काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभामा विश्वासको मत पाउँ भनी गरेको प्रस्तावको पक्षमा १६५ जना सांसदले मत दिएका छन् । २४९ जना उपस्थित रहेको आजको सांसद बैठकमा देउवाको विपक्षमा एमाले अध्यक्ष केपी ओली समूहका ८३ सांसदले मतदान गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्रधानमन्त्री देउवाको पक्षमा कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, नेकपा एमालेका माधव नेपाल र केपी ओली समूहका केही सांसदले विश्वासको मत दिएका हुन् । एक जना सांसद भने तटस्थ रहेका छन् ।


ADVERTISEMENT

# # #


तत्कालीन प्रधानमन्त्री केपी शर्माओलीले राष्ट्रपति विद्यादेवी भण्डारीमार्फत जेठ ७ गते राती दोस्रो पटक प्रतिनिधिसभा विघटन गरेका थिए । तर, सर्वोच्च अदालतको संवैधानिक इजलासले उक्त निर्णय असंवैधानिक रहेको भन्दै संसद पुनर्स्थापना गरेको थियो ।

सर्वोच्चले सात दिनभित्र बैठक बोलाउन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको थियो । राष्ट्रिपति विद्यादेवी भण्डारीले देउवालाई असार २९ गते प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

नियुक्त भएको ३० दिनभित्र प्रतिनिधिसभामा विश्वासको मत लिनुपर्ने व्यवस्था भए पनि देउवाले एक हप्तामै विश्वासको मत लिन सफल भएका हुन् ।