पोखरा – पोखरा महानगरपालिकाले बजार अनुगमन सुरु गरेको छ । बजारमा दशैंको किनमेल गर्नेको भीड बढेको र उपभोक्ता चर्को मूल्य तिर्न बाध्य बनेका गुनासासँगै अनुगमन सुरु गरिएको महानगरले जनाएको छ ।


ADVERTISEMENT


उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा आइतबार चाउथेस्थित खसी बजारको अनुगमन गरिएको थियो । पोखरा र यस क्षेत्रलाई केन्द्रित गरी सो बजारबाट मुख्य गरी खसी, बोका बिक्री हुँदै आएको छ । व्यवसायीले दाङ, सुर्खेत, कैलाली, प्युठान, अर्घाखाँचीलगायतका जिल्लाबाट बजारमा खसी÷बोका आपूर्ति गर्दै आएका छन् । चाडपर्वको बेलामा व्यवसायीले कृत्रिम अभावदेखि मूल्यवृद्धि गर्ने गरेको गुनासो आउने गरेका कारण अनुगमन गरेको महानगर उपप्रमुख गुरुङले भने, “चाडपर्वमा उपभोक्ता नठगिउन् भन्ने उद्देश्यले पोखरामा बजार अनुगमनलाई निरन्तरता र तीव्र बनाउनेछौं ।”


ADVERTISEMENT

# # #


महानगर पशु सेवा शाखाका प्रमुख नवराज अधिकारीले दशैंमा मासुजन्य पदार्थमा उपभोक्ता बढी ठगिन सक्ने भएकाले स्थलगत अनुगमन गरिएको बताए । यस वर्ष खसी बोका र च्याङ्ग्राको मूल्य विगत भन्दा धेरै वृद्धि भएको गुनासो उपभोक्ताको छ । दशैंको समयमा बढी खसी, बोका तथा च्याङ्ग्रा बिक्री हुने स्थलमा नियमित अनुगमन गरिने उनले जानकारी दिए । उनका अनुसार हेमजा, बगर र चाउथेलगायत स्थानमा दसैँभर अनुगमन गरिनेछ ।

अनुगमनका क्रममा व्यवसायीलाई उपभोक्तालाई बढी मूल्य नलिन र बिरामी खसी बोकालाई छुट्टै राख्ने व्यवस्था गर्न सुझाव दिएको अधिकारीले जानकारी दिए । चाउथेमा सञ्चालित सुनिल फ्रेस हाउस बिना दर्ता सञ्चालन भएको पाइएपछि बन्द गराइएको छ । महानगरमा दर्ता नगरी सञ्चालन गरिएको पाइएकाले दर्ता गरेर मात्रै सञ्चालन गर्न निर्देशनसहित पसल बन्द गराइएको महानगरले जनाएको छ ।

चाडपर्वमा म्याद गुज्रेका सामग्री बिक्री वितरण गर्ने, बढी मूल्य लिने र बिना इजाजत पसल सञ्चालन गर्ने गरेको गुनासो आउने गरेको बताइन्छ । गण्डकी प्रदेशको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले समेत खसी तथा च्याङ्ग्रा बजारको अनुगमन सुरु गरिएको जनाएको छ । रासस