काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले सय दिनमा गरेको कामले नै यो सरकारले आगामी दिनमा कस्तो काम गर्छ भनी आकलन गर्न सकिन्छ । आखीर बिहानले नै रातको संकेत गर्ने गर्दछ । सरकार हाल आफूले गरेको कामको आत्मरतिमा रमाइरहेको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले कोरोनाविरुद्धको खोप दिनमा उल्लेखनीय काम गरे पनि अन्य क्षेत्रमा भने सरकार निदाइरहेको देख्न सकिन्छ ।


ADVERTISEMENT

# # #


मंगलबार सय दिन पूरा भएपछि प्रधानमन्त्रीको सचिवालयले १ सय दिनको अवधिमा सरकारले हासिल गरेको उपलब्धिको २४ वटा सूची सार्वजनिक गरेको छ । सरकारले सन्तुलित परराष्ट्र नीति लिएको, खोप कूटनीतिमा सफलता प्राप्त गर्नुको साथै १ करोड ५० लाख खोप व्यवस्थापनलाई उपलब्धिका रूपमा प्रस्तुत गरेको छ ।

लक्ष्यअनुसार ३२ दशमलव ६ प्रतिशतले पूर्ण खोप लगाएको बताउँदै सचिवालयले लगानीमैत्री वातावरणको सिर्जना गरेर निजी क्षेत्रलाई प्रोत्साहन गर्दै आर्थिक स्थिरता कायम गरेको उल्लेख गरेको छ । सरकारको उपलब्धिका रूपमा सचिवालयले कोभिडको मारमा परेका उद्योगी–व्यवसायीलाई राहत प्याकेज सार्वजनिक गरेको, कोभिड–१९ को प्रभावकारी रूपमा रोकथाम, नियन्त्रण तथा व्यवस्थापन गरेको, चुस्त सुरक्षा व्यवस्था गरेको, प्रभावकारी रूपमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न सफल भएको बताएको छ ।

यस अवधिमा राजस्व संकलनमा उल्लेख्य वृद्धि भएको उल्लेख गर्दै स्टार्टअप व्यवसायलाई प्रोत्साहन गर्ने कार्यविधि तथा कोष तयार गर्नुको साथै विद्युतीय लाइन विस्तार तथा विद्युत्को पहुँचमा वृद्धि गर्न सफल भएको पनि उपलब्धिका रूपमा राखिएको छ ।

सडक तथा यातायातको पहुँच विस्तार भएको, देशभर निःशुल्क कानुनी सहायता प्रदान गर्ने कानुनी मस्यौदा तयार भएको, सबै स्थानीय तहलाई इन्टरनेट सञ्जालमा जोडिएको बताउँदै सचिवालयले विद्युतीय माध्यमबाटै कर विवरण हेर्न तथा भुक्तानी गर्न मिल्ने व्यवस्था मिलाइएको बताएको छ ।

सरकारी कागजातहरूको डिजिटल अर्काइभिङ शुरु गरिएको, दुर्गम क्षेत्रमा गुणस्तरीय शिक्षाका लागि दुर शिक्षाको प्रक्रिया शुरु गरिएको, प्रकृतिक विपत्तिमा तत्काल उद्धार गर्ने व्यवस्था गरिएको, क्यान्सर, मिर्गौला र स्पाइनल इन्जुरीका विरामीलाई मासिक ५ हजार भत्ता दिने निर्णय गरिएको पनि सचिवालयले बताएको छ ।

सरकारले यस अवधिमा अति विपन्न गरिव घर परिवारलाई प्रतिघरपरिवार १० हजार रुपियाँका दरले राहत दिने घोषणा गर्नुको साथै युवा विद्यार्थी लक्षित ‘पढ्दै कमाउँदै’ कार्यक्रम र नारी समुदाय लक्षित ‘महिला पहिला’ कार्यक्रम घोषणा गर्नुको साथै साफ च्याम्पियनसिपमा उपविजेता बन्न सफल राष्ट्रिय टिमका खेलाडीलाई प्रोत्साहनस्वरूप जनही ५ लाख दिने घोषणा गर्नुलाई पनि आफ्नो उपलब्धि मानेको छ ।
सरकारले एक सय दिनको उपलब्ध सार्वजनिक गरे पनि महँगी नियन्त्रण गर्न असफल भएको, जनअपेक्षा अनुसारको काम अगाडि बढाउन नसकेको भन्दै नागरिकस्तरबाट आलोचना भएको छ ।

नेपाली कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाको समर्थनमा सर्वोच्च अदालतको परमादेशबाट देउवाको नेतृत्वमा गत असार २९ गते सरकार गठन भएको थियो । सरकार गठन भएको तीन महिनापछि मात्र बल्लतल्ल मन्त्रिपरिषद्ले पूर्णता पाएकोमा उद्योगमन्त्री गजेन्द्रबहादुर हमालले नियुक्ति पाएको दुई दिनमै राजीनामा दिएका थिए । रिक्त उद्योग मन्त्रालयमा प्रधानमन्त्री देउवाले अझै नयाँ मन्त्री नियुक्त गर्न सकेका छैनन् ।

सरकारले प्रमुख प्रतिपक्ष दल नेपाल कम्युनिस्ट पार्टी एमालेसँग समन्वय गर्न नसक्दा प्रतिनिधिसभाको बैठक नियमित रूपमा अवरुद्ध हुँदै आएको छ । प्रधानमन्त्री देउवाले संसद्लाई सहज रूपमा सञ्चालन गर्न बोलाएको सर्वदलीय बैठक एमालेले बहिष्कार गरेसँगै पुनः सर्वदलीय बैठक बस्न सकिरहेको छैन ।