– कुसुम भट्टराई


ADVERTISEMENT


नेपाली राजनीतिप्रति नयाँ पुस्तामा खासै रुची देखिँदैन । नेपाली काँग्रेस, कम्युनिष्ट घटक, राप्रपालगायतका पुरानै अनुहार भएका दल र नयाँ वैकल्पिक शक्ति भनिने कुनै पनि दलप्रति नयाँ पुस्तामा आकर्षण छैन ।


ADVERTISEMENT

# # #


वर्तमान बेथितिपूर्ण समाजमा राजनीतिक दलहरुले सम्मान, श्रद्धा र अगाध लगाव हुनुपर्ने कुनै भूमिका निर्वाह नगरेको युवा पुस्ताको आम रुझान छ । कतै राजनीतिक विषयमा गफ चल्यो भने तन्नेरीहरु भन्छन्, ‘सब नेता बदमास छन्, सबलाई पद र पैसा चाहिएको छ, जनताको कसैलाई वास्ता छैन ।’ राजनीतिक वृत्तप्रति आम सर्वसाधारणको आम धारणा समान छ । उनीहरु नेताप्रति क्रुद्ध छन् । लोकतान्त्रिक ढंगले यथास्थितिमाथि जर्बदस्त हस्तक्षेप गर्नसक्ने युवापुस्ता नै देखिँदैन ।

दलमा आवद्ध भएका युवा पुस्ताका नेता भनिनेहरु पनि पुरानै फ्रेममा अभ्यस्त भइसकेका छन् । केही समययताको परिदृश्य नियाल्दा युवा नेताको जागरुकताले मन्त्री पदमा पुगेर विश्राम लिनेबाहेक अर्थोक केही गरेको छैन । यही परम्परा धान्दै मन्त्री बनेकी छिन्, रामकुमारी झाँक्री ।

नेपाली कांग्रेसमा गगन थापासम्मले मन्त्री हुन भ्याइसकेका छन् । नेकपा एमालेका घनश्याम भुषाल, गोकर्ण विष्ट, योगेश भट्टराईले मन्त्री पद पड्काइसकेका छन् । नेकपा एकीकृत समाजवादीबाट रामकुमारी झाँक्री सहरी विकास मन्त्री भएकी छिन् ।

यहाँ उल्लेख गरेका नामहरु प्रतिनिधि पात्र मात्र हुन् । यी यस्ता जोशिला र जुझारु नेताहरु हुन्, जसले नेतृत्वका गलत निर्णय र रवैयामाथि हस्तक्षेपकारी भूमिका निर्वाह गर्नसक्छन् । तर, मन्त्री भएपछिका यिनका बोली, व्यवहार र भूमिका ‘समर्पणवादी’ देखिएको छ । रामकुमारीको भूमिका परीक्षणमा छ ।

नवोदित मन्त्री रामकुमारीको राजनीतिक यात्रा २०४७ बाट प्रारम्भ भएको हो, अनेरास्ववियूको प्रारम्भिक कमिटीबाट । अखिलको १९ औं सम्मेलनसम्म आइपुग्दा उनी ‘बोल्ड’ नेतृका रुपमा उदाइन् र अध्यक्ष नै भइन् ।

झाँक्रीको चर्चा त्यसबेला निकै चुलियो, जब २०६२/०६३ को जन आन्दोलनमा प्रहरीसँगको झडपमा उनी रक्ताम्य हुने गरी घाइते भइन् । आन्दोलनमा त उनीजस्ता हजारौं युवा लागेका थिए । मिडियामा प्रहरीको लाठीबाट फुटेको झाँक्रीको रक्ताम्य अनुहार चर्चित भयो । त्यो तस्बिर जन आन्दोलनको विम्ब नै बन्यो । झाँक्रीको राजनीतिक उचाई त्यसपछि बढदै गयो, पार्टीमा भूमिका पनि प्रवल हुँदै गयो ।

युवापुस्तामाझ उनी लोकप्रिय भइन् । वि.सं २०६५ मा उनी नेकपाको केन्द्रीय सदस्य भइन् । पार्टीभित्रको अन्तरविरोधमा उनी माधव नेपालको पक्षमा लागिन् । खरो भाषण, कडा शब्द । रामकुमारी चोटीला शब्दले विपक्षीमाथि प्रहार गर्न माहीर । एमाले अध्यक्ष केपी ओलीको तीव्र आलोचनाले मात्र हैन, राष्ट्रपति विद्या भण्डारीमाथि कटु शब्द वाण हानेका कारण उनी पक्राउ मात्र परिनन्, माधव समूहमा उनको स्थान बलियो हुँदै गयो ।

एमालेबाट अलग भएर माधव नेपालले नयाँ दल एकीकृत समाजवादी गठन गर्दा माधव पक्षका भनेर चिनिएका घनश्याम र योगेशहरुले साथ दिएनन् । झाँक्रीले नै माधवको हात समातेर दल दर्ता गर्न गइरहेको तस्बिर भाइरल भयो । माधवको हात समातेर हौसला दिने रामकुमारीलाई माधवले जुरुक्क उचालेर मन्त्रिपरिषदसम्म पुर्याएका छन् ।

मन्त्री बन्नु रामकुमारीको सफलता हो त ? पक्कै हैन । लामो समय आवद्ध रहेको ठूलो दल एमाले विभाजित भएपछिको सत्तासमीकरणको खेलमा उनले एउटा भाग पाएकी हुन् । सग्लो दललाई एकतावद्ध राख्न रामकुमारीजस्ता युवा नेताहरु असफल भएकै हुन् । कम्युनिष्ट आन्दोलनमा भएको भारी क्षतिपछि यदि कोही मन्त्री बन्नुको उत्सव मनाउँछ भने बेग्लै कुरा ।

मन्त्री भएपछि सायद रामकुमारी पनि परम्परागत फ्रेमभित्र समाहित हुनेछिन् । अब उनको वाणी मधुर हुनेछ । आक्रामक रवैया नियन्त्रणमा आउनेछ । अब जिम्मेवार भएको बोध गर्दै उनी हालसम्म मन्त्री भएकाहरुले बोल्ने खालको भाषा बोल्न थाल्नेछिन्, ‘सरकार यस्तो गर्दैछ, प्रतिफल आउन त समय लागीहाल्छ, बल्ल संविधान कार्यान्वनयमा आएको छ’ आदि इत्यादि ।

मन्त्री नहुँदासम्म चर्को र उग्र कुरा गर्ने, मन्त्री भएपछि सेलाउने । अर्थात राजनीतिको समग्र संस्कार, परम्परागत ढर्रा, विचार र सिद्धान्तमा जबरजस्त हस्तक्षेप गर्नसक्ने युवा पुस्तालाई मन्त्रीसम्म बनाएर ‘तेजोबध’ गर्न शिर्ष नेताहरु खप्पीस देखिन्छन् ।

युवा नेता घनश्याम भुषाल पार्टी नेतृत्वका गलत रवैयाको खरो आलोचक थिए । घनश्यामले मन्त्री हुनुअघि सार्वजनिक समारोहमा व्यक्त गरेका भनाइ ‘रिवाइन्ड’ गरेर सुन्ने हो भने उनलाई ‘चे ग्वे भारा’ भन्दा हुन्छ । नेताहरु साँझदेखि विहानसम्म दलाल पुँजीपति र विचौलीयाको चँगुलमा फसेको भन्दै उनी कुर्लन्थे ।

जब टेलिभिजन कार्यक्रममा घनश्यामलाई सोधियो, ‘तपाईं ओली सरकारमा मन्त्री हुँदै हुनुहुन्छ नी ।’ घनश्यामले भनेका थिए, ‘अहिलेको जुन सत्ता छ, यसमा मन्त्री भएर के नै हुन्छ र ? केका लागि मन्त्री हुने भन्ने प्रश्न महत्वपूर्ण हुन्छ ।’

आखिर केही दिनपछि उनी ओली सरकारमा माधव समूहको कोटाबाट कृषि मन्त्री भए । मन्त्री नहुँदा शासनसत्ताको रवैयाबारे चर्को आलोचना गर्ने उनको पालामा मल आयातसमेत हुन सकेन । आखिर, उनले मन्त्रालयको परम्परागत व्यूह तोड्न सकेनन् । सायद उनलाई लाग्यो, बाहिर बसेर उग्र कुरा गर्नुजस्तो सजिलो मन्त्री भएर हुँदोरहेनछ ।

अचेल घनश्याम र योगेशहरुको उग्रता चिसिएको छ । माधव समूहकै कोटामा मन्त्री बनेकाहरु माधवले गठन गरेको नयाँ दलमा गएनन् । यी युवा नेताले पनि राजनीतिक अस्तित्वको हिसाब किताब गरे । कता जाँदा निजी फाइदा हुन्छ भन्ने आँकलन गरे । राजनीतिक लाइन या पक्षधरताको कुरा हुन्थ्यो भने उनीहरु ओलीसँगै एमालेमा रहिरहनुमा कुनै तुक देखिँदैन । ओली इतरकै राजनीति हो, उनीहरुले रोज्ने । तर, माधवसँगै जाँदा राजनीतिक भविष्य दाउमा लाग्ने चिन्ता भयो ।

घनश्याम, योगेश या गोकर्णहरुमा यथास्थितिमाथि जबरजस्त धक्का दिने उर्जा जुन थियो, त्यो अचेल शिथिल भएको छ । मन्त्री बनेपछि उनीहरु सेलाएका छन् । सत्ता राजनीतिको चस्काले उनीहरुलाई उही पुरानै राजनीतिक संस्कार र शैलीको परम्परागत लिग्यासीमा हुलेको छ ।

रामकुमारी पनि उग्र बोली र बोल्ड स्वभावबाटै नेता रिझाएर मन्त्री पदसम्म पुगेकी छिन् । राजनीतिक सेलीब्रेटीले यत्तिको मौका पाउनु नेपालजस्तो मुलुकमा सामान्य हो । यो देशमा मन्त्री हुन धेरै माथापिच्ची गर्नै पर्दैन, कम समयमै ह्वात्तै चर्चामा आउनासाथ मिडियाले नै हल्ला गरिदिन्छन्, सम्भावित मन्त्री भनेर ।

अनि त्यही मिडिया पढेर, सुनेर र हेरेर नेताले पनि व्यक्तिका बारेमा धारणा बनाउँछन् । आफ्नो नजिकमा रहेको र सँधै आफु वरिपरि देखिने सहज अनुहार नै मन्त्रीका रुपमा चुनिन्छन् ।

रामकुमारीको यात्रा मन्त्री पदसम्म मात्रै हो भने बेग्लै कुरा, यदि यथास्थितिमा कायम रहेको राजनीति र सत्ताको परम्परागत संस्कार बदल्ने हो भने उनी कहिलेसम्म मन्त्री पदमा टिक्लिन्, त्यो भन्न सकिँन्न ।

कुनैबेला काँग्रेस सरकारमा शैलजा आचार्य र जगन्नाथ आचार्यले त्यही संस्कारको विरोधमा राजीनामा दिएका थिए । उनीहरुले गिरिजाप्रसाद कोइरालाजस्ता प्रधानमन्त्रीसँग विमती जनाउने साहस राखेका थिए । घनश्याम र योगेशमा त्यो साहस देखिएन, रामकुमारीमा पनि देखिने छाँटकाँट छैन ।

काँग्रेसबाट मन्त्री भएका अनुहारबाट पनि त्यो सम्भावना छैन । बस, मन्त्री भएपछि राजनीतिको एउटा सफलता उक्लियो भन्ने बोध गरेर रमाउनुबाहेक यो पुस्ताबाट केही अपेक्षा नगरौं ।

मन्त्रीसम्मको राजनीतिक यात्रामै अलमलिएको नयाँ पुस्ताबाटसमेत आस गर्न सकिने ठाउँ नभएपछि आम सर्वसाधारणमा निराशा बढ्नु स्वाभाविकै हो ।

राजनीति मुल्यहीन, हल्का भइरहेको छ । यसको गहनता र ओज खस्केको छ । अतः भोली जोसुकै मन्त्री भए पनि आश्चर्य नमान्दा हुन्छ । प्रधानन्यायाधीशका जेठान भनेर प्रचारित गजेन्द्र हमालको के कुरा ?