काठमाडौँ – नेकपा एमालेको स्थायी कमिटीको बैठक सम्पन्न भएको छ । मंगलबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको भवनमा माधव नेपाललाई छाडेर पार्टी एकतामा लागेका भीम रावलसहितका तेस्रो धारका नेताहरु पनि उपस्थित रहेका थिए ।


ADVERTISEMENT


पार्टी प्रवक्ता प्रदीप ज्ञवालीका अनुुसार आजको बैठकमा तीन वटा कार्यसूचिमा छलफल भएको थियो । बैठकमा पार्टी एकताका लागि आह्वान गर्ने प्रस्ताव पारित समेत गरिएको छ । यस्तै बैठकले पार्टी एकतालाई जोगाउन गठित कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयन गर्नका लागि ८ वटा निर्णयहरु गरेको उनले जानकारी दिए ।


ADVERTISEMENT

# # #


कार्यदलले असार २७ गते तयार गरेको १० बुँदे सहमतिको कार्यान्वयनका सम्बन्धमा ८ वटा निर्णय भएको प्रवक्ता ज्ञवालीले जानकारी दिए । उनका अनुसार पार्टीको पक्षमा रहेर क्रियाशील हुने केन्द्रीय कमिटी, केन्द्रीय निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी लगायत सबै तहका पार्टी कमिटी र जनसंगठनका सबै तहका पदाधिकारी र सदस्यहरुलाई हरुलाई २०७५ साल जेठ २ गतेपूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिने निर्णय भएको छ ।

यस्तै १० बुँदे सहमति कार्यान्वयन गर्दा उत्पन्न हुने समस्या समाधानका लागि कार्यदल बनाइएको छ । ईश्वर पोखरेल, भीम रावल, विष्णु पौडेल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे र लेखराज पौडेल रहेका छन् ।

यस्तै २०७५ जेठ २ गतेको सदस्यतालाई आधार मानेर पार्टी सदस्यता नवीकरणलाई अघि बढाइने भएको छ । एकीकरणको क्रममा आवद्ध भएका सदस्य र २०७५ जेठ २ गतेपछि लिएका नयाँ सदस्यहरुको सदस्यता पनि आगामी असोज मसान्तसम्म नवीकरण गरिने छ।

प्रवक्ता ज्ञवालीका अनुसार पार्टीको विधान महाधिवेशन असोज ४, ५ र ६ गते काठमाडौँमा गरिने भएको छ। पार्टीको १० औँ राष्ट्रिय महाधिवेशन आगामी मंसिर १०, ११ र १२ गते काठमाडौँमा आयोजना गर्ने । विधान महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजहरुबारे छलफल गर्न भदौ २५ र २६ गते पार्टीको स्थायी कमिटीको बैठक र २७ र २८ गते केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय भएको छ ।

पार्टीका स्थानीय कमिटस्लाई व्यवस्थित गर्न कार्तिक ६ वडा अधिवेशन र कार्तिक ९ गते पालिका वा सो सरहको अधिवेशन गरिने भएको छ ।

पार्टी एकता र पार्टीका निर्णयहरु सम्प्रेषित गर्नका लागि भदौ १६ देखि २० गते सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लाहरुमा जिल्ला कार्यकर्ता भेला र जनसंगठनको केन्द्रीय कमिटीको बैठक आयोजना गरिने छ ।

पार्टी केन्द्रीय कमिटीको बैठक भदौ १० गते काठमाडौँमा आयोजना गरिने छ । पार्टी अध्यक्ष लगायतका नेताहरुको उपस्थितिमा बुधबार बिहान ११ बजे पत्रकार सम्मेलन गर्ने निर्णय समेत भएको प्रवक्ता ज्ञवालीले जनाए ।

साथै बैठकले पार्टी विभाजन गरी नयाँ दल दर्ता गर्न पुगेका माधव कुमार नेपाल लगायतका नेताहरुलाई मूल मूल घरमा फर्किन आग्रह गर्दै पार्टीमा फर्किनेलाई कुन पनि कारबाही नगरिने र यसअघिकै जिम्मेवारी प्रदान गरिने निर्णय भएको उनले बताए ।