बैतडी– पहिलो चरणअन्तर्गत आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बैतडीमा यसअघि संविधानसभाको निर्वाचनमा विजयी भएका पूर्वसांसदबीच टक्कर हुने भएको छ ।


ADVERTISEMENT


दोस्रो संविधानसभा निर्वाचनका बेला दुई क्षेत्र रहेको बैतडीमा क्षेत्र नं १ बाट नेकपा एमालेका दामोदर भण्डारी विजयी भएका थिए भने क्षेत्र नं २ बाट नेपाली काँग्रेसका नरबहादुर चन्द विजयी भएका थिए । भण्डारी केपी ओली सरकारका बेलामा अर्थराज्यमन्त्री बनेका थिए भने चन्द अहिले वाणिज्यराज्यमन्त्री छन् ।


ADVERTISEMENT

# # #


जिल्लामा आसन्न निर्वाचनका लागि प्रतिनिधिसभाका लागि एउटा मात्र क्षेत्र रहेकामा पूर्वराज्यमन्त्री भण्डारी र बहालवाला राज्यमन्त्री चन्द चुनावी मैदानमा उत्रिएकाले चुनावी प्रतिष्पर्धा रोचक हुने देखिएको छ ।

पूर्वअर्थराज्यमन्त्री भण्डारी वाम गठबन्धनका तर्फबाट साझा उम्मेदवार बनेका छन् भने वाणिज्यराज्यमन्त्री चन्द लोकतान्त्रिक गठबन्धनका तर्फबाट चुनावी मैदानमा छन् । संविधानसभा निर्वाचनमा भण्डारी १ नं क्षेत्रबाट ११ हजार ६७१ मतसहित विजयी भएका हुन् भने चन्द २ नं क्षेत्रबाट १२ हजार ४६६ मत ल्याई विजयी भएका थिए ।

जिल्लामा स्थानीय तहको निर्वाचनको मतपरिणामलाई हेर्दा वाम गठबन्धनको बढी मत छ । जिल्लाका १० स्थानीय तहमध्ये ६ स्थानीय तहको प्रमुखमा काँग्रेस विजयी भएको हो । तीन स्थानीय तहमा एमाले तथा एक स्थानीय तहको प्रमुखमा माओवादी केन्द्रले जित हात पारेको थियो ।

जिल्लाको ८४ वटा वडामा एमालेले २७ हजार ३८९ र माओवादी केन्द्रले १८ हजार ७१९ मत प्राप्त गरेको थियो । काँग्रेसले २७ हजार ८७ मत प्राप्त गर्दा राप्रपाले ६ हजार ४०४ मत पाएको थियो । तर स्थानीय तहको निर्वाचनमा खसेको अधिकांश मत मतदाताले पार्टीभन्दा पनि व्यक्ति रोजेको हुनसक्ने भएकाले स्थानीय तहको निर्वाचनको मतलाई पार्टीलाई दिएको भनेर भन्न सकिने अवस्था छैन ।

पूर्वप्रधानमन्त्री तथा राप्रपाका पूर्वअध्यक्ष लोकेन्द्रबहादुर चन्दको गृहजिल्ला बैतडीमा काँग्रेसले राप्रपासँग चुनावी तालमेल गरेको छ । प्रदेश नं ७ को बैतडीमा मात्र राप्रपाले गणेश चन्दलाई उम्मेदवार बनाएर चुनावी मैदानमा उत्रिएको छ ।

प्रतिनिधिसभा सदस्यका दुवै उम्मेदवारले आफ्नो जित सुनिश्चित भएको दाबी गरेका छन् । सारा कम्युनिष्ट एक भए पनि आफू लोकतन्त्रको पक्षमा रहेकाले आफ्नो जित सुनिश्चित भएको लोकतान्त्रिक गठबन्धनका उम्मेदवार चन्दको भनाइ छ । लोकतन्त्रको रक्षा र संविधानको पूर्ण कार्यान्वयन गर्न लोकतान्त्रिक गठबन्धन विजयी हुन्छ उनले भने, “देशको विकास र आर्थिक समृद्घिका लागि लोकतान्त्रिक गठबन्धनले जित्नुपर्छ ।” आफुले जितेको खण्डमा मात्रै समग्र बैतडीको विकास हुने उनले दाबी गरे ।

जारी गरिएको संविधानलाई कार्यान्वयन गर्दै आत्मनिर्भर अर्थतन्त्रको बाटोबाट मुलुकको विकास गरी समाजवादको दिशातर्फ अघि बढ्न आफूहरुको उम्मेदवारी भएको वाम गठबन्धनका उम्मेदवार भण्डारी बताउँछन् । जिल्लाको विकासका लागि सधैँ लागिपरेको बताउँदै भण्डारीले आफू विजयी भए बैतडीको मुहार फेरिने दाबी गरे । उनले भने, “सडक, शिक्षा, स्वास्थ लगायतका विकासका पूर्वाधारमा जोड दिइनेछ ।”

यसैगरी प्रतिनिधिसभाका लागि जिल्लामा विवेकशील साझा पार्टीका तर्फबाट नारायणदत्त अवस्थी, राष्ट्रिय जनमोर्चाबाट वीरेन्द्रसिंह भण्डारी र एकीकृत राप्रपा राष्ट्रवादीबाट त्रिलोकबहादुर चन्दसमेत चुनावी मैदानमा उत्रिएका छन् ।

प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनबाट हरिमोहन भण्डारी, वाम गठबन्धनबाट प्रेमप्रकाश भट्ट, राष्ट्रिय जनसमाजवादी पार्टीबाट भगिरथसिंह कुँवर, राष्ट्रिय जनमोर्चाबाट अर्जुनसिंह मडै र राष्ट्रिय मुक्ति आन्दोलन नेपालबाट दिलीपराज पाण्डे चुनावी मैदानमा रहेका मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिए ।

प्रदेशसभा (ख) मा लोकतान्त्रिक गठबन्धनबाट गणेश चन्द र वाम गठबन्धनबाट लीलाधर भट्ट चुनावी मैदानमा छन् । चुनावलाई लक्षित गरेर जिल्लामा राजनीतिक दलले चुनावी अभियानलाई तीव्रता दिएका छन् । राजनीतिक दलहरु मत माग्न गाउँकेन्द्रित भएका छन् । वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच नै मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

एक लाख ३२ हजार ३१९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभाका लागि एउटा र प्रदेशसभामा दुईवटा निर्वाचन क्षेत्र निर्धारण गरिएको छ ।