काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आउँदो चैत्र मसान्तसम्ममा सबै नागरिकलाई खोप दिइसक्ने बताएको छ ।


ADVERTISEMENT


आफ्नो पदमा नियुक्त भएपछि आज पहिलो पटक  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै कोभिड–१९ नियन्त्रणका बारेमा बोल्ने क्रममा राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको प्रतिबद्वता अनुसार, असोजसम्म १ तिहाइ र चैत्रसम्ममा सबै नागरिकलाई खोप वितरण गरिसक्ने जनाएको हो ।


ADVERTISEMENT

# # #


यस्तै, कुटनितिक खोपलाई प्राथमिकता दिने जनाउँदै उनले २ साताभित्र जापान सरकारबाट प्राप्त हुने १३ लाख ४८ हजार खोप आएको तीन दिनभित्र नै ज्येष्ठ नागरिकमा वितरण गरिने बताएका छन् ।

‘कोभिशिल्डको पहिलो डोज लगाएर दोस्रो मात्रा पर्खेर बसेका ज्येष्ठ नागरिकलाई जापानले पठाउने एस्ट्रेजेनेकाको खोप आएको तीनदिन भित्र नै वितरण गर्नेछौ’, उनले भने ।

जापानबाट प्राप्त हुने भनिएको खोप जापानले ओलम्पिक खेल सक्ने बित्तिकै पठाउने जानकारी प्राप्त भएको मन्त्रालयका प्रवत्ता डा. कृष्ण पौडेलले बताए । यस्तै, तेस्रो लहरको महामारीको सम्भावना र तत्कालै खोप उपलब्ध नभएका कारण यसबाट प्रभावित हुने भनिएको बालबालिकालाई लक्षित गर्दै त्यसको निम्ति समेत आवश्यक तयारी थालिएको डा. पौडेलको भनाई छ ।

उनका अनुसार, हाल देशभर बालबालिकाका लागि १ सय २ आईसीयु बेड रहेका छन् । यस्तै, मन्त्रालयले नेपाल सरकारले निर्देशन दिएअनुरुप २० प्रतिशत आइसियु र एचडियु बेड विस्तार गर्ने  कार्य भइरहेका छन् ।

१ करोड ५० लाख खोप प्रक्रिया शुरु

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले तत्कालका लागि कुटनितिक खोप अन्तर्गत १ करोड ५० लाख खोप खरीद प्रक्रिया अघि बढाइएको बताएका छन् । उनका अनुसार, यसअन्तर्गत मन्त्रालयले वयस्क तथा किशोरकिशोरीलाई लक्षित गरी मोडर्ना खोप ४० लाख, जोन्सन खोप ५० लाख, फाइजर ४० लाख, एस्ट्रेजेनेका २० लाख गरी कुल एक करोड ५० लाख खरीद प्रक्रिया शुरु गरिसकेको छ ।

यस्तै, खोप खरीदका लागि नेपाल सरकार र एसियाली बैंकका बीचमा १ सय ६५ मिलियन अमेरिकी डलरको ऋण सहायता स्वीकृतिको चरणमा रहेको उनले जानकारी दिए ।

यसैगरि, स्वास्थ्य–राज्यमन्त्री श्रेष्ठले कोभिड–१९ विरुद्वको खोपको नेपालमै व्यवसायिक उत्पादनको सम्भावित योजनालाई समेत अघि बढाएको जनाए ।

वीर अस्पताल झपडको विषय छुट्टै समिति बनाएर छलफल गरिने

मन्त्रालयले वीर अस्पतालमा आइतबार स्वास्थ्यकर्मी र प्रहरीबीच भएको झपडको घटनामा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।

स्वास्थ्य भत्ता माग्दा प्रहरीद्वारा स्वास्थ्यकर्मी माथि लाठीचार्ज भएको भनिएको सो घटनालाई लिएर मन्त्रालयले यससम्बन्धि छुट्टै समिति बनाएर के कसो आधारमा सो घटना भएको हो? त्यसबारे थप अनुसन्धान गर्ने जनाएको छ ।