रौतहट – रौतहटको बौधीमाई नगरपालिका–८ सरमुजवास्थित शङ्कर माध्यमिक विद्यालयका लेखापाल श्रीभगवान् साहलाई लेखाका अतिरिक्त नियमितरूपमा माध्यमिक तहको नेपाली विषयको कक्षा पनि लिनुपर्ने जिम्मेवारी छ ।


ADVERTISEMENT


विद्यालयमा लामो समयदेखि पर्याप्त शिक्षक नहुँदा लेखापाल, राहत दरबन्दी र निजी स्रोतका शिक्षकबाट विद्यार्थीको पढाइ सञ्चालन भइरहेको छ । शिक्षक अभाव भए पनि विद्यालयमा विद्यार्थीको चाप भने घटेको छैन । कूल एक हजार ३०० विद्यार्थी रहेको सो विद्यालयमा मावि तहमा दुई जना स्थायी शिक्षकको दरबन्दी छ भने तल्ला तहमा स्थायी दरबन्दीका शिक्षक छैनन् । निमावि तहमा चार र प्राविमा एक राहत दरबन्दी तथा प्रारम्भिक बाल विकास (इसिडी) सहजकर्ता एक जना छन् । विद्यालयका प्रधानाध्यापक सञ्जय जैसवाल स्वयंले नियमित माध्यमिक तहको अङ्ग्रेजी विषयको कक्षा लिन्छन् । प्रशासनिकरूपमा व्यस्ता हुँदा वा जिल्ला सदरमुकाम जानुपर्दा उनको कक्षा खाली हुने गर्छ ।


ADVERTISEMENT

# # #


प्रअ जैसवालले अङ्ग्रेजी र नेपाली विषयका गरी दुई शिक्षक तथा निमाविमा एक र प्राविमा चार शिक्षक दरबन्दी व्यवस्थाका लागि स्थानीय तह र माथिल्लो सरकारसँग पटक पटक आग्रह गरिएको बताए । विद्यालयमा विश्व शिक्षा संस्थाले ई–पुस्तकालय स्थापना गरेको भए पनि त्यसलाई सञ्चालनका लागि विद्यालयसँग जनशक्ति छैन । विद्यालयमा प्रदेश नं २ सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत कक्षा ८ भन्दा माथिका ९० छात्रालाई साइकल वितरण गरेपछि छात्राहरुको नियमित उपस्थिति हुने गरेको छ । दोस्रो लहरको कोभिड–१९ का बीचमा पनि विद्यालयले नियमितरूपमा प्रत्यक्ष कक्षा सञ्चालन गर्दै आएको छ ।

शिक्षक अभावबीच सो विद्यालयले विसं २०७६ को माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सहभागी १०७ विद्यार्थीमध्ये शतप्रतिशतलाई माथिल्लो कक्षामा भर्ना हुन योग्य ग्रेडमा उत्तीर्ण गराउन सफल भएको थियो । सरमजुवाकै दलित प्राविमा भने पर्याप्त शिक्षक छन् । कूल २०९ विद्यार्थीलाई पढाउन पाँच शिक्षक छन् । यस विद्यालयमा स्थायी एक, राहत एक र अन्य निजी स्रोतका शिक्षक कार्यरत रहेकाले शिक्षक अभाव नरहेको विद्यालयका प्रधानाध्यापक दिनेशप्रसाद बैठाले बताए ।

सो पालिकामा प्रमुखका लागि नेपाली कांग्रेसका प्रत्यासी राजनबाबु जैसवालले विद्यालय शिक्षामा गुणस्तरको चुनौती रहेको र शिक्षक दरबन्दी व्यवस्थापनका लागि स्थानीय तहको नेतृत्वले गम्भीरता नदेखाएको गुनासो गरे । सोही पालिका निवासी समाजसेवी सुनीलप्रसाद जैसवाल विद्यालयको भौतिक पूर्वाधार राम्रो भए पनि प्रावि तहमा शिक्षकको लापरबाहीका कारण खस्किएको जनाए । बौधीमाई–९ का वडाध्यक्ष मुक्तिनारायण मिश्रले विद्यालयमा शिक्षक दरबन्दी व्यवस्थापनका लागि आफूहरुले पहल गरिरहेको जनाए ।

नगरपालिकाका प्रमुख राजीवरञ्जन यादवले विसं २०७२ देखि शिक्षक दरबन्दी मिलान नहुँदा समस्या आएको र पालिकामा ११८ थप शिक्षक दरबन्दीका लागि माग गरिएकाले त्यसका लागि आर्थिक स्रोत जुट्नुपर्ने बताए। यस पालिकामा १५ सामुदायिक, चार निजी विद्यालय र तीन वटा विद्यालय रहेका छन् । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख रामविनय सिंहले जिल्लामा सामुदायिक ४०० र निजी विद्यालय ४८ छन् भने कूल करिब एक हजार १०० शिक्षक दरबन्दी अपुग रहेको छ । उनका अनुसार कक्षा ११ र १२ का लागि १७६ शिक्षक बराबरको अनुदान रकम निकासा हुन्छ भने माध्यमिक तहमा १९० स्थायी र ४८ जना शिक्षक राहत दरबन्दीमा छन् । निमावि तहमा १७४ स्थायी ८४ राहत, प्रावि तहमा एक हजार ५१ स्थायी र ५४१ राहत दरबन्दीका शिक्षक कार्यरत छन् ।

सङ्घीय सरकारले तीन वर्ष अघि पूर्वसचिव महाश्रम शर्माको संयोजकत्वमा शिक्षक दरबन्दी व्यवस्थापन कार्यदल गठन गरी सोको सुझाव बमोजिम दरबन्दी मिलानका लागि स्थानीय तहमा पत्राचार गरेको थियो । रासस