काठमाडौँ – सरकारले महामारीको दोस्रो लहरले अर्थतन्त्रमा गम्भीर प्रभाव पारेका कारण आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न नसक्ने अवस्था देखिएको जनाएको छ ।


ADVERTISEMENT


मंगलबार प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले देशको आर्थिक अवस्थाका बारेमा जानकारी दिँदै बजेट मार्फत आर्थिक वृद्धिदर ७.० प्रतिशत रहने अनुमान गरिएकोमा कोभिड–१९ कारण लक्ष्य हासिल गर्न नसक्ने अवस्था देखिएको बताएका हुन् । उनले कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको बताए । कुल तिर्न बाँकी ऋणमध्ये रू. ८ खर्ब १ अर्ब आन्तरिक ऋण र रू. ९ खर्ब २८ अर्ब बाहृय ऋण छ । सार्वजनिक ऋणको भार बढ्दै जाने र त्यसको उत्पादनशील क्षेत्रमा महत्तम परिचालन हुन नसक्ने अवस्थाले भविष्यमा विकासका लागि स्रोतको अभाव हुन सक्ने उनले बताए । अर्थमन्त्री शर्माले देशको सञ्चित कोष एक खर्ब ४३ अर्बले घाटामा रहेको जानकारी दिए ।


ADVERTISEMENT

# # #


सरकारी खर्च बढ्दै गएपनि चालुखर्चको तुलनामा पुँजीगत खर्च बढ्न नसकेको उनले बताए । आर्थिक वर्ष २०७७/७८ मा कुल राजस्व ९ खर्ब ३८ अर्ब संकलन भएकोमा, संघीय राजस्व ८ खर्ब २९ अर्ब संकलन भएको अर्थमन्त्रीले बताए । विगत केही वर्षदेखि कुल गार्हस्थ उत्पादनको अनुपातमा कुल राजस्व परिचालन बढ्दै गएको भएतापनि समग्र राजश्वमा आन्तरिक राजश्वको अंश बढ्न नसक्दा राजस्व परिचालनमा दीगोपना कायम हुन नसकेको अर्थमन्त्री शर्माले बताए । उनले सरकारको एक मात्र प्रमुख प्राथमिकता खोप मात्रै भएको भन्दै आफूले कार्यभार सम्हालेको दिन नै खोप खरिदका लागि रु पाँच अर्ब निकासा गरेको उल्लेख गरे ।

पूँजी निर्माणलाई सरकारले विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले मूल्यवृद्धि नियन्त्रण, पूँजीगत खर्च बढाउने तथा आर्थिक वृद्धिको योजनालाई साकार बनाउने दृढता व्यक्त गरे ।

स्रोत सुनिश्चित नभई विभिन्न आयोजनाको शिलान्यास हुँदा र स्रोतको परिचालनमा विचलन हुने गरी योजना अगाडि सारिँदा अर्थतन्त्रमा समस्या परेको अर्थमन्त्री शर्माको भनाइ छ ।

देशभर १८.७ प्रतिशत नागरिक गरिबीको रेखामुनि रहेको भन्दै अर्थमन्त्री शर्माले कोरोनाका कारण त्यसको मात्रामा वृद्धि भएकाले नीतिगत सुधार गरी गरिबी न्यूनीकरण गर्नु सरकारको प्राथमिकतामा रहेको बताए ।