काठमाडौं – नेपाली सेनाले प्रतिनिधि र प्रदेशसभाको आसन्न निर्वाचन सुरक्षा चुनौतीलाई ख्याल गर्दै मतदानस्थलसहित संवेदनशील ठानिएका स्थानमा सूक्ष्म निगरानी बढाएको छ । त्यसका लागि सेनाले पल्टनलाई नियमित पेट्रोलिङ गर्न निर्देशन दिएको छ ।


ADVERTISEMENT


स्थान विशेषको सुरक्षा चुनौतीका आधारमा निर्वाचन केन्द्रित सेनाको सुरक्षा फौजले मतदानस्थल र त्यस आसपास क्षेत्रमा पेट्रोलिङ थालेको हो । प्रतिनिधि र प्रदेशसभाका लागि सेनाले ६४ हजार २० जना सैनिक खटाउने भएको छ । निष्पक्ष र भयरहित निर्वाचन गराउन सेनाले उपत्यकासहितका आठवटै पृतना कार्यालयलाई सक्रिय बनाएको छ । सेनाले निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै बम डिस्पोजल टोली, प्रत्येक पृतनामा हेलिकोप्टर र आवश्यक फौजलाई तैनाथ अवस्थामा राखेको छ ।


ADVERTISEMENT

# # #


सेनाले मुलुकको पछिल्लो राजनीति, निर्वाचन र सुरक्षा अवस्थाबारे छलफल गर्न पृतनापतिहरूको बैठक बोलाएको छ । जंगी अड्डामा यही बिहीबार र शुक्रबार हुने बैठकमा आठवटै पृतानापतिले आआफ्नो क्षेत्रको रिपोर्टिङ गर्नेछन् । सेनाको सुरक्षा घेरामा मतपत्र छापिरहेको छ भने स्थानीय तहमा ती मतपत्र पुर्‍याउने जिम्मेवारीसमेत नेपाली सेनाले लिएको थियो । मतदान केन्द्रमा तेस्रो सुरक्षा घेरामा रहने सेनाले मतपेटिका जिल्लासम्म लैजानेछ । सैनिक प्रवक्ता सहायक रथी नैनराज दाहालले भयरहित निर्वाचन गराउन नेपाली सेना तयारी अवस्थामा रहेको बताए ।

प्रवक्ता दाहालले भने, ‘हाम्रा फौजले पेट्रोलिङ सुरु गरिसकेका छन् । निर्वाचन सुरक्षाका लागि कुनै कसर बाँकी राख्दैनौं ।’निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउन जस्तोसुकै सहयोग गर्न नेपाली सेना तयार रहेको दाहालको भनाइ थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मंसिर १० र २१ गतेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न गत बुधबार सेना परिचालन गर्न सरकारलाई स्वीकृति दिएकी थिइन् । प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचन सुरक्षा योजना ०७४ मा व्यवस्था भएअनुसार सुरक्षा निकायहरू एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न राष्ट्रपति भण्डारीले सरकारलाई स्वीकृति दिएकी हुन् । सेनाले संभावित सुरक्षा चुनौतीलाई आँकलन गर्दै उपत्यकासहितका आठवटै पृतनामा हेलिकोप्टर तयारी अवस्थामा राखेको छ ।

पृतना मातहतका क्षेत्रमा केही घटना भइहाले तत्काल हेलिकोप्टरबाट फौज पठाउन सेनाले हेलिकोप्टर तयारी गरेको हो । निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै सेनाले प्रत्येक जिल्लामा ‘क्विक रेस्पोन्स टिम’ तैनाथी अवस्थामा राख्ने र थप फौज आवश्यक परे बाहिनीबाट सहयोग माग्ने सैनिक मुख्यालयले तयार गरेको सुरक्षा योजनामा उल्लेख छ । निर्वाचनको केही दिन अघिबाट सेनाले हेलिकोप्टरबाट समेत रेकी गर्ने तयारी गरेको छ ।

सेनाले संवेदनशीलताका आधारमा निर्वाचन इलाकामा रिमोट कन्ट्रोलसहितको बम डिस्पोजल टोली तैनाथ गर्नेछ । कम संवेदनशील स्थानमा सेमी रिमोट कन्ट्रोलसहितको डिस्पोजल टोली र सामान्य अवस्था ठानिएका मतदान केन्द्रमा सामान्य प्रकारको डिस्पोजल टोली खटिनेछन् ।

गृह मन्त्रालयले सेनासहित प्रहरी, राष्ट्रिय अनुसन्धान विभाग र सशस्त्र प्रहरी सम्मिलित निर्वाचन सुरक्षा योजना बनाई कार्यान्वयनमा ल्याइसकेको छ । सेनाले निर्वाचनका बेला हुने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित मुलुकभरका विमानस्थल, कारागार, दूरसञ्चार टावर, ठूला जलविद्युत् आयोजना र सार्वजनिक ओहोदामा बसेका विशिष्ट व्यक्तिलाई (भीभीआईपी) थप सुरक्षा उपलब्ध गराउने तयारी गरेको छ ।

कारागार, विमानस्थललगायत स्थानमा अहिले खटिएका प्रहरीलाई निर्वाचनमा पठाएपछि त्यहाँको सुरक्षाको जिम्मेवारीसमेत नेपाली सेनाले सम्हाल्नेछ । सेनाले स्थानीय निर्वाचनका बेलासमेत विमानस्थललगायत संवेदनशील निकायमा सुरक्षा दिँदै आएको थियो । निर्वाचनका बेला कारागार, विमानस्थललगायत स्थानमा खानतलासी गर्नुबाहेकका अन्य सुरक्षा सेनाले उपलब्ध गराउनेछ । – आजको अन्नपूर्णबाट