काठमाण्डौं-एएफसी यू–१९ च्याम्पियनसिपको छनोट चरण अन्तर्गत लगातार तेस्रो हारसँगै नेपाल प्रतियोगिताको छनोट चरणबाटै बाहिरिएको छ । शनिबार समूह ‘ए’ को खेलमा नेपाल यूएईसँग १–० पराजित भयो । पछिल्लो खेलबाट ३ खेलाडी परिवर्तन गरेको नेपालले आक्रमक पक्षमा अवसर सिर्जना गर्न नसके पनि विपक्षी टोलीको आक्रमण लगातार निस्तेज परेको थियो ।


ADVERTISEMENT


नेपाली टोली खेलको ७२ औं मिनेटमा अभागी सावित भयो । मिडफिल्डमा अनिल महर्जनले पास दिएको बल रेफ्रीलाई लाग्दै विपक्षी खेलाडी खालिद मोहमद अल्ब्लुशीको खुट्टामा पुग्यो । उनले त्यसै बललाई अगाडि बढाएर दिएको थु्र–पासमा खल्फान हसन अलहमादीले गोल गरे । नेपालले खेलको अन्तिम समयमा पेनाल्टीमार्फत बराबरी गर्ने मौका पायो । गोलरक्षक सुहेल अब्दुल्लाले रेजिन सुब्बालाई बक्सभित्र लडाएपछि पाएको पेनाल्टीमा अभिषेक रिजाल चुके । उनले सिधा प्रहार गरेको फितलो पेनाल्टी प्रहार गोलरक्षकले खुट्टाले रोकेका थिए ।


ADVERTISEMENT

# # #


यस हारसँगै पुछारमा रहेको नेपालको छनोटको सम्पूर्ण सम्भावना सकिएको छ । नेपाल यसअघि आयोजक किर्गिस्तानसँग २–० र बहराइनसँग ४–० ले पराजित भएको थियो । अंकविहीन नेपाल तालिकाको पुछारमा छ । दुवै खेल जितेको यूएई ६ अंकसहित अंक तालिकाको शीर्षस्थानमा उक्लियो । नेपालले समूहको अन्तिम खेलमा बुधबार ओमानको सामना गर्नेछ । -आजको कान्तिपुरबाट