काठमाडौँ– विश्वमा वर्षेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको पाइएको छ ।


ADVERTISEMENT


विश्व पक्षघात दिवसका अवसरमा धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ चिकित्सक एवं न्यूरोलोजिष्ट डा राजु पौडेलले विश्वमा वर्षेनि एक करोड ३० लाख व्यक्तिलाई पक्षाघात हुने गरेको तथ्याङ्क सार्वजनिक भएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


‘पक्षघात भएकामध्ये एक तिहाइले अकालमा ज्यान गुमाउनुपरेको छ, यसलाई भयावह हुन नदिन सरकारले विशेष ध्यान दिनु जरुरी छ’, उनले भने । विश्वमा हरेक चार जनामा एक जनालाई र छ सेकेण्डमा एक जनालाई पक्षघातको सम्भावना रहेको डा. पौडेलको भनाइ छ । उनले नेपालजस्तो अल्पविकसित र विकासोन्मुख देशमा पक्षाघातको दर बढी भएकाले सरकारले समयमै ध्यान दिनु जरुरी रहेको उल्लेख गरे
। नेपालमा अहिले पक्षाघात भएकामध्ये १० प्रतिशतको मृत्यु हुने गरेको तथ्याङ्क छ ।

डा पौडेलले उच्च रक्तचाप, मधुमेह, मोटोपन, धुम्रपान, निस्क्रिय जीवन पद्धति, असन्तुलित आहार र मुटुको चाल गढबढ हुँदा पक्षघातको सम्भावना हुने भएकाले त्यसप्रति शर्तक रहनुपर्ने जनाएका छन् । लक्षण देखिए साढे चार घण्टाभित्रै अस्पताल पुग्न सकेमात्र उपचार सम्भव रहेको बताउँदै उनले यसका लक्षणअन्र्तगत व्यक्तिको सन्तुलन गुम्ने, अनुहार बाङ्गो हुने, आँखाको ज्योति अचानक गुम्ने, बोली लरबराउने तथा हातखुट्टा लुलो हुने बताए ।

पक्षघात हुँदा शरीरमा रगत जम्ने भएकाले रगत पातलो बनाउने औषधि प्रयोग गरेर बिरामीको उपचार गरिने र यसका अलावा बिरामीलाई फिजियोथेरापी गर्नुपर्ने समेत डा पौडेलले जानकारी दिए ।

आज २९ अक्टोबर अर्थात् विश्व पक्षघात दिवसका अवसरमा काठमाडौँको महाराजगञ्जदेखि सामाखुशी चोकसम्म जनचेतनामूलक कार्यक्रमसहित पदयात्रा गरिएको थियो । उक्त अस्पताल, नेशनल न्यूरो सेन्टर र नेपाल पक्षघात सङ्घको आयोजनामा गरिएको उक्त कार्यक्रममा अस्पतालका चिकित्सक, नर्स, कर्मचारी, सङ्घका पदाधिकारी एवं न्यूरो सेन्टरका कर्मचारीको सहभागिता रहेको थियो । रासस