काठमाण्डौं-सवारी साधनमा कात्तिक २० गतेदेखि सुधारिएको इम्बोस्ड नम्बर प्लेट वितरण हुने भएको छ । भदौको पहिलो साता नेपालमा पहिलो पटक गर्न लागिएको भन्दै तामझामका साथ सुरु भएको इम्बोस्ड नम्बर वितरण एक महिनाका लागि वन्द गरिएको थियो । त्यसबेला इम्बोस्ड नम्बर प्लेट अञ्चल अनुसार तयार गरी वितरण गरिएको थियो तर संसदीय समितिले प्रदेश अनुसार वितरण गर्न निर्देशन दिएपछि सफ्टवेयर परिवर्तन गरी वितरण गर्न वन्द गरिएको थियो । विभागका अनुसार अहिले प्रदेश अनुसार यो प्लेट तयार गरिएको छ ।
विभागले यसलाई प्रदेश अनुसार बनाउन यातायात व्यवस्था नियमावली २०५४ संशोधन गरेको थियो । संशोधित नियमावली राजपत्रमा प्रकाशित भएपछि प्रदेश अनुसारको इम्बोस्ड नम्बर वितरण गर्न विभागलाई कानुनी बाटो खुला भएको हो । तर अहिले पनि प्रदेशको नामाकरण नहुञ्जेल सम्मका लागि प्रदेशको पहिचान नम्बर राख्ने गरी प्लेट तयार गरिएको छ । २० गतेदेखि वितरण गर्न विभागले आफु मातहतका १४ वटै अञ्चल कार्यालयमा सूचना जारी गरिसकेको विभागका प्रवक्ता डा. टोकराज पाण्डे जानकारी दिए । आगामी पाँच वर्षभित्र २५ लाख सवारी साधनहरुमा इम्बोस्ड नम्बर प्लेट राख्ने योजना विभागको छ ।


ADVERTISEMENT