काठमाण्डौं -प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मुखमा दुई ठूला दलको नेतृत्वमा गठित राजनीतिक गठबन्धनले वैचारिक रूपमै राजनीतिक ध्रुवीकरण बढाउने देखिएको छ । कांग्रेसले मंगलबार जारी गरेको चुनावी घोषणापत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धनलाई चुनावी तालमेलका रूपमा मात्रै सीमित राखिएको छैन, एकदलीय साम्यवादी कम्युनिस्ट शासन स्थापना गर्ने लक्ष्यसाथ यस्तो गठबन्धन गरिएको निष्कर्ष निकाल्दै त्यसविरुद्ध एक ठाउँमा उभिन आम लोकतन्त्रवादीलाई आहवान गरिएको छ । यसले दुई गठबन्धन शक्तिबीच वैचारिक ध्रुवीकरण तीव्र हुने संकेत गरेको छ ।


ADVERTISEMENT


घोषणापत्र निर्माण समितिका संयोजक नेता महेश आचार्यले कम्युनिस्ट गठबन्धनकै कारण मुलुकमा सैद्धान्तिक र दार्शनिक ध्रुवीकरण बढ्ने खतरा देखिएको बताए । उनले दुई विशाल छिमेकी भारत र चीनबीच रहेको मुलुकमा गैरकम्युनिस्ट, प्रगतिशील, राष्ट्रवादी शक्तिहरू र कठोर साम्यवादी दर्शन लिएका शक्तिको टक्करले नेपाली राजनीति फेरि विवादको भुमरीमा फस्ने चिन्ता देखिएको बताए । आफ्नै नेतृत्वको सरकारको मुख्य सत्ता साझेदार माओवादी केन्द्रको एमालेसँगको एकता साम्यवादी शासन स्थापना गर्ने लक्ष्यसाथ नै भएको ठम्याइ कांग्रेसको छ । एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्म पुग्ने गरी चुनावी गठबन्धन बनेयता नेताहरूका अभिव्यक्तिलाई लिएर कांग्रेस यस्तो निक्र्योलमा पुगेको हो ।


ADVERTISEMENT

# # #


एमाले र माओवादी केन्द्रका नेताहरूले वामपन्थी गठबन्धनद्वारा दुई तिहाइ ल्याई संविधान संशोधनमार्फत राजनीतिलाई स्थायित्व दिन राष्ट्रपतीय प्रणालीमा जानुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । यसबाट कांग्रेस झस्किएको मात्र छैन, यसैलाई चुनावको मुख्य मुद्दा बनाउने निष्कर्षमा पुगेको छ । कांग्रेसले आफ्नो घोषणापत्रमै ‘कम्युनिस्ट गठबन्धनका नेता र योजनाकारहरूले संविधानका आधारभूत लोकतान्त्रिक मूल्य पद्धति र शासन प्रणालीलाई संशोधन गर्दै प्रत्यक्ष राष्ट्रपतीय प्रणालीका माध्यमबाट एकदलीय कम्युनिस्ट पार्टीद्वारा सत्ता नियन्त्रण गर्ने र साम्यवाद स्थापना गर्ने उद्देश्य राखेको’ उल्लेख गरेको छ ।

-लोकतान्त्रिक शक्तिको मत आकर्षित गर्न
– गुटरउपगुटमा विभाजित कार्यकर्तालाई एक ठाउँमा ल्याउन
– कम्युनिस्ट गठबन्धनविरुद्ध विश्वको ध्यान खिच्न
राजधानीमा मंगलबार आयोजित घोषणापत्र सार्वजनिक कार्यक्रममा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले कम्युनिस्ट गठबन्धनलाई लोकतन्त्रविरोधी शक्तिहरूको गठजोडका रूपमा व्याख्या गरे । ‘यो गठबन्धनले मुलुकलाई अधिनायकवादतिर लैजाने प्रयास गरेको छ,’ देउवाको भनाइ थियो, ‘कम्युनिस्ट शासन आयो भने डर र त्रासको शासन चल्ने छ । साँच्चै न्याय पाइएन भनेर रुन पनि पाइने छैन ।’ कम्युनिस्ट गठबन्धन निर्माण भइसकेपछि कांग्रेसले ध्रुवीकरणतिर जाँदा विश्वको ध्यान तान्न सकिने र त्यसले लोकतान्त्रिक शक्तिको मत आकर्षित गर्न सकिने आकलन गरेको छ । कांग्रेसलाई मन नपराउने तर आफूलाई लोकतान्त्रिक भन्नेहरूको ठूलै जमात मुलुकभर छरिएको छ । जसलाई आकर्षित गर्न कांग्रेसले कम्युनिस्ट गठबन्धनविरुद्ध वैचारिक रूपमै आक्रामक हुने रणनीति लिएको हो ।

अर्को पक्ष कम्युनिस्ट गठबन्धनले कांग्रेसलाई एकजुट बनाएको छ । पार्टीभित्र आधा दर्जन बढी गुट/उपगुटमा विभक्त कांग्रेस यतिबेला एकताबद्ध रूपमा अघि बढेको छ । यो एकतालाई कार्यकर्ता पंक्तिसम्म पुर्‍याउन सफल भए धेरै उपलब्धि हासिल गर्न सकिने आसमा कांग्रेस छ ।

घोषणापत्रमा भने कांग्रेसले सबै राजनीतिक दललाई सहमति, मेलमिलाप र सहकार्यको बाटोबाट हिँडाउन कांग्रेस मध्यमार्गी पार्टीका रूपमा रहने उल्लेख गरेको छ । ‘कसैलाई कांग्रेस मन परोस् या नपरोस्, देशका लागि कांग्रेसको आवश्यकता भइसक्यो,’ देउवाले भने, ‘मानव अधिकार, स्वतन्त्र प्रेस, स्वाभिमान बचाउनका लागि सबै लोकतन्त्रवादीलाई आउन म अपिल गर्छु ।’ राणा शासन, पञ्चायती व्यवस्था र राजा ज्ञानेन्द्रको निरंकुश शासन फाल्ने नेतृत्व गरेको कांग्रेसले कम्युनिस्टको एकदलीय साम्यवादी शासन लाद्न नदिने उद्घोष गर्दै देउवाले भने, ‘लोकतन्त्र र अहिलेका उपलब्धिको रक्षा गर्ने शक्ति कांग्रेसबाहेक अर्को छैन ।’ उनले हिमाल, पहाड र मधेसबीच विभाजन ल्याउने र जनतालाई भिडाउने काम एमालेले गर्दै आएको भन्दै नेपाल राष्ट्रलाई जोड्ने काम पनि कांग्रेसले गर्ने बताए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि कम्युनिस्ट गठबन्धनले व्यवस्था नै परिवर्तन गर्न खोजेको बताए । ‘हिजो संविधान जलाउने दलहरूले बरु संविधानको मौलिक विषयमा प्रश्न उठाएका थिएनन् तर संविधान जारी गरेका एमाले र माओवादी केन्द्रले संविधानको मौलिक पक्ष नै बदलेर साम्यवाद स्थापना गर्ने उद्घोष गरेका छन्,’ उनले भने, ‘साम्यवाद ल्याउन नदिन हामीले त्यसविरुद्ध डटेर सामना गर्नुपर्छ ।’ कम्युनिस्ट गठबन्धनले दुई तिहाइ ल्याए एकदलीय शासन सुरु हुने बताउँदै पौडेलले थपे, ‘टुंगो लागिसकेको राजनीतिक व्यवस्थामा खलल पुर्‍याएर नेपाललाई सधैं अस्थिर बनाउने काम कम्युनिस्टहरूले गर्न खोज्दै छन् । अब कुनै पनि आवरणमा ल्याउन खोजिएको तानाशाहलाई सफल हुन दिनेछैनौं ।’

महामन्त्री शशांक कोइरालाले पनि कम्युनिस्टहरू एकैठाउँमा उभिनुलाई षड्यन्त्रका रूपमा लिए । ‘यो गठबन्धनले ठूलो चुनौती ल्याएको छ,’ उनले भने, ‘यसलाई कांग्रेस एक भएर सामना गर्नुपर्छ ।’ घोषणापत्र निर्माण समितिका संयोजक आचार्यले २००७ सालको क्रान्तिदेखि संविधान जारी गर्दासम्मको ऐतिहासिक पृष्ठभूमि र कांग्रेस नेतृत्वको सरकारले ल्याएका उपलब्धिहरूको लामो व्याख्या गरेका थिए । उनले पनि कम्युनिस्ट गठबन्धन समावेशी र लोकतान्त्रिक प्रतिस्पर्धाभन्दा पनि साम्यवाद ल्याउने बाटोतिर उन्मुख देखिएकाले कांग्रेसले चिन्ता लिएको बताए । ‘कम्युनिस्टहरूले लिएको बाटो गलत छ,’ आचार्यले भने, ‘विश्वले फालिसकेको साम्यवादी शासनलाई नेपालमा प्रयोग गर्न खोज्नु नै उनीहरूको ठूलो भूल हो । – आजको कान्तिपुरबाट