रत्ननगर, चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक स्थायित्व र विकासका लागि अहिलेको निर्वाचन महत्वपूर्ण भएको बताएका छन् ।


ADVERTISEMENT


वाम गठबन्धनबाट चितवन निर्वाचन क्षेत्र नं ३ का उम्मेदवारसमेत रहेका दाहालले आज यहाँका मतदातासँगको भेटघाटका क्रममा संक्षिप्त प्रतिक्रिया दिँदै सो कुरा बताएका हुन् । आफ्नो उम्मेदवारी पनि राजनीतिक स्थायित्व र समृद्ध राष्ट्र निर्माणका लागि भएको उल्लेख गर्दै उनले भने — “यसैका लागि नै वाम गठबन्धन गरिएको हो ।”


ADVERTISEMENT

# # #


आज बिहान भरतपुरको पासरनगरबाट घरदैलो अभियान शुरु गर्ने क्रममा अध्यक्ष दाहालले जनताले विकास चाहेको छ, त्यसैले आम समुदायको चाहना पूरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरे ।

घरदैलोका क्रममा दाहाललाई स्थानीय मतदाता कृष्ण सापकोटाले गरेको प्रतिबद्धता पूरा गर्न आग्रह गरे। घरदैलोका क्रममा अधिकांश मतदाताले बाटोघाटोको व्यवस्थापन र विकास गर्न आग्रह गरेका थिए । घरदैलोमा आइपुगेका दाहाललाई स्वागत गर्दै अर्का मतदाता सरस्वती पौडेलले घर अगाडिको भत्किएको बाटो देखाउँदै, छिट्टै बनाउन आग्रह समेत गरे ।

आजै शरदपुर हुँदै ३ नम्बर निर्वाचन क्षेत्रका विभिन्न गाउँमा घरदैलो कार्यक्रम गरिने माओवादी केन्द्र चितवनका इञ्चार्ज ईश्वरी भट्टराईले जानकारी दिए । वाम गठबन्धनको अन्य निर्वाचन क्षेत्रका उम्मेदवार समेत अहिले चुनावी घरदैलो अभियानमा सक्रिय भएका छन् ।

यस्तै नेपाली काँग्रेस र राप्रपा प्रजातान्त्रिकलगायत लोकतान्त्रिक गठबन्धनमा आवद्ध उम्मेदवार समेत गाउँगाउँमा चुनावी प्रचार अभियानमा सक्रिय भएको प्रचार संयोजक तथा काँग्रेस जिल्ला सचिव उत्तम जोशीले जानकारी दिए ।