काठमाडौँ– चन्द्रागिरि नगरपालिकाका सबै वडामा प्रयोगशालासहित स्वास्थ्य केन्द्र स्थापना गरिएको छ । नगरप्रमुख घनश्याम गिरीको नेतृत्वमा नगरवासीलाई सुलभरूपमा उपचारको व्यवस्था गर्न सबै १५ वटै वडामा उक्त केन्द्र स्थापना गरिएको हो ।


ADVERTISEMENT


यसैगरी थानकोटमा १५ शय्याको बर्थिङ सेन्टर (नगरस्तरीय अस्पताल)सञ्चालनमा ल्याइएकामा २५ शय्या बनाइने भएको छ । विसं २०७४ जेठ १० मा जनप्रतिनिधि निर्वाचित भएर आएसँगै यहाँको विकासले फड्को मार्दै आएको हो ।


ADVERTISEMENT

# # #


कोरोना सङ्क्रमण फैलिँदै गएकाले तीन स्थानमा अक्सिजनसहितको सुविधासम्पन्न आइसोलेसन सेन्टर स्थापना गरिएको र अशक्त बिरामीलाई थप उपचारका लागि सशस्त्र प्रहरी बल अस्पताल पठाउने गरिएको प्रवक्ता हरिभक्त महर्जनले जानकारी दिए ।

भूकम्पले क्षति गरेको २४ सामुदायिक विद्यालय पुनःनिर्माण गरिएको र चन्द्रागिरिको चिनारी झल्कने गरी स्थानीय पाठ्यक्रम निर्माणमा गर्न लागिएको छ । वडा नं १२ गुर्जुधारामा झण्डै रु २५ करोडको लागतमा नगरपालिकाको भवन निर्माण गर्न लागिएको छ । पन्ध्रमध्ये ११ वटा वडा भवन निर्माण भइसकेको र दुई वटाका लागि बोलपत्र आह्वान भइसकेको र दुईको काम बाँकी रहेको नगरप्रमुख गिरीले बताए ।

अधिकांश स्थानमा आफ्नै स्रोत उपयोगमा ल्याएर सबै पुरानो बस्तीमा खानेपानी पुर्‍याउन तीव्र गतिमा काम गरिरहेको बताइएको छ । बाह्र किलोमिटर सडक मुख्य राजमार्गका साथै नगरभित्रका झण्डै ७५ प्रतिशत सडक कालोपत्र र ढलान गरिएको छ ।

पिप्लामोडदेखि नागढुङ्गा, थानकोट हुँदै कलङ्कीसम्मको मुख्य सडकमा सिसी क्यामरा र सडक बत्ती जडान, बीच बाटोमा बिरुवा रोपण, सडकमा रङ्रोगन र डिभाइडर राख्ने काम गरिएको छ । एम्बुलेन्स र दमकल खरिद गरिएको छ । नगरप्रहरी राख्नका लागि विभिन्न वर्षमा बजेट विनियोजन गरिएकामा ऐन निर्माण नभएकाले ढिलाई भएको नगरप्रमुख गिरीले जनाए ।

चालिस हजार घरधुरी रहेको नगरमा एक वडा एक उद्यान निर्माण गरिने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियत ऋण सहयोगमा नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग निर्माणको तयारीमा छ ।

सुरुङमार्गले झण्डै ३०० रोपनी जग्गा र ४० घरलाई असर पार्ने भएकाले पीडितलाई मुआब्जा वितरणका लागि सहजीकरण गरिएको र वैशाख १२ को विनासकारी भूकम्पले क्षति पुगेको मठमन्दिर पुनःनिर्माण गरिएको नगरप्रमुख गिरीले बताए । झण्डै दुई लाख स्थायी र अस्थायी जनसङ्ख्या रहेको नगरपालिकाले अझैसम्म फोहरमैला व्यवस्थापन गर्न सकेको छैन । यसैगरी बल्खुखोला करिडोर निर्माण, प्रविधियुक्त नगरपालिका निर्माण गर्न पनि बाँकी रहेको नगरप्रमुख गिरीले जानकारी दिए । रासस