काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्काले मंगलबार सामाजिक सञ्जालमार्फत अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरे ।


ADVERTISEMENT


नेपाली क्रिकेट समर्थकका लागि यो एक अप्रत्याशित समाचार थियो, जसरी पारसले करिब दुई वर्षअघि राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएर समर्थकलाई ‘दुःखद सरप्राइज’ दिएका थिए । करिब १० वर्ष राष्ट्रिय क्रिकेट टोलीको कप्तानी गरेका पारसले १७ वर्ष लामो आफ्नो खेल जीवनलाई टुंग्याएका छन् । सन् १९८७ अक्टोबर ४ मा जन्मिएका पारसले ३४ वर्षको उमेरमै सन्यास लिएका हुन् ।


ADVERTISEMENT

# # #


दुई वर्षअघि आजकै दिन नेपालले आफ्नो पहिलो ऐतिहासिक एकदिवीय सिरिज नेदरल्याण्डसँग बराबरी गरेको थियो । सिरिजको दोस्रो तथा अन्तिम खेलमा पारसले अन्तिम ओभरको अन्तिम बेलमा नेदरल्याण्डका ब्याट्सम्यानलाई आफै बलिङ गरेर आफै रन आउट पार्दै नेपाललाई ऐतिहासिक जित दिलाएका थिए । त्यही दिनको अवसर पारेर पारसले सन्यासको घोषणा गरेका छन् ।

सन्यास घोषणा गर्दै पारसले भनेका छन, ‘सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।’

नेपाली खेल क्षेत्रकै सफल र चर्चित खेलाडी पारसले डिभिजन ५ मा रहेको नेपाली क्रिकेटलाई ऐतिहासिक रुपमा टी–२० विश्वकप र एक दिवसीय मान्यतासम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका छन् ।

नेपाली क्रिकेटमा पारस युगको अन्त्य

नेपाली क्रिकेट इतिहासकै सफल कप्तान पारसले नेपाललाई ऐतिहासिक उपलब्धी दिलाएका छन् । उनको सन्याससँगै नेपाली क्रिकेटमा एउटा अध्यायको अन्त्य भएको छ ।

अन्तिम बलमा पनि खेललाई आफ्नो पक्षमा ढाल्न सक्ने क्षमता भएका पारसले नेपालका लागि १० वटा एकदिवसीय, ३३ वटा टी–२० अन्तर्राष्ट्रिय र ४४ वटा ‘लिस्ट ए’ खेल खेलेका छन् । उनले नेपालका लागि पाँच वटा शतक प्रहार गरेका छन् । जुन नेपाली क्रिकेट खेलाडीले बनाएको सर्वाधिक शतक संख्या हो ।

यस्तै पारसले नेपालका लागि एकदिवसीय र टी–२० अन्तर्राष्ट्रियमा शतक प्रहार गर्ने पहिलो खेलाडीको कीर्तिमान पनि आफ्नै नाममा लेखाएका छन् ।  सन् २००४ मा राष्ट्रिय क्रिकेट टोलीमा डेब्यू गरेका पारसले सन् २००९ देखि २०१९ सम्म नेपाली टोलीको कप्तानी गरे । पारस एशोसिएट्समा सर्वाधिक लामो समय टिमको कप्तान गर्ने खेलाडी समेत हुन् ।

बामे सर्दै गरेको नेपाली क्रिकेटलाई पारसले आफ्नै नेतृत्वमो एकदिवसीय राष्ट्रको रुपमा परिचित गर्न सफल भए । उनले एक उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मात्र नभई आफ्नो टिमका सदस्यहरुको लागि एक कुशल कप्तान, प्रेरणाको स्रोतका रुपमा छाप छाड्न समेत सफल भए ।

पारसकै नेतृत्वमा रहँदा नेपाली टोलीले क्रिकेटको मक्का मानिने इंलग्याण्डको लर्डस् क्रिकेट मैदानमा दुई–दुई पटक खेल्ने अवसर प्राप्त गर्यो । नेपाल लर्डसमा खेल्ने पहिलो एशोसिएट्स राष्ट्रका रुपमा इतिहास बनाउन सफल भयो ।

व्यवस्थापनप्रति चरम असन्तुष्टि

पारस मैदानभित्र जसरी आक्रामक देखिन्थे, मैदानबाहिर पनि त्यत्तिकै सक्रिय रहँदै आएका थिए । क्रिकेटको विकास र खेलाडीको हितका लागि पारस आफ्ना कुरा स्पष्ट राख्न सक्थे ।

टेस्ट क्रिकेट खेल्ने आफूहरुको सपना रहेको सुनाउँदै पारसले केही पहिले भनेका थिए, ‘म अथवा हाम्रो पुस्ताभन्दा अगाडि क्रिकेटको संरचना राम्रो भइदिएको भए सायद धेरै कुराहरु परिवर्तन हुन्थ्यो होला ।’ नेपाली क्रिकेटभित्र भइरहेको विकृतिविरुद्ध पारस खुला रुपमा आवाज उठाउँदै आइरहेका थिए ।

क्रिकेट व्यवस्थापनका कारण नै नेपाली क्रिकेटले उचाईं हासिल गर्न नसकेको बताउँदै पारसले भनेका थिए, ‘क्रिकेट मात्रै खेल्नु परेको भए सायद धेरै कुरा सजिलो हुन्थ्यो । तर, क्रिकेटबाहेक धेरै कुरा व्यवस्थापन गरेर मात्रै क्रिकेट मैदानमा गएर खेल्नुपर्थ्यो ।’

चरम अनियमितता भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले नपाल क्रिकेट संघ क्यानलाई १६ अप्रिल २०१६ मा निलम्बन गर्यो । त्यसपश्चात आइसीले नेपाली क्रिकेटलाई आफै व्यवस्थापन गर्दै आएको थियो । त्यतिबेला पारसले खेलाडीको व्यवस्थापनको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका थिए ।

क्रिकेट संघको नेतृत्व गर्ने आकांक्षा

सन्यास लिँदै पारसले आगामी दिनमा नेपाल क्रिकेट संघको नेतृत्वमा आउने संकेत गरेका छन् । पहिलेदेखि नै उनले खेलाडी जीवनपछि व्यवस्थापनमा आउने खुला रुपमा बताउँदै आएका थिए ।

उनले भनेका छन्, ‘किन अहिले ? किनकि यो समयको कुरा हो । मेरो जीवनमा मैँले देखेको सपना भनेको नै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं ।’

नेपाल क्रिकेट संघको नेतृत्वमा जानका लागि कुनै पनि खेलाडीले अन्तर्राष्ट्रिय खेल खेल्न छाडेको दुई वर्ष हुनु पर्ने क्यानको विधानमा बाध्यता रहेको छ । क्यानको अहिलेको नेतृत्वको कार्यकाल वि.सं २०८० को असोजसम्म रहेको छ । त्यसपछि क्यानमा नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ ।

नेतृत्वका लागि उक्त निर्वाचन लड्ने आकांक्षा बोकेका पारसका लागि अहिले नै सन्यासको घोषणा गर्नु एक हिसाबले अपरिहार्य नै थियो ।

पारसको सन्यास घोषणा:

सम्पूर्ण नेपाली क्रिकेटका समर्थक र सरोकारवाला प्रति कृतज्ञता व्यक्त गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट मैले संन्यास लिने निर्णय लिएको छु । नेपालका लागि खेल्नु मेरो जीवनको सर्वश्रेष्ठ उपलब्धि हो ।

२००२ मा १५ वर्ष हुँदा मैले सुरु गरेको क्रिकेट यात्रामा साथ, समर्थन, माया र हौसला दिने प्रशिक्षकहरू, साथी खेलाडीहरू, प्रशंसकहरू, सरोकारवालाहरू, मिडियाकर्मी, मेरो परिवार र साथीहरू प्रति म सदैव ऋणी रहनेछु

क्रिकेटरका रूपमा मैले आफ्नो मन, वचन र कर्मले कर्तव्यनिष्ठ भई देश र नेपाली क्रिकेट जगतको उत्थानका लागि सदैव आफ्नो भूमिका निर्वाह गरें । मेरो जीवनमा मैले देखेको सपना भनेकोनै नेपाली क्रिकेटको उन्नति हो तर यसका लागि सम्पूर्ण क्रिकेट समाज र सरोकारवालाहरूको संयुक्त प्रयासको आवश्यकता छ । इमानदारिताका साथ काम गर्ने हो भने हामीले नेपाली क्रिकेटलाई अवश्य पनि एउटा नयाँ उचाइमा पुर्‍याउनेछौं।

अन्तर्राष्ट्रिय क्रिकेटरका रूपमा मेरो यात्रा टुङ्गिएको छ तर नेपाली क्रिकेटका लागि मेरो सपना भने अझै पनि बामे सर्दै छन् ।

मैदान भित्रका यी दुई दशक, जीवन रहुन्जेल, मिठो यादका रूपमा मसँग रहनेछन् । हामी सबैले मिलेर नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउनेछौं भन्ने विश्वास लिएको छु ।

तस्बिर : क्रिकइन्फो