डा. रेम कुमार राई : मेडिकल सुपरिडेन्ट तथा वरिष्ठ अर्थाेपेडिक सर्जन, टीकापुर अस्पताल ।


ADVERTISEMENT


१. हाड भनेको के हो ?


ADVERTISEMENT

# # #


शारीरिक संरचना अन्तर्गत शरीरमा भएको एक कडा किसिमको तन्तु नै हाड हो । सामान्यतयाः बस्न हिडडुल गर्नदेखि शरीरलाई उचित आकार र आशन दिन एवम् कुनै पनि शारीरिक कार्य गर्नको निम्ति मद्दत गर्ने हाडलाई शरीरको अत्यन्तै महत्वपूर्ण पक्षको रुपमा लिइन्छ ।

२. शरीरमा हाडजोर्नी स्वास्थ्यको महत्व के छ ?

शरीरलाई चलायमान राख्नको निम्ति अत्यावश्यक मानिने हाडमा समस्या देखिएको खण्डमा व्यक्तिमा दुखाई एवम् असहजपन संगसंगै दैनिक दिनचर्यामा समेत समस्या देखिने हुन्छ । यसभित्र सदैव हड्डी बन्ने र सोसिने गतिशील चक्र चलिरहेको हुन्छ । तसर्थ सदैव सक्रिय रहने यस तन्तुलाई हामीले लामो समयसम्म नचलाई निस्क्रिय राखी राखेको खण्डमा आवश्यक रक्तसञ्चारको अभाव हुन गई त्यो क्रमशः सुक्दै जान्छ । त्यसपश्चात् भने व्यक्ति हिडडुल त परै जाओस्, आफुले चाहे जसरी आफ्नो शरीरलाई चलाउन समेत असक्षम हुन्छन् ।

२. हाडसम्बन्धी देखिने समस्याका प्रकारहरु के–के हुन् ?

व्यक्तिको जीवनकालमा फरक–फरक उमेरमा कुनै न कुनै किसिमले हाडसम्बन्धी समस्या देखिने गरेको पाइन्छ । हाडसम्बन्धी देखा पर्ने समस्यालाई विशेषतः दुई भागमा विभाजन गरेर बुझ्न सकिन्छः

क) जन्मजात (कन्जेनिटल)

कतिपय अवस्थामा कुनै–कुनै शिशुमा जन्मजात रुपमा नै हाडसम्बन्धी समस्याहरु देखिने पनि हुन्छ । यस्तो अवस्था विभिन्न कारणवश् कुनै पनि शिशु जन्मनु अगावै अर्थात्, आमाको गर्भमा रहदा नै उचित विकास हुन नसक्दा यस्तो समस्या देखा पर्दछ ।

यस्तै, आणुवंशिक कारण पनि विभिन्न समस्याहरु देखा पर्ने हुन्छ। ‘हेरिडिटि डिसअर्डर’ पनि भनिने यस्ता समस्या पनि कुनै पनि व्यक्तिले जन्मजात रुपमै लिएर आएका हुन्छन् । उदाहरणका लागि हामीले ‘ओस्टियोजेनसीस इम्पर्फेक्टा’ लाई पनि लिन सकिन्छ । यसमा व्यक्तिको एकै ठाउँको हाड पटक–पटक भाँचिने र एकै किसिमको समस्या धेरै पटकसम्म देखा पर्ने हुन्छ । यस्तो केशमा बिरामीको समस्याको पूर्ण निर्मूल गर्न नसकिने हुँदा बिरामीले धेरै दुःख पाउने हुन्छ । यद्यपि हामीले हाड स्वास्थ्यको उचित ख्याल राखेर भने हामीले यसको जोखिमलाई न्युनीकरण गर्न सक्छौ ।

ख) जन्मपश्चात् हुने(एक्वायर्ड)

हाडसम्बन्धी देखिने ‘एक्वायर्ड’ समस्या भन्नाले कुनै पनि व्यक्तिमा जन्मजात रुपमा नभई कुनै न कुनै जीवन कालखण्डमा पछि क्रमशः रुपमा देखापर्ने समस्या भन्ने बुझिन्छ । अर्थात् बढ्दो उमेर समूहमा व्यक्तिको जीवनकालमा कुनै न कुनै हाडसम्बन्धी समस्याले सताएको देखिन्छ । जसलाई नै हामी हाडसम्बन्धी देखिने ‘एक्वायर्ड’ समस्या भन्छौ ।

३. कुन उमेर समुहका व्यक्तिलाई कस्ता–कस्ता हाड समस्याले सताउँछ ? 

-भर्खरका युवामा देखिने समस्या 

वयस्क र युवा समूहलाई एक विशेष बाथ रोगले सताउने गरेको पाइन्छ । जसलाई ‘एङ्किलोजिङ्ग स्पोनडाईलिटिस’ भनिन्छ । मेरुदण्डलाई बढी असर गर्ने यसमा पनि जोर्नीको लचकपना हराउन गई हड्डीहरु जाम हुन पुग्दछ । जसबाट व्यक्तिलाई गाहृो हुने, शरीर कक्रक्क पर्ने, मुन्टो उठाएर माथि पनि हेर्न नसकिने र राम्ररी शरीर चलाउन समेत नसकिनेजस्ता समस्याहरु देखा पर्दछ ।

यसैगरि, युवा अवस्थामा ढाड, कम्मर दुख्ने र दुखाई एउटा अथवा दुवै खुट्टातिर सरेर जाने, अझ जटिल बनेमा खुट्टाका छाला निदाउने, खुट्टाका औँलाहरु मात्र वा पूरै खुट्टा लुलो हुने पनि हुनसक्छ । यो चाहिँ प्राय: कडा श्रम गर्दा (जस्तोः भारी सामानहरु उचाल्दा वा धकाल्दा) दुई मेरुदण्ड हड्डीबीचको ‘डिस्क’ भनिने नरम कुशनले खुट्टामा जाने स्नायु नशाहरुलाई च्यापेर हुने गर्छ । यस किसिमको नशा च्यापिएको अवस्थाको उपचारमा फिजियोथेरापीको महत्पूर्ण भुमिका हुन्छ ।

यस्तै, अन्य शारीरिक समस्याका कारण देखिने अझ भन्नुपर्दा मुलतः आन्द्रा रोगसंग सम्बन्धित समस्याका कारण देखिने ‘इन्टेरोप्याथिक आर्थराइटिस’, आँखा, पेट तथा पिसाब संक्रमणका कारण ‘रियाक्टिभ आर्थराईटिस’, छालाको सोरायसिस रोगका कारण देखिने ‘सोरियाटिक आर्थराइटिस’, क्षयरोगका कारण ‘ट्युबरकुलर आर्थराईटिस’ तथा आकस्मिक अवस्थामा देखापर्ने जोर्नीमा नै किटाणु गएर बस्ने ‘सेप्टिक आर्थराईटिस’ लगायतका रोगहरुले पनि व्यक्तिलाई सताएको देखिन्छ ।

यसैगरी, अत्याधिक प्याराथाइरोइड हार्माेनको उत्पादनले हड्डिबाट क्याल्सियम लवण निकाली रगतमा पठाउँदा हड्डी पातलो बनाउने र हड्डी असामान्य भई र हड्डी पानीको फोका ‘सिस्ट’ बनेर बस्ने हुन्छ । विभिन्न थाइरोइड तथा प्याराथाइरोइड हार्माेनका कारण पनि हड्डी कमजोर र विकलांग हुने समस्या पनि देखापर्छ ।

-४० वर्षमाथिका समूह

सामान्यतयाः ४० वर्षको उमेर कटेपछिको उमेर समूहका सन्दर्भमा भन्नुपर्दा, यस समूहका अधिकांश व्यक्तिलाई ‘ओस्टियो आर्थराईटिस’ समस्याले सताएको देखिन्छ । यस अन्तर्गत जोर्नी खिइएर जाने हुँदा यसले व्यक्तिमा हातगोडा कट्कट् खाने र दैनिक क्रियाकलापमा समेत असहज महशुस गराउने समस्या निम्त्याउँछ । प्रायः घुँडा, घाँटी र कम्मरको मेरुदण्डलाई यस किसिमको आर्थराईटिसले ग्रसित गर्ने गर्छ । मेरुदण्ड खिइएपछि ‘ओस्टियोफाइट’ नामक चोसोजस्तो हड्डी थपिने हुँदा त्यसले नशा जाने बाटो अत्याधिक साघुँरो बनाईलिने भएकोले यो समूहमा नशा च्यापिएको लक्षणहरु समेत देखा पर्ने गर्छन् ।

यसबाहेक अझ योभन्दा बढी उमेर समूह विशेषगरीः ६० वर्ष कटेपछिका वर्गहरुमा हड्डी खिइएर पातलो हुदैँ जादाँ ‘ओस्टियोपोरोसिस’ वा ‘अस्थिछिद्र रोग’ नामक समस्या पनि देखिन्छ । अझ विशेषगरी महिलाहरुमा महिनावारी चक्र बन्द भइसकेपश्चात्, ‘एस्ट्रोजेन’ नामक हार्माेन असन्तुलनको कारण हड्डी पातलो हुने हुँदा यो रोगले तुलनात्मक रुपमा महिलालाई बढी सताएको देखिन्छ ।

यी बाहेक दुर्घटनापश्चात् एवम् शरीरमा हुने विभिन्न रोगहरु वा हार्माेनको गडबढीले सबै उमेर समूहलाई हड्डी फ्याक्चरको समस्याले पनि सताएको देखिन्छ ।

४. हाडलाई नोक्सान/जोखिम पुर्‍याउने कारक तत्व (रिस्क फ्याक्टर)हरु ?

सामान्यतयाः अधिकांशको के बानी छ भने हामी आफुलाई हाडसम्बन्धी कुनै पनि समस्या नदेखेसम्म हाड स्वास्थ्यमा खासै ध्यान दिदैँनौ । तसर्थ हामीले गर्ने बेवास्ता नै हाडसम्बन्धी समस्याको प्रमुख कारण हो । यद्यपि यसलाई निम्न पक्षहरुले थप बढावा दिइरहेको हुन्छ :

–बढ्दो उमेर
–आणुवंशिक
–मोटोपन
–पोषणयुक्त खानपिनको अभाव
–लामो समयसम्म एकै आसनमा बस्दा वा शरीर निस्क्रिय राख्दा
–उचित व्यायामको अभाव
–हार्माेनको असन्तुलन
–विभिन्न किसिमका हानिकारक विकिरण
–स्टेरोइड तथा पेनकिलर जस्ता औषधिको जथाभावी प्रयोग
–धुम्रपान तथा मद्यपानको सेवन
–र, अन्य स्वास्थ्य समस्या।

५. हाड स्वस्थ एवम् बलियो बनाउन के गर्नुपर्छ ? 

हामीले विशेषतः हाडलाई हानी गर्ने र जोखिम पुर्‍याउने कारक तत्वहरु बाट टाढा रहनु नै हाडलाई स्वस्थ एवम् बलियो बनाउने सर्वाेत्तम उपाय हुन् । यसका लागि शारीरिक रुपमा सक्रिय भई शरीरले धान्न सक्ने जति मात्रै व्यायाम गरी भिटामिन-डी, फसफोरस तथा म्यानेशियमयुक्त खानाको सेवन गर्नुपर्छ ।

यसबाहेक कतिपय समस्याहरु हामीलाई सामान्य लागेपनि कालान्तारमा गई त्यसले उग्र रुप लिने हुन्छ । तसर्थ कुनै पनि समस्यालाई सामान्य रुपमा नलिई त्यस समस्याबारे चिकित्सकको सल्लाह लिने गर्नुपर्छ । यस्तै, शरीरमा भएका अन्य रोगहरुले पनि हाडलाई पातलो बनाई विभिन्न समस्याहरु निम्त्याउने हुँदा हामीले बेला–बेलामा सम्पूर्ण शरीरको परीक्षण (होलबडी चेकअप) गराउनु पनि उचित रहन्छ ।

यसैगरी, लामो समयसम्म अफिस तथा एकै कोठाभित्र बसेर काम गरिरहने समूहहरुमा भिटामिन-डी को कमी हुने भएकाले त्यस्ता समूहले समय–समयमा सप्लिमेन्ट लिने तथा सकेसम्म दिनमा आफ्ना शरीरको करिब ४० प्रतिशत भाग घामतर्फ फर्काएर २०–४० मिनेटसम्म सेकाउनुपर्छ ।

६. नेपालमा हाड स्वास्थ्य उपचारमा देखिएका चुनौती के–के हुन्?

हाडजोर्नीको सेवा भनेको एक किसिमको विशेष खालको सेवा हो । तसर्थ नेपालको अझैपनि कतिपय दूर–दराज गाउँहरुमा यस सेवाको विस्तार भइ नसकेको अवस्था नै हाड स्वास्थ्य उपचारमा देखिएको मुख्य चुनौती हो । किनकी विकट गाउँहरुमा हेर्ने हो भने दुर्घटना वा अन्य विविध कारणवश समस्या देखिँदा हाडजोर्नी सम्बन्धी तत्काल सही रोगको पहिचानको अभावमा उचित उपचार पाउन नै गाह्रो हुन्छ । जसले व्यक्तिमा पीडासँगै असहजता सिर्जना त गर्छ नै, सँगसँगै लामो समयपछि उपचार पाउँदा गर्न सकिने निदान र निर्मूलीकरण पनि असम्भव हुने अवस्था आइपर्छ । जसबाट बिरामी मात्र नभई चिकित्सक नै हैरान हुने अवस्था उत्पन्न हुन्छ ।

चिकित्सकको उचित परामर्शबिना नै जथाभावी औषधिको सेवन गर्नु पनि हाड स्वास्थ्यमा देखिएको अर्काे चुनौती हो । उसो त, जथाभावी औषधि सेवन समग्र स्वास्थ्यकै लागि नकरात्मक हो । यस्तै, हाडजोर्नीको सन्दर्भमा भने हाडजोर्नी शरीरको सम्पूर्ण भागमा फैलिएर बस्ने हुँदा त्यसले समग्र शरीरको बनावटमा नै असर पारी राम्ररी शरीरका भागहरु चलाउन समेत नसक्ने अवस्था निम्त्याउँछ ।

यसमा पनि के देखिएको छ भने, शहरी क्षेत्रका व्यक्तिहरु बढ्दो इन्टरनेट पहुँचका कारण आफुलाई पीडा महशुस भए अथवा समस्या देखिए अनुरुप उपचार नै नगरी फार्मेसीमा गई जथाभावी पेनकिलर औषधि किनेर खान्छन् । यसरी जथाभावी औषधि खरीद गरेर खाने व्यक्ति स्वयम् र बिक्री वितरण गर्ने  प्यारामेडिकलको मनोमानीका कारण अन्तत: कालान्तरमा गई बिरामीले दुःख पाउने हुन्छ ।

यसैगरी, दूर दराजका स्वास्थ्य केन्द्रहरुमा भने दक्ष जनशक्तिको अभावमा एकै विशेषज्ञ अर्थात् स्वास्थ्यकर्मीले सबैखाले बिरामी हेर्नुपर्ने अवस्था छ । जसकारण पनि दक्षता एक पाटो र उपचार गर्नुपर्ने पाटो अर्काेजस्ता बाध्यता भएकाले उनीहरुले पनि समस्याको उचित पहिचानबिना नै औषधिको सुझाव दिने गरेको पाइन्छ । तसर्थ त्यस्ता औषधिले तत्कालका लागि बिरामीलाई राहत दिएता पनि कालान्तारमा गई हाडजोर्नी गलाउने, खिइने लगायतका विभिन्न किसिमका समस्या निम्त्याउँछ ।

अर्काे चुनौती हाडजोर्नी सम्बन्धी उपचार खर्चिलो हुनु पनि हो । एक त सबै ठाउँमा हाडजोर्नी सम्बन्धी सेवा नपुगेका कारण लामो दूरी तय गरेर आउनुपर्ने बाध्यता हुँदा बिरामीले उपचारसंगै यातायातका लागि पनि छुट्टै खर्चको जोहो गर्नुपर्ने अवस्था छ, भने अर्काेतर्फ हाडजोर्नीको उपचार निदान हुन लामो समयसंगै उपचारका लागि आवश्यक स्टील र टाईटेनियम धातुका इम्प्लान्ट लगायतका सामाग्रीहरु धेरै लाग्ने भएकाले पनि खर्चिलो हुने गर्छ ।

७. अन्त्यमा चुनौती निराकरणका लागि सरकारी स्तरबाट थालिनु पर्ने पहलहरु के–के हुन् ?

सरकारले दक्ष जनशक्तिलाई सही रुपमा परिचालन गर्न नसक्दा भएका जनशक्तिहरु विदेश पलायन हुने संस्कृति झन्झन् मौलाउँदै गएको देखिन्छ । तसर्थ यो संस्कृतिलाई हतोत्साहित गर्नका लागि सर्वप्रथम त, सरकारले मुख्य रुपमा भएका दक्ष जनशक्तिलाई आवश्यक सेवा सुविधा तथा व्यवस्थाका साथसाथै नेपालको सबै भूगोलमा उचित रुपमा परिचालन गर्न सक्नुपर्‍यो ।

यस्तै, सबै स्थानमा हाडजोर्नी सेवाको विस्तारसंगै सरकारले यातायात र आवतजावतको पनि सहजीकरण समेत गर्नुपर्ने हुन्छ । अर्काे भनेको दूरदराजमा रहेका स्वास्थ्यकर्मीले पनि आफूले नसके कडा औषधि पनि नचलाई बिरामीलाई सम्बन्धित विशेषज्ञकोमै रिफर गर्नुपर्ने व्यवस्था ल्याउनुपर्छ भने उनीहरुले कुन–कुन औषधि प्रेस्किप्शनमा लेख्न पाउने? भन्ने परिपाटीको विकास गरी यस विषयसम्बन्धी उचित नियम बनाइनु पर्छ ।

यसैगरि, फार्मेसीले पनि चिकित्सकको प्रेस्किप्शनबिना कुन–कुन औषधि बिक्री वितरण गर्न पाइने र कुन नपाइने ? भन्ने विषयमा समेत उचित कानुन व्यवस्थाको निर्माण गर्दै औषधि बिक्रि वितरणको दायरा सीमित बनाउनु पर्छ । यसले बिरामीको स्वास्थ्यमा थप हानी हुने जोखिमलाई त कम गराउँछ नै सँगसँगै बिरामीले रोगको उचित पहिचानद्धारा समयमै उपचार पाउने सम्भावना पनि प्रबल रहन्छ ।

यसबाहेक, तुलनात्मक रुपमा निजीमा भन्दा सरकारी अस्पतालमा उपचार खर्च कम पर्न गएता पनि हाडजोर्नी उपचारको अवधि अन्यको तुलनामा लामो समय हुने हुँदा यो उपचार निकै खर्चिलो हुन्छ । जुन विपन्न वर्गका परिवारको पहुँचभन्दा टाढा रहेको देखिन्छ । तसर्थ यस विषयमा पनि बिरामीको स्वास्थ्य एवम् आर्थिक अवस्था अनुसार सरकार केही हदसम्म उदार हुनुपर्ने देखिन्छ ।

(डा. राईसंग हिमालय पोष्टकर्मी सृजना मगरले गरेको कुराकानीमा आधारित ।)