बनियानी– झापा बिर्तामोडका व्यवसायीले ब्याज र किस्ताका लागि ताकेता नगर्न यहाँका बैंकलाई आग्रह गरेका छन् ।


ADVERTISEMENT


कोरोना भाइरसका कारण व्यापार–व्यवसाय चौपट भएको भन्दै व्यवसायीले बैंकलाई ब्याज र किस्ताका लागि ताकेता नगरी लचकता अपनाउन आग्रह गरेका हुन् ।


ADVERTISEMENT

# # #


बिर्तामोड उद्योग वाणिज्य सङ्घले बिहीबार आयोजना गरेको बैंकर्स क्लब बिर्तामोडसँगको छलफलमा सङ्घका अध्यक्ष प्रकाश शिवाकोटीले लामो समयदेखिको निषेधाज्ञाका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए । ‘महामारीका बेला व्यवसायी मारमा परेका छन्’, उनले भने, ‘उनीहरुको समस्या बुझिदिनु पर्छ ।’

अर्का व्यवसायी जीवनकुमार खड्काले निषेधाज्ञा अवधिमा व्यापार–व्यवसाय ठप्प भएका व्यवसायीलाई पहिचान गरी ब्याज ताकेता नगरिदिन र सकेसम्म लचक हुन आग्रह गरेका छन् । छलफलमा सिद्धार्थ बैंकका प्रदेश प्रमुख सुवास श्रेष्ठले हाल कारोबार भएका तथा सञ्चालनमा रहेका उद्योगी–व्यवसायीलाई मात्र ब्याजका लागि ताकेता गरिएको बताए । ‘व्यापार बन्द भएका व्यवसायीलाई ताकेता गरिएको छैन । जुन व्यवसाय चलेको छ, त्यहीअनुसार काम गरिरहेका छौँ’, उनले भने ।

छलफलमा एनआइसी एशिया बैंकका दशरथ पराजुली, सानिमा बैंकका अम्बिका खतिवडा, गुडविल फाइनान्सका सुमन पौडेल, मुक्तिनाथ विकास बैंकका हरि ओझालगायतका बैंक प्रतिनिधिले व्यापार र कारोबार नभएका व्यवसायीलाई ब्याज र किस्ताका लागि दबाब नदिइएको बताए । रासस