहने विश्वास दिलाए ।


ADVERTISEMENT

# # #


नयाँ बन्ने पूर्वाधारका हरेक संरचना अपाङ्गमैत्री हुनुपर्नेमा जोड दिँदै अध्यक्ष शर्माले मानवको खान मात्रै नभई सम्मानपूर्वक बाँच्ने पनि अधिकार सुनिश्चित हुनु पर्नेमा जोड दिए ।

अध्यक्ष शर्माले आयोगको परिसरमा अपाङ्गमैत्री एउटा ‘डेक्स’ निर्माण गर्ने र यसले सबै प्रकारका अपाङ्गको हक र अधिकारका लागि सहज हुने बताए ।

उनले निकट भविष्यमा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनले लामो समयको संक्रमणकालको अन्त्यसँगै आर्थिक समृद्धि र विकासको बाटोमा देश अघि बढ्ने विश्वास व्यक्त गरे ।

पोखरा–लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अपाङ्गता भएका व्यक्तिलाई महानगरले निःशुल्क सेवा दिने गरेको जानकारी गराउँदै उनीहरुले भोग्दै आएका समस्या समाधानमा आफूले विशेषरुपले सहयोग गर्ने वचनबद्धता व्यक्त गरे ।

उच्च अदालत पोखराका मुख्य न्यायाधीश कुमार चुडालले सम्मेलनबाट प्राप्त सुझावले अपाङ्गहरुले भोग्नु परेका समस्या समाधानमा आधारपत्र तयार पार्ने विचार व्यक्त गरे ।

राष्ट्रिय मानव अधिकार आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयका निमित्त निर्देशक नितु बर्तौलाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, राष्ट्रिय अपाङ्ग महासंघका अध्यक्ष सुदर्शन सुवेदी, महिला तथा बालबालिका कार्यालयका प्रमुख लक्ष्मी जिसी, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, उच्च बार एशोसिएसनका अध्यक्ष दयाराम गौतम, आयोगका वीरबहादुर बुढामगरलगायतले सम्मेलनको महत्वमाथि प्रकाश पारेका थिए ।