काठमाडौं – सडक पूर्वाधार विकास कार्यालयले हालसम्म जिल्लामा २० किलोमिटरभन्दा बढी सडकका नयाँ ट्रयाक खुलाइएको छ । विसं २०७६ पुस २४ मा जिल्लामा स्थापना भएको कार्यालयले हालसम्म २० किलोमिटर ४० मिटर सडकका नयाँ ट्रयाक खुलाएको हो ।


ADVERTISEMENT


यसैगरी १५ किलोमिटर ६४ मिटर सडक स्तरोन्नति गरिएको कार्यालयका प्रमुख गोविन्दबहादुर महत्रा क्षेत्रीले जानकारी दिए । उनका अनुसार पुथाउत्तरगङ्गा गाउँपालिकाका सल्ली, बिसौना, काग्खोला र तीपई दोभानमा १२० मिटरभन्दा लामा तीन झोलुङ्गे पुल निर्माण गरिएको र भूमे गाउँपालिकाको दोमै दोभानको एउटा झोलुङ्गे पुलको मर्मत गरिएको छ ।


ADVERTISEMENT

# # #


चार वटा सडक पुल निर्माणाधीन अवस्थामा रहेका र सिस्ने तथा भूमेको सिमाना बालुमा पुल निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको कार्यालय प्रमुख महत्रा क्षेत्रीले बताए ।

आर्थिक वर्ष २०७२÷७३ मै काम सुरु भए पनि अलपत्र रहेका ८० मिटर पुलको जिल्लामै कार्यालय स्थापना भएपछि ९० प्रतिशत काम भइसकेको र रुकुमगाड खोलामा २५ मिटर लामो पुलको ५० प्रतिशत काम भएको छ भने सिस्ने गाउँपालिका–७ को नाथिगाड खोला र भूमे गाउँपालिकास्थित थबाङ खोलामा निर्माण हुने पुलको सम्झौतासमेत भइसकेको कार्यालयले जनाएको छ ।

सम्पन्न भइसकेका र निर्माणाधीन अवस्थामा रहेका सहित हालसम्म योजनाका सङ्ख्या ३५ छ । आव २०७६÷७७ र २०७७÷७८ मा गरी रू ३६ करोड ७५ लाख २७ हजार बजेट विनियोजन भएकामा अहिलेसम्म रू २७ करोड ९३ लाख ७२ हजार रुपैयाँ खर्च भइसकेको जनाइएको छ । यस्तै चालूतर्फ रू एक करोड २६ लाख ९८ हजार बजेट विनियोजन भएकामा रू ९८ लाख ४१ हजार खर्च भएको छ । रासस