जर्मनी –  एनआरएनए जर्मनीको निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षकी प्रत्यासी निनाम्मा राईले न्यायका लागि अपील गरेकी छन् । उनले मतदान र मतगणनाको प्रक्रिया नै निष्पक्ष नभएको भन्दै उजुरी दिएकी छन् ।


ADVERTISEMENT


गत शनिवार सम्पन्न जर्मनीको निर्वाचनमा मिलन पन्त र राईबीच अध्यक्षका लागि निर्वाचन भएको थियो । निर्वाचन राईले अत्यधिक बहुमतले जित्ने अनुमान गरिएकोमा नतिजा भने अप्रत्यासित आएको भन्दै निर्वाचन प्रक्रिया नै शंकास्पद देखिएको आरोप लागेको छ ।


ADVERTISEMENT

# # #


निर्वाचन शुरु हुनुपूर्व शुरुमा मुचुल्का उठाउनुपर्नेमा मुचुल्का नउठाइएको, मतगणना शुरु गर्दा गणना शून्यमा हुनुपर्नेमा उक्त विवरण सार्वजनिक नगरी प्रतिनिधिबिनै मतगणना शुरु गरिएको, एकै ठाउँबाट ५० भन्दा बढीले भोटिङ गरेको, १५ मिनेटभित्र नतिजा सार्वजनिक हुनुपर्नेमा अढाई घण्टापछि मात्रै नतिजा सार्वजनिक गरिएको लगायतका आरोप निर्वाचन कमिटीलाई लागेका छन् ।

धाँधलीको आरोपका विषयमा एनआएरएनए ग्लोबलका केन्द्रिय अध्यक्ष कुमार पन्तसँग हामीले सम्पर्क गर्दा उनीबाट प्रतिक्रिया आएन ।

 

के भन्छन् एनआरएनए जर्मनीका सरोकारवालाहरू ?

‘नाम र मत नै फेरबदल गरी धाँधली भयो’

विजय मोक्तान, 

पूर्व अध्यक्ष, एनआरएनए जर्मनी

No description available.

पहिलो पटक विद्युतीय प्रणालीबाट निर्वाचन भयो । अनियमितता भएको कसरी भने हरेक निर्वाचन अघि उम्मेदवारको प्रतिनिधि, निर्वाचन अधिकृत र उम्मेदवार बसेर मतगणना शुरु भयो भन्नुपर्ने हो । त्यो केही भएन । नतिजा १५ देखि २० मिनेटमा प्रकाशन गर्ने सहमति भएकोमा साढे २ घण्टा लगाइदिनुभयो ।

निर्वाचन रोकिने बित्तिकै त्यो गणना भइसकेको हुनेमा आधिकारिक मेल १५ मिनेटमा सबैको उपस्थितिमा खोलिने गरेकोमा त्यो पनि नाम फेरबदल, मत फेरबदल गर्नेगरी धाँधली गरिएको देखियो । ७ वटा क्षेत्रमा कुन क्षेत्रबाट कुन उम्मेदवारले कति मत पायो भन्नुपर्नेमा त्यो पनि भनिएन भोलिपल्ट मात्रै भनियो ।

निष्पक्ष भएको हो भने त्यो जानकारी किन नदिएको ? अनियमितता भएपछि पुनःगणनाको माग गर्न पाउने कि नपाउने ? हाम्रो माग त्यत्ति हो । हामीले जित्ने मान्छेको विरोध गरेकै छैनौँ, मत परिणामको विरोधी नै होइन हामीले खालि निर्वाचन कमिटीले गरेको प्रक्रियामा मात्रै आपत्ति जनाएका हौँ । उहाँहरुमाथि शंका छ ।

अनलाइन मत परिणाममा कसले कुन बेला गर्यो भन्ने थाहा हुन्छ तर यहाँ अरुले समेत मतदान गरेको देखिएको छ । अनलाइन भोटिङ भन्ने तीन देखि बढीमा १० जनासम्मले भोटिङ गरे भने पनि त्यो मान्न सकियो तर ५० भन्दा बढीले एकै क्षेत्र, एउटै आइपी एड्रेसबाट भोटिङ गरेको पाइएको छ । यसलाई कसरी मान्ने ? अनलाइन भन्ने सबै एकै ठाउँमा जम्मा भएर भोटिङ गर्ने हो भने प्रत्यक्ष किन नगरेको ? यो अवस्थामा कस्तो नतिजा आउँछ ? यसको स्पष्टिकरण कसले दिन्छ ? सबैले एउटै डिभाइसबाट भोटिङ गर्छ भने अनलाइन भोटिङको औचित्य के रह्यो ?

प्रमुख कुरा त के हो भने उहाँहरुले निष्पक्ष ढंगले भएको भए देखाइदिए भैगो त भन्ने हो । प्रक्रियागत रुपमा हेर्दा सबै ढंगबाट धाँधलीपूर्ण देखिन्छ । गढबढी छैन भने उहाँहरुले देखाए हुन्छ, प्रक्रियागत रुपमा नगरेकोमा हाम्रो आपत्ति छ । आइटी प्रतिनिधि को हो भन्ने सम्म जानकारी गराइएन हामीलाई । यसमा अब हामी कानूनी रुपमै अघि जान सक्छौँ, वकिल लगाएर मुद्दा दर्ता गर्ने तयारी गरेका छौँ ।

 

‘न्यूनतम निर्वाचन प्रक्रियासम्म पूरा गरिएन, अदालत जानुपर्ने अवस्था छ’

चन्द्रकान्त आचार्य

अध्यक्ष, प्रवासी नेपाली एकता मञ्च जर्मनी

No description available.

निर्वाचनको प्रक्रिया शुरु गर्दा उम्मेदवारको तर्फबाट एजेन्टको रुपमा मान्छेहरु राख्नपर्नेमा त्यो राखिएन । अनुगमन प्रतिनिधि पनि नराखि निर्वाचन कमिटीले कम्प्युटर खोलेर मत गणना शुरु भयो । मत गणनाको शुरु शून्यबाट हुनुपर्ने हो, तर त्यहाँ पहिले कति थियो भन्ने पनि देखाइएन ।

अन्तिममा ६ बजे निर्वाचन सकिएपछि १५ मिनेटमा परिणाम आउनुपर्नेमा साढे ८ बजे मात्रै आयो । केन्द्रिय प्रतिनिधि आउँदै हुनुहुन्छ भनेर ढिलाइ गरियो ।

अनलाइन भोटिङ प्रणालीमा त केन्द्रिय प्रतिनिधिले जहाँ हुनुहुन्छ त्यहीँबाट जुम मार्फत वा अन्य कुनै माध्यमबाट पनि हेर्न सकिने भयो नि तर त्यसो गरिएन । यसकारण यो बीचको समयलाई पनि शंकास्पद समयका रुपमा हेरिएको छ । शुरुमा मुचुल्का उठाउने प्रक्रिया नै नगरेकाले शुरु र अन्त्य दुबै शंकास्पद देखिएको छ । केन्द्रिय र यूरोपियन कमिटीमा कतिपयले चित्त नबुझेकाले अदालतसम्म जाने भन्ने कुरा आएको र त्यसअनुसार मुद्दा अगाडि बढाउने भन्ने कुरा आएको छ ।

मत परिणाम जे भएपनि परिणाममा भन्दा पनि न्यूनतम निर्वाचन प्रक्रियासम्म नगरेकोमा त्यसमा कमजोरी रहेको देखिएकोमा यसमा हाम्रो आपत्ति छ ।

 

‘अरु जितेर पनि हारेका छन्, निनाम्मा हारेर पनि जितेकी छन्’

तेजेन्द्र कार्की

युवा नेता, नेपाली काँग्रेस, जर्मनी

परिणाम आश्चर्यजनक रुपमै आएको देखिन्छ । एउटै डिभाइसबाट ५ भन्दा बढी भोट आएको अवैध मान्नुपर्ने हो, अहिले धेरै भोट एकै ठाउँबाट एकै जनाले गरेको भन्ने गुनासो आएको छ । केही साथीहरुले अरुको भोट पनि हालेको भन्ने सुनिएको छ भने अर्को निर्वाचन कमिटी पनि एकपक्षीय भएर अस्वभाविक काम गरेको भन्ने कुरा आएको छ ।

परिणाम शंकास्पद भएको भन्ने कुरा आएको छ साथीहरुबाट ।  ६ बजे निर्वाचन भएपछि १५ मिनेटभित्र नतिजा आउनुपर्नेमा साढे ८ बजेपछि परिणाम बाहिरिएको छ, यस बीचमा शंकास्पद केही भयो कि भन्ने आशंका देखिएको छ । जीत र पराजय सामान्य कुरा हो तर निष्पक्ष भएको सर्वसाधारणले मानेका छैनन् ।

राजनीतिक रुपमा हार्ने, हराउने जे भएपनि प्रक्रिया निष्पक्ष हुनुपर्छ । निनाम्माको सामान्यतया ६५ प्रतिशत भोट आउनुपर्ने देखिएको थियो, म बसेको क्षेत्रमा पनि, त्योअनुसार नआएपछि शंकास्पद देखिएको साथीहरुको गुनासो छ ।

निर्वाचन गर्दा धेरैले एकै ठाउँबाट धेरै मत आएको भन्ने गुनासो गरेकोमा यो राम्रो भएन ।  यो अस्वभाविक देखिन्छ । वास्तवमा अरु जितेर पनि हारेका छन्, निनाम्मा हारेर पनि जितेकी छन् ।

 

 

‘अस्वभाविक र अप्रत्यासित नतिजाले निष्पक्षतामा प्रश्न उब्जिएको छ’

सागर पोखरेल

अध्यक्ष, नेपाली जन प्रगतिशील मञ्च जर्मनी

No description available.

यो अप्रत्यासित देखिन्छ । यसमा धेरै कमीकमजोरी म देख्छु । एउटै डिभाइसबाट धेरै मत आएको देखिएको छ ।

५० वटा सम्म सिमकार्ड किनेर जसलाई केही थाहा छैन उनीहरुको नामबाट भोट हालिदिएको पाइएको छ । यो पनि छानबिनको विषय हो । आइटीमा पनि समस्या देखिएको छ भने निर्वाचन प्रणाली पनि निष्पक्ष भएको देखिएन । चुनाव सकिएको १५ मिनेटमा गर्नुपर्नेमा चुनावी घोषणा हुन पनि समय लाग्यो ।

अस्पष्ट भएका कुराहरु छन् । यसरी हेर्दाखेरी स्वभाविक देखिदैन, अप्रत्यासित नतिजा आएको देखेको छु ।

मैले एकजनालाई मन पराउँछु भने मेरो परिवारको अर्को सदस्यले अर्कै कुनै उम्मेदवारलाई मन पराउन सक्छ । तर यहाँ परिवारकै मत एकै व्यक्तिले हालेको धेरै पाइएको छ । त्यसैले अनलाइन भोटिङ प्रणाली आफैमा पनि निष्पक्ष नहुनेमा प्रक्रियामा पनि थुप्रै समस्या देखिएको पाइएको छ ।

‘अनलाइन भोटिङले विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ’

दिल गुरुङ,

एनआरएनए जर्मनीका सँस्थापक अध्यक्ष

हाम्रो पार्टी नेपाली कांग्रेसले उहाँ (निनाम्मा राई)लाई समर्थन गरेको मात्रै हो । तर, जुन धाँधली भयो भन्ने छ, त्यो एक हिसाबले सोचनीय विषय पनि हो ।

किनकी अनलाइन भोटिङले विश्वसनीयतामाथि प्रश्न उठिरहेको छ । कसैले चाहेको खण्डमा के पनि गर्न सकिँदो रहेछ भने आफैले भेरिफाइ गर्यो, आफैले मेम्बर बनायो, आफैले मेल खोल्यो भने केही गर्नै नपर्ने, एकजना मान्छेले हजार भोट पनि हाल्न मिल्दो रहेछ ।

एनआरएनए जर्मनीका अध्यक्षको नेतृत्वमो निर्वाचन आयोग गठन गरियो । उहाँले सबै आफूले भनेको मान्ने मान्छे राख्नु भयो । हामीले प्रत्यक्ष भोटको माग गर्दा पनि उहाँले अनलाईन नै गर्नुभयो । कोड नं. दिनु नै गलत थियो भन्ने प्रश्न उठेका छन् । त्यसकारण मलाई लाग्छ यो प्रक्रिया नै गलत हो ।

यस्तो छ अध्यक्षकी प्रत्यार्सी निनाम्मा राईले न्यायका लागि दिएको उजुरी : 

श्रीमान निर्वाचन आयुक्त ज्यूहरु लगायत सम्पूर्ण आदरणीयजनहरुमा नमस्कार;

यहि मिती २०२१ जुलाई ३१ शनिवार सम्पन्न भएको गैरआवासीय नेपाली संघ जर्मनीको निर्वाचनमा प्रविधिको चरम दुरपयोग तथा लापर्वाहि भएको कुरामा मेरो गम्भिर ध्यानाकर्षण भएकोछ। एकातिर पंजिकृत सदस्यता वितरण देखिनै भएका संकास्पद गतिविधिहरु र अर्कोतिर पंजिकृत मतदातासदस्य संख्यामा भएको घटवढले आसंकाका आधारहरुलाई थप स्पष्ट परेको छ। निर्वाचनमा उमेद्वार तथा मतदाताहरुलाई Voting System को वारेमा एथेष्ट जानकारी नै नदिई सकेसम्म एक पक्षिय गरीयो।

सामान्यतय एक IP Address वाट ३-५ जना सम्मले मतदान गर्न पाउनेमा एकै IP Address वाट कयौ जनाले मतदान गरेको तथ्यहरु सुरक्षीत छन्। मतदानको समयभरी यो वा त्यो ढंगले मतदातालाई आफुअनुकुलको मतदान गराउने प्रयासहरु भईनै रहे । निर्वाचन सम्पन्न भएको १० -१६ मिनेट भित्र मत परिणाम सार्वजनिक गर्ने भनिएता पनि करिव २ घण्टा ३० मिनेट पछाडि निर्वाचान समितिले अध्यक्ष लगायत बाँकि उम्मेदवारहरुको सहमतिय मन्जुरी तथा उम्मेद्वारहरुका एकएक जना बिश्वास पात्र प्रतिनिधि ( एजेण्ट) को उपस्थिति विना Online Voting System को Final Data out गरी एक पक्षिय ढंगले निर्वाचन परिणामको घोषणा गर्ने काम गरीयो।

निर्वाचन प्रक्रिया IT Expert को रोहवरमा सम्पन्न हुने भनिएपनि, नत IT Expert को नाम सुन्न पाईयो न त निर्वाचन पछीको विस्तृत Data तुरुन्त हेर्न पाईयो जस्तै कसको कुन क्षेत्र बाट के कत्ती मत प्राप्त भन्ने समेत जानकारी गराएन।निर्वाचन समिति तथा निर्वाचन अनुगमन गर्ने पर्यवेक्षकहरु को कहाँ छन कुनै जानकारी नै गराईएन । यी यावत शंकै शंकाहरुका विच गैर आवासीय नेपाली संघ जर्मनीको निर्वाचन आयोगले घोषणा गरेको परिणाम स्वच्छ र निपक्षीय नभएको ठहर गर्दै यो परिणामलाई पुर्ण रुपमा अस्विकार गर्दछु। साथै मतदानको IP Address Audit को लागि जोडदार माग गर्दै जर्मनी निवासी गैर आवासीय नेपालीहरुको अभिमतलाई निरास गर्न नदिन निर्वाचनमा भएका गम्भिर त्रुटिहरुको सत्यतथ्य छानविनको लागी न्यायलयको समेत सहयोग लिने पनि जानकारी गर्न चाहन्छु। सत्य, ईमान र निष्ठा अनि पद्धतिको लागि मेरो यो अभियानमा साथ र सहयोगको लागि पुन:एकपटक जर्मनी निवासी सम्पुर्ण आमा-वुवा, दाजुभाई तथा दिदीबहिनीहरुलाई हार्दिक आवह्वान गर्दछु।

निनाम्मा राई

अध्यक्ष उम्मेद्वार गैर आवासीय नेपाली संघ जर्मनी

बोदार्थ,

१) श्री कुमार पन्त ज्यू ( अ. स . प.)

२) नारायण आचार्य ( युरोप संयोजक)

३) हरि न्यौपाने निवर्तमान अध्यक्ष

४) बिजय मोक्तान आई सि सि

५) टंक लम्साल आई सि सि

६) प्रेम पोमु आई सि स