काठमाडौैं – अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ ।


ADVERTISEMENT


उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन् ।


ADVERTISEMENT

# # #


नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

‘एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्ने’ भन्दै एमसिसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो । सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि चार वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट)मा द्विपक्षीय सम्झौता भएपछि एमसिसीबाट यो तहमा पहिलोपटक भ्रमण भएको हो । यस भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ ।

सम्झौताअनुसार सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजना कार्यान्वयनका निम्ति अनुदानस्वरूप अमेरिकाबाट रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।

यस परियोजनामा ४०० किलोभोल्ट क्षमताको ३१८ किलोमिटर लामो प्रसारण लाइन एवं तीन उच्च क्षमतायुक्त सबस्टेशन निर्माणमा केन्द्रित विद्युत् प्रसारण आयोजना र बढीमा ३०० किलोमिटर रणनीतिक सडकको मर्मतसम्भारका विषय समावेश गरिएका छन् ।