विशाल हुमागाईं : सीईओ, प्रोग्रेशिभ फाइनान्स लिमिटेड


ADVERTISEMENT


प्रोग्रेशिभ फाइनान्सको यात्रा कसरी अघि बढिरहेको छ ?


ADVERTISEMENT

# # #


नाम जस्तै हामी प्रगतिकै पथमा छौं । फाइनान्सको दिनदिनै प्रगति भइरहेको छ । बीचमा कोरोनाले अर्थतन्त्र डाँमाडोल हुँदा हामी पनि त्यही चपेटामा पर्यौं । अहिले फेरि सम्हालिएर हिँड्ने क्रम जारी भएको छ । विस्तारै यसले दिर्घकालीन प्रगतिको बाटो समात्छ भन्ने तपाईं, हामी र जनमानसले बुझ्न सक्नुहुन्छ ।

तपाईं प्रग्रेशिभको सीईओ भएर आएपछि के–के कामहरु भए ? कस्ता कामहरु गरिरहनुभएको छ ?

मैँले यो संस्थाको लागि सीईओ हुनुभन्दा अघिबाट नै आफ्नो क्षमता प्रयोग गर्ने अवसर पाएँ ।  म यो संस्थामा एउटा म्यानेजरको रुपमा आउँदा हामी धेरै कुराले पछाडि थियौं ।  हामीसँग त्यतिबेला राष्ट्र बैंकले तोकेको न्यूनतम चुक्ता पुँजी पनि थिएन । “नन पर्फमिङ्ग लोन” अर्थात् खराब कर्जा कुल कर्जा लगानीको करिब ५० प्रतिशत थियो । अर्को कुरा हाम्रो फाइनान्सलाई नेपाल राष्ट्र बैंकले शीघ्र सुधारात्मक कारवाही गरेको अवस्था थियो । त्यो भनेको संस्था बिग्रिन आँटेपछि नियामक निकाय नेपाल राष्ट्र बैंकले शीघ्र सुधारका लागि लगाउने एक किसिमको अवरोध हो । छोटो समयमा हामीले सुधार “रिकभर” गरेनौं भने राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरिदिने अवस्था हो ।

त्यस्तो अवस्थामा संस्था जाँदा राम्रा कर्मचारीहरुले संस्था छोड्दै जाने अवस्था थियो । हामीसँग १५–१७ जना कर्मचारीहरु थिए त्यसमा पनि व्यवस्थापन तहमा म सहित जम्मा ३ जना र १ जना अधिकृत तहका कर्मचारी ।  अन्यत्र अवसर पाउन नसक्ने वा अवसरको खोजिमा रहेका कर्मचारीहरु मात्र हामीकहाँ बाँकी थिए । अनि केहीचाँहि बिग्रिसकेको त छैन, भोलि राम्रो हुन्छ, मिलेर हामिले बनाउनु पर्छ नि भन्ने संस्थाप्रति वफादार साथीहरु हुनुहुन्थ्यो । त्यतिबेला अन्यत्र अवसर खोजिरहेका कर्मचारी साथीहरुको काम १० बजे हाजिर गर्ने र बाँकी समय गफ गरेर बिताउने वा अरु व्यक्तिगत काम सकेर ५ बजे हाजिर गरी घर जाने अवस्थाको थियो । तीन चार वर्षदेखि जागिर खाइदिनको लागि मात्र आइरहेका कर्मचारीलाई कामतर्फ फर्काउन मलाई हम्मेहम्मे परेको थियो ।  संस्था बिग्रँदै गएको बेला राम्रो तलब दिनसक्ने अवस्था पनि त थिएन ।

२०७२ को महाभुकम्प आउनु एक महिना अघि तत्कालीन प्रमुख कार्यकारी अधिकृतले व्यक्तिगत तथा पारिवारिक कारण दिनुभएको राजीनामा संस्थाको संचालक समितिले भुकम्प आउनु २ दिन अघि स्वीकृत गरिसकेको थियो र उहाँको अन्तिम कार्यदिन वैशाख १६ गतेसम्म मात्र रहेको थियो र त्यस्तो विषम परिस्थितिमा निमित्त प्रमुख कार्यकारी अधिकृत भई संस्थाको नेतृत्व गर्ने जिम्मेवारी मैँले लिनुपर्‍यो । करिब २ महिना संस्थाले नयाँ प्रमुख कार्यकारी अधिकृतको खोजीमा समय व्यतित गरेतापनि महाभुकम्पको अवस्था, संस्थामा न्यूनतम चुक्ता पूँजी नपुगेको, पी.सी.ए. लागेको, घाटामा रहेको लगायत कारण कोहि पनि नेतृत्वको लागि तयार भएनन् र अन्तमा संचालक समितिबाट मलाई नै संस्थाको नेतृत्व गर्ने प्रस्ताव आयो, जसलाई मैँले सहर्ष स्वीकार गरें । विगत डेढ बर्षदेखि मैँले संस्थाको चुरो अवस्था बुझिसकेको थिए र यसलाई कसरी लैजाने भन्ने योजना पनि मसँग थियो । समूहमा बसेर सबैले राम्ररी काम गर्दा त्यसको रिजल्ट राम्रो आउँछ भन्ने मलाई लाग्थ्यो ।

संस्था निरन्तर घाटामा गईरहेकोमा कर्मचारी साथीहरुको हौसला बढाउन केही तलब बढाउनुपर्ने अवस्था थियो । मैँलै आफू प्रमुख कार्यकारी अधिकृत हुँदा म भन्दा अघिल्लो कार्यकारी प्रमुखले खाईपाई आएको तलब जुन मैँले सजिलै पाउन सक्दथे, त्यो तलबबाट मासिक ५० हजार कटौती गरेर साथीहरुको तलब बढाईदिएँ, मैँले गरेको त्यो निर्णय पनि संस्थालाई संस्थागत गर्नको लागि एक महत्वपूर्ण निर्णय थियो ।

मैँले फलको आशा गरेर भन्दा पनि कामलाई बढी ध्यान दिएर काम गर्ने वातावरण बनाएँ । कामलाई बोझको रुपमा नलिई मायाको रुपमा लिएर काम गर्ने वातावरण बनेपछि संस्थाको उन्नति हुँदै गयो । मेहनत अनुसारको रिजल्ट नआउँदा केही छट्पटी पनि हुने रहेछ । सोचेजस्तो नहुँदा त्यस्तो सबैलाई हुन्छ होला । तैपनि कामलाई बोझको रुपमा नलिएर मायाको रुपमा लिन मैँले छाडिनँ । जसरी आमाबुबाले आफ्ना सन्तानलाई माया गर्छन्, त्यसरी नै संस्थालाई माया गरेर काम गरेँ । यसमा साथीहरुको पनि साथ रह्यो ।

त्यस्तो अवस्थाबाट आजको उडानमा आउन कसरी सम्भव भयो ?

कर्मचारीको तलब बढाएर मात्र हुने अवस्था पनि थिएन र आफ्नो घटाएर कर्मचारीको तलब बढाउँदैमा पनि रिजल्ट आउँछ भन्ने थिएन । किनभने क्षमता नै नभएको मान्छेले तलब बढ्दैमा काम गर्छ भन्ने हुँदैन । उनीहरुको क्षमता विकास पनि त्यतिकै जरुरी थियो । सही समयमा सही निर्णय गर्न सके मात्र संस्था अघि जाने हो । निर्णय नै संस्था कसरी बढ्छ भन्ने कुराको जड हो । निर्णय लिने ठाउँमा पनि यो सही निर्णय हो र यो निर्णय गर्न जरुरी छ भन्ने मान्छे हुन आवश्यक छ । त्यसमा पनि चुनौती थिए । २५ वर्षसम्म यो संस्थाले खासै राम्रो काम गर्न सकेन । तर २० वर्ष अघि खुलेका फाइनान्स कम्पनीहरु वाणिज्य बैंक भइसकेका थिए । यो चाँहि समस्यामा अल्झिएको थियो । पछि पर्नुको अर्को कारण निर्णय गर्ने क्षमतामा संस्था कमजोर थियो ।

२०७२ सालमा संस्थापक शेयरधनीको समूहका तर्फबाट अध्यक्ष मुकुन्द प्रसाद दाहाल हुनुहुन्थ्यो । उहाँसँग भएका दृष्टिकोणहरुले पनि प्रोग्रेशिभलाई अघि बढाउन मद्दत गर्यो । यसलाई अघि बढाउने दृष्टिकोण नै उहाँले स्थापित गर्नुभएको हो भन्दा पनि फरक पर्दैन । संस्था भनेको सम्भावना हो, सम्भावनालाई मर्न दिनुहुँदैन भन्ने उहाँको धारणा थियो । उहाँले मर्ज भएर जानुभन्दा हस्तान्तरण गरौं भन्ने नीति लिनुभयो । त्यतिबेला मर्ज नै हुनपर्छ कि भनेर एक दुई वटा बैंक/वित्तीय संस्थासँग सम्झौता पनि गरिसकेका थियौं ।

त्यसलाई ब्रेक गरेर संस्थापकहरुले हस्तान्तरणको नीति लिनुभयो । उहाँहरुले ज्यापू समाजसँग आवद्ध भएका व्यक्तिहरुलाई शेयर हस्तान्तरण गर्नुभयो । त्यस पछि संस्थाको नेतृत्वको लागि संस्थापक समुहबाट किशोर कुमार महर्जन सर आउनुभयो । उहाँहरुले संस्था अघि बढाउनुपर्छ भन्ने नीति लिएपछि संस्था बदलिएको हो । यसमा राम्रो हुन दुवै पक्षको भूमिका रहेको छ ।

यसमा मैँले प्रमुख कार्यकारी अधिकृतको रुपमा आफ्नो भूमिकालाई पूर्ण रुपमा न्याय गरेको छु जस्तो लागेको छ । निर्णय राम्रो हुन थालेर पनि संस्था राम्रो हुँदै गएको हो भन्न सकिन्छ ।

प्रोग्रेसिभ फाइनान्सको लागानी, कर्जा र क्यापिटल गरी तथ्यांकमा कस्तो अवस्था छ ?

तथ्यांकमा हेर्नुपर्दा अहिले हाम्रो ८० करोड १ लाख बराबरको चुक्ता पूँजी छ । हामीसँग १६ वटा शाखाहरु रहेका छन् । ५ वटा एक्स्टेन्सन काउन्टरहरु छन् । हामीसँग अहिले निक्षेप ३ सय ३० करोड माथि पुगेको छ । त्यसैगरी हाम्रो ३ अर्ब जति लगानीमा रहेको कर्जा रहेको छ । त्यसलाई अहिले पछिल्लो समय “सस्टेनेबल ग्रोथ” हुनुपर्छ भनेर कर्पोरेटलाई भन्दा पनि रिटेल व्यवसायलाई केन्द्रित गर्न थालेका छौं । त्यो दीगो पनि हुने भएकाले हामी त्यतापट्टि छौं । यसमा समय पनि खर्च हुन्छ, मान्छे लगाउनुपर्छ र मेहनत पनि धेरै गर्नुपर्छ तर यो दिर्घकालीन रुपमा फाइदाजनक हुन्छ ।

कर्पोरेटमा चाँहि यसरी लगानी गरौं भन्दा मिलेको अवस्थामा लगानी गर्दा व्यापार ठूलो देखिन्छ । यसमा एकै संस्थालाई ठूलो कर्जा प्रवाह हुने हुँदा व्यवसाय विस्तार ठूलो भएको देखिन्छ । यही व्यापार रिटेलमा गर्दा धेरै समय खर्च हुन्छ र कर्मचारी पनि धेरै चाहिन्छ । शाखाहरु पनि धेरै खोल्नुपर्ने हुन्छ । यति हुँदाहुँदै पनि यस्तो व्यवसाय दिर्घकालीन हुने कारण हामी साना तथा मझौला व्यवसाय तथा रिटेल कर्जाहरुमा केन्द्रित भएका हौँ ।

कर्पोरेट कर्जाहरुमा लगानी गर्न सजिलो भए पनि त्यसका समस्या र चुनौती पनि उत्तिकै छ । यसमा जोखिम हुने सम्भावना पनि उत्तिकै हुने भएकाले हामी एस.एम.ई तथा रिटेल व्यापारमा हात हालिरहेका छौं । यो अलिक खर्चिलो भए पनि जोखिम कम छ । त्यसैकारण हामीले आफ्ना शाखाहरुलाई पनि ग्रामिण क्षेत्रमा केन्द्रित गरेका छौँ । थोरै पैसा बाँडेर पनि राम्रो फाइदा लिन सकिने भएकाले ग्रामिण क्षेत्र लाई प्राथमिकता दिएर काम गरेका हौं । अन्य भन्दा प्रदेश २ मा हामी केन्द्रित भएका छौँ । वित्तीय पहुँच कम भएका क्षेत्र जहिले पनि पछि पर्ने भएकाले त्यस्ता क्षेत्रको विकासमा संस्थाको तर्फबाट टेवा पुगोस भन्ने हेतुले पनि त्यता लागेका हौं ।

नयाँ योजनाहरु के के छन् तपाईंहरुको शाखा विस्तारका कुरा पनि होलान् ?

२६ वर्षदेखि यो संस्था पछि परिरहेको एउटा कारण भनेको व्यापार पहिचान गर्न नसकेर हो । प्रोग्रेशिभ एकै ठाउँमा २२ वर्ष बसिदियो । बाहिर जानै नचाहेर नै पछि परेको हो । यो भनेको व्यापार पहिचान नभएको अवस्था हो । शाखा नबढेसम्म व्यापार पनि बढ्दैन । त्यसकारण शाखा बढाउने कुरामा त हामी एकदमै अग्रगामी भएका छौँ । हामीले अहिले रणनीतिक योजना बनाएर काम गरिरहेकाछौं । त्यो योजनालाई कार्यान्वयन गर्ने तयारी पनि गरिसकेका छौं ।

शाखा विस्तारका कुरालाई कोरोनाका कारण परिरहेको असरलाई हामीले देखेपछि थोरै रोकिएका हौं । अब लकडाउन नहुने अवस्था र व्यापारहरु चलिरहने अवस्था भयो भने हामी शाखाहरु विस्तार गर्नेछौं । दुई वर्षभित्र ५० वटा शाखा बनाउने हाम्रो लक्ष्य रहेको छ ।

नियामक निकायबाट बेलाबेला विभिन्न नीति, निर्देशिकाहरु आउँछन्, यी विषयमा यहाँको धारणा के छ ? 

नियामक निकायले आफ्नो काम गरिरहेको हुन्छ ।  नियमन नहुँदा दुईवटा सम्भावना हुन्छन्, कि संस्था बिग्रन्छ, कि संस्थाले निकै राम्रो काम गर्छ । तर, संस्थाले राम्रो काम गर्ने अवस्था चाहिँ संस्था कसले चलाउँछ त्यसमा भर पर्छ । संस्था चलाउने मान्छेले सकारात्मक बाटोमा, अर्थतन्त्रलाई सहायता गर्ने, त्यसलाई माथि लैजाने हिसाबमा आफ्नो स्वार्थभन्दा पनि समाज र राष्ट्रको स्वार्थमा लागेको खण्डमा त्यो संस्था धेरै माथि पुग्छ । व्यक्तिगत स्वार्थमा लाग्यो भने त त्यो संस्था बिग्रन्छ । नकारात्मक प्रतिस्पर्धा रोक्न र व्यक्तिगत स्वार्थ रोक्नलाई नै नियामक निकाय चाहिने हो । यसका सकारात्मक कुरा त्यो हो ।

नकारात्मक पक्षचाँहि नियमनले सिर्जनशीलतालाई सीमित पारिदिन्छ । यद्यपी नियममा बाँधिएर व्यापार गर्ने सिर्जनशीलता बढाउने कुरा नराम्रो होइन । दायरामा बसेर नै उन्नति गर्दा एक किसिमको सन्तुष्टि मिल्छ । खुला पन्छीको रुपमा व्यापार गर्दा लड्ने डर पनि त छ ।  नियामक निकाय चाहिन्छ । तर,  नियामक निकाय ले जारी गरेका कुराहरु कतिपय अवस्थामा हाम्रो पक्षमा हुन्छ र कतिपय अवस्थामा हाम्रो पक्षमा नहुन पनि सक्छ । जस्तो सी.सी.डी. रेसियो कै कुरा गरौं, अन्तर्राष्ट्रिय स्तरमा यो सी.डी रेसियो कै रुपमा प्रयोग भइरहेकोमा नेपालमा मात्र फरक ढंगले प्रयोग गरिरहेको भन्ने अहिले बुझिएको छ । अन्तर्राष्ट्रिय प्रयोगलाई त्यसैअनुरुप जाऔं भन्ने हिसाबले त्यो आयो । तर, त्यसले पूँजी आधार राम्रो भएको संस्थाले पनि कर्जा लगानीका लागि पूँजी प्रयोग गर्नै नपाउने भयो ।

जस्तो हामीसँग भएको ८० करोडमा सी.सी.डी. हुँदा ६८ करोड सम्म ऋण लगानी गर्न सक्थ्यौं । अब सी.डी. ले गर्दा हामीले ६८ करोड कर्जा लागानी गर्न सक्दैनौं । यसको कारण पूँजीलाई कर्जामा लगानी गर्न सकिएन । हामीले ऋण लगानी गरिरहेको क्षेत्रका मान्छेहरुले ऋण पाउने अवस्था नियममा बस्नुपर्ने भएकोले त्यसले कम गरिदिने अवस्था भयो । हामीसँग भएको पैसा पनि बैंक वित्तीय संस्थामा लगेर “कल डिपोजिट” गर्नुभन्दा त त्यसको बढी ब्याज आउन सक्थ्यो । यसले पनि नाफालाई प्रभाव पार्ने भयो । त्यसकारण नियामकका कारणले हुने समस्याहरु पनि आउँछन् । नियमले सँधै फाइदा मात्रै दिँदैन । केही गुमाउने अवस्था पनि आउन सक्छ । त्यसैले नियमलाई बुझेर उचित क्षेत्रमा लगानी गर्नुपर्छ ।

राज्यका तर्फबाट फाइनान्स कम्पनीहरुलाई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ यहाँले ?

यसमा लामो कुरा गर्ने हो भने त ठूलो बहस नै हुन्छ । फाइनान्सलाई मात्र यसमा नहेरेर समग्र बैंकिङ क्षेत्रलाई नै हेर्नुपर्ने हुन्छ । छोटो शब्दमा भन्नुपर्दा राज्यले अहिले बैंकिङ क्षेत्रलाई पारदर्शी संस्थाका रुपमा हेरेको छ । किनकी यिनले कर छल्दैननन्, लुकाउँदैनन् र सबै कुरा माइन्यूट गरेर राखेको हुन्छ । त्यसैले यसको सबै कर राज्यले पाउँछ । बैंक तथा वित्तीय संस्थाको उन्नति, प्रगतिबाट राज्यले धेरै किसिमका व्यवस्थापन गर्न सक्छ, योजना बनाउन सक्छ, फाईदा लिन सक्छ । तर, राज्यले हामीलाई अहिले करको एउटा राम्रो स्रोतको रुपमा मात्र हेरेको बुझ्न सकिन्छ ।

राज्यको सहयोगी भूमिका कस्तो भइदियोस् जस्तो लाग्छ ?

जनता भएर हेर्दा राज्य चलाउने पनि व्यक्तिले वा राजनीतिज्ञ वा कर्मचारी साथीहरुले हो । उहाँहरुले पनि ग्राहकको रुपबाट हेर्दा केही न केही त सोच्नुहुन्छ होला । थोरै अधिकार भएका जनता या ग्राहकको अधिकारको लागि सचेत हुने काम राज्यको नै हो । उनीहरुको बैंकिङ सुरक्षाको जिम्मेवारी वहन गरिदिनु राज्यको दायित्वमै पर्न आउँछ ।

त्यसकारण उद्योगधन्दा नभई अर्थतन्त्र मौलाउँदैन । रोजगारी दिने पनि यसैले हो । राज्यको एउटा उद्देश्य देशमा रोजगारी बढाउनु पनि हुन्छ । उद्योग नभए रोजगारी नहुने, रोजगारी नभए अर्थतन्त्र नचल्ने र फेरि रोजगारी पाएकै मान्छेले उद्योगका सामानहरु खरिदबिक्री गर्ने हुँदा यिनीहरु एक आपसमा जोडिएका छन् । त्यसैले ग्राहकको सुरक्षामा राज्यले भूमिका निभाउनुपर्ने जरुरी हुन्छ ।

ग्राहकलाई बढी सुविधा दिन राष्ट्र बैंकले के गरिदिए तपाईंहरुलाई सजिलो हुन्छ ?

सेवा सुविधा त हामीले राम्रै दिएका छौं भन्ने मलाई लाग्छ । किनभने हाम्रो देश विकासोन्मुख मुलुक हो । यस्तो खालको मुलुकमा यतिको सुविधा अन्यत्र पाइँदैन पनि । हाम्रो मुलुकको अवस्था बाहिरको अनुदान र ऋण खोज्ने खालको नै छ । त्यसकारण हाम्रो बार्गेनिङको अवस्था पनि कमजोर छ । अरु देशसँग हामी बार्गेनिङ गर्न नसक्ने भएकोले पनि हामीलाई केही सीमित बनाएको छ । नीतिका कुराहरुमा पनि त्यसले असर पारिरहेको हुन्छ । त्यसकारण हामीलाई नचाहिएको नीति पनि बेलाबेला आइरहेको हामी देख्न सक्छौं । हामीलाई आफ्नो देश सुहाउँदो नीति बनाइदिए पुग्छ ।

फाइनान्स कम्पनी र सहकारीले पनि बैंक लेख्न पाउनुपर्छ भन्ने पनि रहेछ । यसले काम गर्न कत्तिको असर पारेको छ ?

यो एउटा बिडम्बनाको कुरा छ । सहरमा सहकारीलाई फाइनान्स भनिदिने चलन छ । फाइनान्सले बैंक लेख्न पाउनुपर्छ भनेर कुरा उठेको त्यहीँबाट हो । अर्को कुरा सहकारी र फाइनान्स भनेको एउटै हो भन्ने पनि छन् । त्यो अर्थतन्त्रको ज्ञानको कमी मात्र हो । त्यसो त गाउँतिर र तराईका जिल्लामा सहकारीलाई बैंक भन्ने चलन रहेछ अब प्रश्न गाँउ तिर सहकारीलाई बैंक भन्ने गरिएको छ भन्दैमा बैंकले बैंक नभई अर्को केहि लेख्न थाल्ने कि सचेतना अभिबृद्धि गर्ने ? हामीले वित्तीय साक्षरतालाई ब्यापक बनाई सर्वसाधारणलाई यसबारे बुझाउन थाल्यौं भने यो सोच हट्छ ।

फाइनान्स, बैंक र सहकारीकाबारे जनतालाई चिनाउन जरुरी छ । अब हामी बैंक लेख्न उत्साहित हुने कि बैंक तथा वित्तीय संस्थाका बारेमा बुझाउने कुरालाई प्रोत्साहन गर्ने भन्ने हो । मलाई नामले फरक पार्दैन जस्तो लाग्छ । विचारले फरक पार्ने कुरा हो ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?


ADVERTISEMENT

#
#


हामीले विजया दशमी भर्खरै मनाएका छौँ । तिहार र छठ लगायतका पर्व पनि नजिक आउँदैछन् । प्रोग्रेशिभ फाइनान्सको शेयरधनी, कर्मचारी साथीहरु र ग्राहकवर्ग तथा यस संस्थाका शुभचिन्तकहरुलाई शुभकामना दिन चाहन्छु । प्रोग्रेशिभ फाइनान्सले राम्रो गति लिइरहेको छ । अब हामी यसलाई राष्ट्रको अर्थतन्त्रको एउटा योगदान दिने संस्थाको रुपमा विकास गर्न गइरहेका छौं । यसमा शेयरधनी, ग्राहकवर्ग र कर्मचारी साथीहरु तथा शुभचिन्तकहरुको एकदमै ठूलो सहयोग चाहिएको छ । हामीलाई यहाँहरुको साथ र सहयोग सर्वदा रहिरहनेछ भन्ने कुरामा म विश्वस्त छु ।

प्रतिकृया

प्रतिकृया