काठमाण्डौं- वेस्टह्यामले खराब नतिजाको शृंखलापछि व्यवस्थापक स्लेभन विलिचलाई सोमबार बर्खास्त गरेको छ ।


ADVERTISEMENT


इंग्लिस प्रिमियर लिगमा वेस्टह्याम रेलिगेसन क्षेत्रमा रहेको छ । बिलिचको स्थानमा डेबिड मोयस आउने सम्भावना बताइएको छ । सन् २०१५ मा उनी वेस्टह्याम आएका थिए । लन्डन स्टेडियममा लिभरपुलको हातबाट ४–१ को हार बेहोरेयता क्लबले क्रोएसियाली प्रशिक्षकलाई बर्खास्त गरेको हो । खेलाडीका रूपमा पनि बिलिचले वेस्टह्यामबाट खेले ।


ADVERTISEMENT

# # #


उनी यस सिजन प्रिमियर लिगमा बर्खस्तीमा पर्ने चौथो व्यवस्थापक हुन् । यसअघि क्रिस्टल प्यालेसले फ्रायन्क डे बोर, लेस्टर सिटीले क्रेग सेक्सपियर र एभरटनले रोनाल्ड कुम्यानलाई बर्खास्त गरेको थियो । ‘वेस्टह्यामले क्लबको व्यवस्थापकीय जिम्मेवारीबाट स्लेभन बिलिचलाई हटाएको छ,’ क्लबले जनाएको छ , ‘सकारात्मक दिशातर्फ अग्रसर हुन व्यवस्थापनमा परिवर्तनको आवश्यकता महसुस गरिएको छ ।’

क्लबले केही दिनमै नयाँ व्यवस्थापकको नाम घोषणा गर्ने पनि बताएको छ । एभरटन र म्यानचेस्टर युनाइटेडका पूर्वव्यवस्थापक मोयसलाई नयाँ व्यवस्थापकको होडमा बलियो प्रत्याशी मानिएको छ । बर्खास्तीपछि मिडियासँग बिलिचले भनेका छन्, ‘यो अपेक्षित रह्यो र यसमा चित्त दुखाउनुपर्ने कारण छैन । मैले क्लबमा जति काम गरें, त्यसमा गर्व छ । हामीले यस सिजन राम्रो सुरुआत लिन सकेनौं । खराब नतिजाका लागि व्यवस्थापकलाई दोषी देखाउने प्रवृत्ति नै हो ।’- आजको कान्तिपुरबाट