काठमाण्डौं- मलेसियामा हुने एसीसी यू–१९ एसिया कप क्रिकेटको तयारीमा रहेको नेपाली यू–१९ टोली बिहीबार बंगलादेश यू–१९ सँग ३ विकेटले पराजित भएको छ । बंगलादेशको साभारस्थित बीकेएसपी मैदानमा बंगलादेश यू–१९ ले टस जितेपछि ब्याटिङ गर्न आएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाई १ सय ५३ रन बनायो । ओपनर नाइम शेखले ५३ रन बनाएपछि बंगलादेशले ३९ ओभरमै लक्ष्य पूरा गर्‍यो ।


ADVERTISEMENT


नेपालबाट पनि ओपनर आसिफ शेखले सर्वाधिक ३२ रन बनाए । ७७ बल खेलेका उनले ३ चौका प्रहार गरे । अर्का ओपनर सन्दीप सुनार १ रनमा आउट भए । अनिलकुमार शाहले १८ रन जोडे । १९ ओभरमा ६४–२ को स्थितिमा रहेको नेपालले सोही रनमा कप्तान दीपेन्द्रसिंह ऐरी र रोहितकुमार पौडेललाई गुमायो ।


ADVERTISEMENT

# # #


दुवैलाई नायिम हसनले लगातार बलमा आउट पारे । दीपेन्द्रले २४ बल खेल्दै २ चौका प्रहार गरी १६ रन बनाए । रोहित १ बलमात्र टिक्न सके । भीम सार्कीले ४६ बलमा २ चौका र २ छक्कासहित २८, पवन सर्राफले ५१ बलमा २ चौका प्रहार गरी १९, कमलसिंह ऐरीले ३४ बलमा १७ रन जोड्दै नेपालको स्कोर हेर्नलायक बनाए । शाहब आलम र किशोर महतो समान ६ रनमा आउट भए । सन्दीप लामिछाने १ रनमा नटआउट रहे । बंगलादेश यू–१९ बाट नायिम हसनबाहेक हसन महमुद र काजी अनिक इस्लामले ३–३ विकेट लिए ।

बंगलादेशबाट नाइम शेखले ६५ बल खेल्दै ८ चौका प्रहार गरे । प्रिनक घोष १४ रनमा रनआउट र साइफ हसनलाई पवनले ७ रनमा आउट गरेको अवस्थामा शेखले टोहिद हृदलीसँग तेस्रो विकेटमा ४६ रन जोडे । हृदलीले ६६ बल खेली ३ चौका र १ छक्का प्रहार गरे । त्यसपछि सन्दीपले २ र शाहबले १ विकेट लिँदा बंगलादेश १२६–७ को स्थितिमा पुगेको थियो । हृदलीले म्यान अफ द म्याच काजी अनिक इस्लाम (नटआउट) सँग मिलेर बंगलादेशलाई जिताएका थिए ।

नेपालबाट सन्दीपले १० ओभरमा १ मेडन राख्दै २५ रन खर्चेर ४ विकेट लिए । तीन खेल सिरिजको दोस्रो खेल शनिबार हुनेछ ।