काठमाण्डौं-हिउँदे बालीका लागि रासायनिक मलको हाहाकार भएका बेला पश्चिम क्षेत्रका लागि भारतबाट केही रासायनिक मल आयात भएको छ । सुनौली नाका हुँदै मंगलबार भैरहवामा रहेको क्षेत्रीय कृषि सामग्री कम्पनीमा २ हजार ५ सय टन डीएपी मल भित्रिएको हो ।


ADVERTISEMENT


मल अभावमा किसानले आलु, तोरी, गहुँलगायत बाली लगाउन नपाएपछि सरकारले जी टु जी माध्यमबाट डीएपी मल खरिद गरेको हो । यो मागको करिब १० प्रतिशत मात्रै हो । चीनबाट ग्लोबल टेन्डरमार्फत मल आउँदै गरेकाले अर्को साता मात्रै पर्याप्त मल आउने कृषि सामग्री कम्पनीले जनाएको छ । मल भित्रिएसँगै पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल क्षेत्रमा मल ढुवानी सुरु गरेको कृषि सामग्री कम्पनी क्षेत्रीय कार्यालयका प्रमुख राजेन्द्रबहादुर कार्कीले बताए ।


ADVERTISEMENT

# # #


यातायातको सिन्डिकेटका कारण मल आपूर्ति गर्न भने समस्या भएको छ । सबै क्षेत्रमा एकैपटक ढुवानी गर्नुपरेकाले पनि सवारी साधनको अभाव भएको ढुवानीको जिम्मा लिएका कम्पनीहरूले बताएका छन् । हिउँदे बालीका लागि डीएपी र युरिया मल आवश्यक पर्छ । कृषि सामग्री कम्पनी भैरहवामा युरिया मल छैन । चीनबाट डीएपीसँगै युरिया मल पनि भित्रने कार्यालय प्रमुख कार्कीले बताए ।

गएको वर्ष यो सिजनमा कृषि सामग्री कम्पनीबाट डीएपी १४ हजार ५ सय ७५ टन, युरिया १८ हजार टन र पोटास ९ सय २५ टन ब्रिकी भएको थियो ।-आजको कान्तिपुरबाट